लिम्बू समुदायको चिनारी धान नाच हराउँदै

लिम्बू समुदायको चिनारी धान नाच हराउँदै

पाँचथर । लिम्बू समुदायमा नाचिने मौलिक नाच हो धान नाच । सुख–दुःख, मेलपात, हाटबजार र अरु उत्सवहरुमा पालाम गाउँदै यो नाच नाच्ने गरिन्छ । तर, पछिल्लो समय लिम्बू समुदायको चिनारी धान नाच लोप हुँदै गएको छ । पूर्वका लिम्बू बाहुल्य जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा लगायतमा नाचिने धान नाच लोप हुन लागेको हो ।

पहिले जताततै नाचिने धान नाच अहिले ‘खला’बाट विस्थापित भएर भिडियो र स्टेजमा सीमित हुन पुगेको छ । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा धान नाच लोप भएर जान लागेको याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्रकुमार जबेगु बताउँछन्।  ‘खलामा नाचिने धान नाचमा जुन मौलिकता हुन्छ, भिडियो र स्टेजमा देखाइने धान नाचमा हुँदैन’, उनले भने ‘खलाबाट त धान नाच हराइ नै सक्यो ।’

धान नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाइ सामूहिक रुपमा नाचिन्छ । धान नाच्नुपूर्व केटा पक्ष र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ । साइनो सम्बन्ध नलागे मात्र धान नाचिन्छ । धान नाच्दा पालाम् गाउनु अनिवार्य छ । केटा पक्ष र केटी पक्षबीच सवाल–जवाफको रुपमा चरणबद्ध गरेर पालाम गाइन्छ । पालाममा सृष्टिको उत्पति, मानव सभ्यताको विकासक्रमदेखि मायापिरतीसम्मका कुरा हुन्छ ।

पालामी सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गइ विवाह समेत हुन्छ । धान नाच र पालम् दुवै खलाबाट लोप भएर जानु दुःखद भएको दर्जनौँ पालाम गीत लेखेका गीतकार सागर केरुङ बताउछन् । धान नाचको उत्पत्तिबारे लिम्बू जातिको धर्मशास्त्र मुन्धुममा रमाइलो कथा उल्लेख छ ।

कथाअनुसार फाङभङना नामको चराले धपाउन नपाइने सर्तमा घैया धानको बिउ ल्याएर दिएपछि मानिसहरु कृषि युगमा प्रवेश गरे । तर, मानिसले दुःख गरेर फलाएको अन्न हुलका हुल चराहरु आएर खाइदिन थाले । तब मानिसहरुले नयाँ जुक्ति निकाले । पाकेको धान खलामा जम्मा गरे । एकले अर्काको हात समाएर ‘छुई हा हा’ भन्दै धान कुल्चन थाले । चराहरु पर पर भागे ।

त्यही ‘यालाक्’ (धान कुल्चनु) बाट अपभ्रंश भइ ‘यालाङ्’ (धान नाच) हुन गएको धान नाचबारे जानकारहरु बताउँछन् । यो समाचार पत्रकार उपेन्द्र येक्तेनले उज्यालो अनलाइनमा लेखेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment