हुम्ला अन्तरजातीय विवाह प्रकरण : तीन दिनदेखि बेपत्ता चन्द्रे अझैँ परेनन् फेला



मुगु । अन्तरजातीय विवाह गरेकै कारण हुम्लाका एक युवामाथि केटी पक्षका आफन्तहरुले कुटपिट गरी बेपत्ता बनाएको तीन दिन बिते पनि अझैँ युवककाे अत्ताेपत्ताे लागेको छैन । तर, प्रहरी भने बेपत्ता युवककाे खाेजी गरिरहेकाे छ ।

सर्केगाड गाउँपालिका—१ को जैर गाउँका १९ वर्षिय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका–४, लिप्रकी १९ वर्षिया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरेका थिए । मंसिर २९ गते केटी पक्षका आफन्तहरु चन्द्रेको घरमै पुगेर केटाकेटी दुबैलाई माइती घरमा ल्याई कुटपिट गरेको र केटालाई ‘मल्लकी छोरी भगाउने’ भन्दै बेपत्ता बनाएको केटा पक्षका आफन्तले आरोप लगाउँदै आएका छन् ।

ठकुरी छोरीसँग कामीको छोरोले विवाह गरेको भन्दै आफ्नो छोरोलाई निर्घात कुटपिट गर्नुका साथै बेपत्ता पारेको चन्द्रेका बुवा धनजय कामीले भने । उनका अनुुसार केटी पक्षका झण्डै दुई दर्जनको हाराहारीमा मानिसहरु आएर घरमा तोडफोड समेत गरेका थिए भने । युवा युवतीलाई अपहरण शैलिमा लिएर गएका थिए ।

बेपत्ता भएको तीन दिन कटिसकेपनि चन्द्रेको अझैँ अत्तोपत्तो छैन । तर, जिल्ला प्रहरी कार्यालय हुम्लाले भने बेपत्ताबारे खोजी गरिरहेको जानकारी दिएको छ ।


यस्तो छ घटना

चन्द्रेले गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर सुन्तलीलाई भगाएर आफ्नो घरमा ल्याएका थिए । तर, २९ गते राति केटी पक्षबाट करिब २० जनाको समुह आएर छिमेकीका घरको ढोकामासमेत ताला लगाई केटा पक्षको घरको ढोका, झ्याल र छतको दाँतीहरु फाल्दै घरपरिवारलाई निर्घात रुपमा कुटपिट गरेको धनजय कामीले बताए ।

बेपत्ता चन्द्रेका बुवा धनजयले दुःख पोखे, ‘अन्तरजातीको युवती विवाह गरेकै कारण छोराले कुटाई खानुपर्यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरी लिएर आजसम्म भेटाउन सकिएको छैन । खै, छोरालाई कुन कर्णाली नदीमा फाल ेहोलान् अत्तोपत्तो छैन ।’

छोराले बुहारी भित्राएको समयदेखि नै युवती पक्षबाट बारम्बार धम्की सहदै आउनुपरेको पनि धनजयले सुनाएका छन् । धनजयका अनुसार केटी पक्षले हुम्लाबाट युवा र युवतीलाई लिएर मुगु पुगुन्जेल युवती सम्पर्कमा आएको तर, युवा भने बेपत्ता पारिएको थियो ।

त्यहाँ लगरे छोरो चन्द्रेमाथि निर्घात कुटपिट गरेर बेपत्ता पारिएको बुवा धनजयले प्रहरीसमक्ष उजुरी दिएका थिए । यस विषयमा हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले घटनाको जानकारी आउनेबित्तिकै जानकारी दिइने र बेपत्ताको खोजी कार्य तीब्र पारिएको बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment