इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको नवनिर्मित धावन मार्ग उद्घाटन गरिएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा समाजवादीका नेता झलनाथ खनाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले संयुक्त रुपमा विमानस्थल उद्घाटन गरेका हुन् ।
विमानस्थल धावनमार्ग उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री खनालले विमानस्थल निर्माणपछि राजधानीसँग इलामको यात्रा एक घण्टा तय भएको बताए । नेता खनालले ११ वर्ष अगाडि शिलान्यास भएको विमानस्थलले विगतको सरकारको कारण निर्माणले तीब्र गति नलिएपनि अब विमानस्थलमा चाहिने पूर्वाधार चाँडो अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले इलाम पर्यटन सम्भावनाले भरिपूर्ण जिल्ला रहेको बताउँदै जहाजको नियमित उडानका लागि कुनै पनि कुरामा कमी हुन नदिने जानकारी दिए ।
उद्घाटन कार्यक्रममा प्रदेश १ पर्यटन मन्त्री खिनु लङ्वा, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, नेपाल वायुसेवाका कार्यकारी अध्यक्ष युवराज अधिकारी, सांसद सुजाता परियार, सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले इलाममा चाँडै नै सेवा उपलब्ध गराउन चाहिने पूर्वाधार र उपकरणको व्यवस्था गरिने तत्परता व्यक्त गरे ।
गत माघ २६ गते परीक्षण उडान सम्पन्न भएपछि नेपाल वायुसेवाले आजको उडानमार्फत् धावनमार्गको उद्घाटन गरिएको जनाएको छ । नीजि कम्पनीलाई समेत नियमित जहाज सञ्चालन गर्न कुनै समस्या नहुने प्राधिकरणले जनाएको छ ।
२०५८ सालमा सर्भे सुरु भई सुकिलुम्बा विमानस्थलमा २०६८ चैत्रदेखि निर्माण शुरु भएको थियो । आठ करोड ४० लाख लागतमा गत वर्ष नै धावन मार्ग र पार्किङ स्थलमा कालोपत्र निर्माण भएको थियो ।
जम्मा ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र सम्पन्न भइसकेको छ । विमानस्थल निर्माणका लागि स्थानीयले तीन सय २८ रोपनी जमीन उपलव्ध गराएका थिए ।
0 comments:
Post a Comment