इलाम, १ फाल्गुनः भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनाले आइतबार (आज) क्षतिपूर्तिवापतको रकम ५ लाख भारतिय रुपयाँ वराबरको चेक पाएका छन् । काँकरभिट्टाको भञ्सार कार्यालयको सभाहलमा भारत कोलकता माहावाणिज्य दुतवासका महावाणिज्य दुत इश्वर राज पौडेलले इलाम प्रदेशसभा २(ख)का संसद् धिरेन्द्र शर्मा रमणको उपस्थितिमा पिडित दुर्गाप्रसादलाई चेक हस्तान्तरण गरेका थिए ।
कोलकाता हाइकोर्टले ६ साताभित्र दुर्गाप्रसादलाई क्षतिपूूर्ति दिन दुई महिनाअघि पश्चिम बंगाल सरकारका नाममा आदेश जारी गरेको थियो ।
चेक हस्तान्तरण गदै वाणिज्य दुत पौडेलले यो क्षतिपूर्तिको सुरुवात भएको र पिडितलाई थप क्षतिपूर्ति दिनकोलागि आफुले भारत सरकारसंग कुरा गर्ने र नेपाल सरकारले पनि यस विषयमा पहल गर्नुपर्ने वताएका थिए । कार्यक्रममा संसद शर्माले दुर्गाप्रसादलाई थप क्षतिपूर्ति दिलाउन आफु लागि पर्र्ने पनि वताएका थिए ।
दुर्गाप्रसादको मानसिक अवस्था कोलकाताको दमदम कारागारबाट घर ल्याउँदाको भन्दा अझ बिग्रिएको अनुभव परिवारजनले गरेका छन । ‘मलाई भतिजो गोपाल भनेर ठुलोबुबा (दुर्गाप्रसाद)ले चिन्नुहुन्थ्यो,’ गोपालले भने, ‘अहिले त मलाई नै नचिन्ने भइसक्नुभएको छ ।’ घरमा रहँदा पनि दुर्गाप्रसाद परिवारमा कसैलाई खबरै नगरी गाउँतिर डुल्न जाने, टाढासम्म पुगेर हराउने गर्न थालेका थिए । उनलाई इलामस्थित मानवअघिकार मञ्चसहितको पहलमा विराटनगरमा लगेर उपचार प्रयास भइरहेको छ ।
पश्चिम बंगालकी एक महिलाको हत्या आरोपमा दुर्गाप्रसादलाई पक्राउ गरी पश्चिम बंगालका विभिन्न जेलमा राखिएको थियो । जेल परेको ४० वर्षसम्म उनको मुद्दामा कुनै सुनुवाइ नभएको थाहा पाएपछि २०७७ चैत ७ मा कोलकाता हाइकोर्टले तिम्सिनालाई छाड्न आदेश दिएको थियो ।
कोलकातास्थित दमदम कारागारमा रहेका दुर्गाप्रसाद त्यहाँबाट छुटेपछि भोलिपल्ट आफ्नो घर इलामको माई नगरपालिका–१० लुम्बाक फर्किएका थिए । हाइकोर्टले महावाणिज्य दूतावासमार्फत ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन पनि आदेश दिएको थियो। घर फर्केपछि मानसिक स्वास्थ्यमा थप समस्या देखियो ।
लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारका लागि विराटनगर लगेर फर्काइएको थियो । १७ दिन उपचार गर्दा पनि पूर्ण रूपमा निको नभएकाले मानवसेवा आश्रममै लगिएको गोपालले बताए । उनको उपचारका लागि प्रदेश १ सरकार र माई नगरपालिकाले समेत आर्थिक सहयोग गरेका छन् ।
२०३७ साल माघमा २० वर्षको उमेरका दुर्गाप्रसाद घर छाडेर बेपत्ता भएका थिए । त्यतिबेला उनको घर एकतप्पा गाउँ पञ्चायत–८ खँगुवा (हाल फाकफोकथुम गाउँपालिका) मा थियो । तर, पछि उनको परिवार लुम्बाकमा बसाइँ सरेको थियो । घर छाडेकै वर्ष उनलाई हत्या आरोप लागेको थियो । २०७७ फागुनमा उनी दमदम कारागारमा छन् भन्ने पत्तो लागेपछि उद्धार गरिएको थियो ।
0 comments:
Post a Comment