रौतहट स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएपछि आन्दोलन, आन्दोलनले उग्र रुप लिएपछि १२ राउण्ड अश्रु ग्यास प्रहार


रौतहट । रौतहटको गुजरा नगरपालिका–३ जंगलसहियामा भारतीय नम्बर प्लेटको स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएपछि आइतबार सो क्षेत्र दिनभर तनावग्रस्त बन्यो ।
शनिबार दिउँसो १ बजेतिर बाख्रा चराउन जंगलतर्फ जाँदै गरेकी ३५ वर्षीया संगिता चौधरीलाई जंगलसहियाको जंगलमा ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको थियो । बीआर ०५ पीए ५००० नम्बरको तीब्र गतिमा आएको स्कोरपियोले सुरुमा बाख्राहरुलाई ठक्कर दिएर मृतक चौधरीलाई ठक्कर दिएको स्थानीयको भनाइ छ ।

स्कोरपियोको ठक्करबाट ८ वटा बाख्राको पनि ज्यान गएको छ । ठक्कर दिने स्कोरपियो केही पर गएर खाडलमा दुर्घटना भएको थियो । सो स्कोरपियोलाई स्थानीयले सोही स्थानमा जलाइदिएका छन् ।
स्कोरपियोको ठक्करबाट मृत्यु भएकी चौधरीको उचित क्षतिपूर्ति, उनको बालबच्चाको शिक्षादिक्षाको व्यवस्था, सवारी धनी र चालकलाई कारवाहीको माग गर्दै आइतबार बिहानदेखि स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।
उनीहरुले दोषीलाई कारवाही गर्न र मृतक परिवारलाई क्षतिपूर्ति दिलाउन स्थानीय प्रशासनले चासो नदेखाएको भन्दै सडकमा टायर बालेर उग्र प्रदर्शन गरेका थिए । स्थानीय प्रदर्शनकारीले सो स्थानमा रहेको प्रहरी चौकी हरिनगर पोखरभिन्डामा ढुंगा, वियरका बोतल, इट्टाले प्रहार गरेका थिए ।


प्रदर्शनकारीको आक्रमणबाट सो प्रहरी चौकीको सबै सीसाहरु फुटेको छ भने प्रहरीको गाडीमा पनि क्षति पुगेको छ । भीड नियन्त्रण गर्न प्रहरीले १२ राउण्ड अश्रु ग्यास र ६ राउण्ड हवार फायर गरेको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीको प्रहारबाट चार जना प्रहरी सामान्य घाइते भएका छन् । प्रहरीले यमुनामाई गाउँपालिका–३ बस्ने सवारी चाल नजिर अन्सारी तथा सोही स्कोरपियोमा सवार यमुनामाई–२ बस्ने शेष बैतुल्लाहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
प्रहरी प्रशासनको गैर जिम्मेवार रवैयाले आफूहरु आन्दोलनमा उत्रनु परेको स्थानीयको भनाइ छ । आन्दोलनले उग्र रुप लिएपछि जिल्लाका विभिन्न स्थान र अरु जिल्लाबाट प्रहरीको थप मद्दत सो स्थानमा ल्याइएको थियो ।

थप अप्रिय घटना नहोस् भनेर अहिले पनि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरे सहितको टोलीले स्थानिय अगुवाहरुसँग वार्ता गरेपछि आन्दोलन साम्य भएको थियो ।
वार्तामा पीडकलाई कडा कानूनी कारवाहीको दायरामा ल्याउने, मृतकको उचित क्षतिपूर्ति र उनको सन्तानको पालनपोषण, शिक्षादिक्षामा सबैले आफ्नो स्थानबाट पहल गर्ने भद्र सहमति भएको स्थानीय ओम किशोर चौधरीको भनाइ छ ।
भद्र सहमतिपछि स्थानीयले शव उठाउन दिएका थिए । शवलाई मुचुल्का पश्चात चन्द्रनिगाहपुर अस्पतालमा पोष्टमार्टमको लागि लगिाएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment