काठमाडौं विश्वकाे छैटौं प्रदूषित सहर, पहिलो नयाँदिल्ली


काठमाडौं १० चैत्र । काठमाडौंको वायु प्रदूषणस्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डभन्दा १० गुणा बढी देखिएको छ । डब्लुएचओले पिएम-२.५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ । तर, काठमाडौंमा यो मात्रा ५०.९ पुगेको पाइएको हो ।
युरोपेली संस्था आइक्यू एयरले प्रकाशित गरेको ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन, २०२१’ अनुसार काठमाडौं सन् २०२१ मा विश्वको छैटौं प्रदूषित राजधानी बनेको छ । पहिलोमा भारतको राजधानी नयाँदिल्ली छ ।
यस वर्ष नेपालको पिएम-२.५ को स्तर वार्षिक ४६ पुगेकोे छ । यो हिसाबले नेपाल प्रदूषित मुलुकको १० औं स्थानमा पर्छ । पहिलोमा बंगलादेश छ । दक्षिण एसियामा नेपाल छैटौं प्रदूषित मुलुकमा परेको छ । सबैभन्दा बढी प्रदूषित बंगलादेश रहेकामा त्यसपछि क्रमशः पाकिस्तान, ताजिकिस्तान, भारत, किर्गिस्तान छन् । डब्लुएचओले गत असोजमा मात्र वायु प्रदूषणको मापदण्ड पुनरावलोकन गर्दै पिएम-२.५ को मानक वार्षिक १० बाट घटाएर ५ कायम गरेको थियो । तर, नेपालको वार्षिक औसत मापदण्ड भने छैन ।
वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ ले पिएम-२.५ को मात्रा २४ घण्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । हिउँदमा काठमाडौं र तराईका शहरमा यो मात्रा तीन सयदेखि चार सयसम्म पनि पुग्ने गरेको छ । डब्लुएचओले यो मापदण्ड पुनरावलोकन गरेर २५ प्रतिशतले घटाई १५ माइक्रोग्राम प्रतिघनमिटर कायम गरिसकेको छ । तर, नेपालले भने मापदण्ड पुनरावलोकन गर्न त परै जाओस्, आफैले बनाएको मापदण्डभित्र पनि प्रदूषणको मात्रा कायम गर्न सकेको छैन । अर्थात् नेपाल अति प्रदूषित मुलुकमा पर्छ ।
प्रदूषणबाट सन् २०२१ मा मध्य र दक्षिण एसिया सबैभन्दा बढी प्रताडित भएको आइक्यू एयरले उल्लेख गरेको छ । उसले भनेको छ, ‘सन् २०२१ मा खराब हावाबाट सिकार बनेका ५० मध्ये ४६ घरपरिवार मध्य र दक्षिण एसियाका छन् । सबैभन्दा प्रदूषित शहर पनि यही क्षेत्रका छन् ।’
ग्रामीण क्षेत्रमा खाना पकाउन प्रयोग हुने दाउरालगायत जैविक इन्धन, धुलोधुवाँ, निर्माण, सवारीसाधन र कृषिजन्यु वस्तु (परालसहित) जलाउँदा दक्षिण एसियामा प्रदूषण बढेको औंल्याइएको छ । आइक्यू एयरले एक सय १७ देशका ६ हजार चार सय ७५ शहरको पिएम-२.५ को मात्राको विश्लेषण गरेको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment