बिर्तामोड नगर प्रमुख पदमा एमालेलाई उम्मेदवार छान्न सकस


बिर्तामोड,  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बिर्तामोड नगर प्रमुख पदमा नेकपा एमालेलाई उम्मेदवार छान्न सकस देखिएको छ । जिल्लाका १५वटै स्थानीय तहमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो । उम्मेदवारको टुंगो लगाउन पार्टीले निर्वाचन प्रक्रिया अघि बढाएको नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताए । यता अञ्चलकै केन्द्र मानिएको बिर्तामोड नगरपालिकामा समेत उम्मेदवार छनौटमा सकस नै देखिएको हो ।

केही वडा बाहेक प्रमुख र उपप्रमुख पदमा सहमति नजुटेपछि पार्टीले उम्मेदवार छनौटका लागि निर्वाचन नै गर्नु परेको छ । प्रमुख र उपप्रमुख पदका लागि पाँच÷पाँच जनाले आकांक्षा देखाएपछि एमालेलाई उम्मेदवार छान्न सकस देखिएको हो । नगर प्रमुख पदका लागि वहालवाला प्रमुख ध्रुवकुमार शिवाकोटीसहित एकराज कार्की, पवित्रा महतारा प्रसाईं, उमानाथ ओली र नगेन्द्र संग्रौलाले आकांक्षा देखाएसँगै चुनावी प्रक्रियाबाट उम्मेदवारको टुंगो लगाउन पार्टीले निर्वाचन गरेको हो । त्यस्तै उपप्रमुख पदमा प्रवीण पोखरेल, बद्री भट्टराई, देवराज कार्की, गणेश पोखरेल र भीमा शिवाकोटीले इच्छा जाहेर गरेँसगै उपमेयर छान्न समेत सकस देखिएको हो । नगर प्रमुख पदका लागि आकांक्षा राख्ने कार्की प्रदेश सभा सदस्य हुन् भने प्रसाईं नगर उपप्रमुखमा वहाल छिन् ।

ओली पार्टीको बिर्तामोड नगरका निवर्तमान अध्यक्ष हुन् भने संग्रौला बिर्तामोड वडा नं. २का वहाल वडाध्यक्ष हुन् । निर्वाचनबाट छनौट भएका नगर प्रमुख पदका उम्मेदवारको हकमा महताराको उपमेयरमा प्रवीण पोखरेल हुनेछन् भने अन्यको हकमा भीमा शिवाकोटी उपमेयरमा रहनेछिन् ।

यसैबीच नेकपा एमालेले १० वटै वडाका वडाध्यक्षको नाम सिफारिस गरेको छ । जसमध्ये ४ र ६मा सहमति जुट्न सकेको छैन भने अन्य वडामा मतभारका आधारमा वडाध्यक्ष सिफारिस गरिएको छ । वडा नं. १मा अग्नि पाण्डे, २मा किशोर पौडेल, ३मा मदन बुढाथोकी सिफारिस भएका छन् । बिर्तामोड–३का लागि वडा सदस्यमा हरि बाँस्कोटा, भाग्यमान लिम्बू, धनसरी

राजवंशी र लक्ष्मी रोक्का सिफारिस भएका छन् । यता वडा नं. ४मा छविलाल विक र राहुल शर्माको मतभार बराबर आएसँगै पार्टीले २९ गते वडाध्यक्षको टुंगो लगाउने बताइएको छ । वडा नं. ५मा राजेन्द्र लिङ्देन सिफारिस भएका छन् । उनी वहालवाला वडाध्यक्ष हुन् । मतभारकै आधारमा वडाध्यक्ष सिफारिस गरिएको बताइएको छ । वडा नं. ५, १ र ३मा पनि

वडा सदस्यको टुंगो लाग्न सकेको छैन । त्यस्तै वडा नं. ६मा बुद्धिराम भट्टराई, उमेश खतिवडा, अनिता कन्दङ्वा र देवी नेपालको नाम सिफारिस भएको छ । यो वडामा समेत वडा सदस्यको टुंगो लाग्न सकेको छैन । ७ नम्बर वडामा अविरकृष्ण खरेल, ८मा विष्णु भट्टराई, ९मा हरि चम्लागाँई र १०मा रिमाङ्ध्वज लोक्ताम सिफारिस भएका छन् ।

वडा नं. १०मा गीता घिमिरे, प्रेम पौडेल वडा सदस्यमा सिफारिस भएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment