एमाले अध्यक्ष ओलीले अन्य पार्टीलाई ‘ढक’ भनेकोप्रति नेता खनालको आपत्ति


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन् । ओलीले केही दिन अघि आफ्नो पार्टीलाई क्वीन्टल र अन्य पार्टीलाई ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी दशांै टनको बनिरहेको दाबी समेत गरेका छन् ।

शनिबार पार्टीद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी दशौं टनको बन्दै गएको कुरा हेर्न जिल्लाजिल्लामा जान पनि ओलीलाई चुनौती दिए । सम्मानित नेता खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे ।

उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । सम्मानित नेता खनालले समाजवादको आधार निर्माण गर्न पनि आफ्नो पार्टीका प्रतिनिधिहरुले आगामी स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा जित्नुपर्ने दाबी समेत गरे । उनले भने, ‘हाम्रा सामू अव निर्वाचनको घोषणा भएको छ । हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौं । केपी ओलीले के भनेछन् भने उनको पार्टीलाई चाँही क्वीन्टल हामीहरुलाई चाँही ढक । म यही मञ्चबाट भन्न चाहन्छु–केपी ओलीजी तपाईको पार्टी ढक हो कि तपाईको पार्टी क्वीन्टल हो कि अथवा एकीकृत समाजवादी चाँहि टन हो, यहाँ आएर हेर्नुस् । प्रत्येक जिल्लामा गएर हेर्नुस् ।’

उनले थप भने, ‘अब नेकपा एकीकृत समाजवादी टन मात्रै होइन, दशौं टनको पार्टी बन्दैछ । यो कुरा केपी ओलीले बुझ्न जरुरी छ, कमरेडहरु । हामीहरु जसरी यो निर्वाचनमा जाँदैछौं । यसका लागि स्थानीय तह निर्वाचनको घोषणा पत्र तुरुन्त ल्याउँदैछौं । त्यो घोषणा पत्रलाई हामीले घरघरमा, टोलटोलमा लिएर जान सक्नुपर्दछ । तपाई हामी सबैको अहिलेको कर्तव्य यो हो ।’

निर्वाचन आयोगले भर्खरै जारी गरेको आचारसंहिताको कार्यान्वयन पूर्ण रुपमा गर्न आग्रह गर्दै उनले भनेका छन्, ‘यो आचार संहिता देखाउन लागि होइन । यसको कार्यान्वयन पूर्ण रुपमा गर्न म निर्वाचन आयोगलाई आग्रह गर्दछु । यदि कसैले उलंघन गर्छ भने जनताको मतलाई पैसामा किन्न खोज्छ भने त्यसलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्ने हुन्छ ।’

‘अब हामीले निर्वाचनको व्यापक तयारी गर्नुपर्ने आवश्यक्ता छ । अब हामीले उम्मेदवार चयन गर्नुपर्नेछ । अर्को पाँच दलीय गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नु छ’, उनले भने, ‘चुनावी तालमेल गर्दै अगाडि पनि बढनुपर्नेछ । समाजवादको आधार तयार पार्नका लागि पनि स्थानीय तह निर्वाचनमा धेरै प्रतिनिधिहरु आफ्नो पार्टीको बनाउनुपर्ने हुन्छ । त्यसका लागि लागौं ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment