धिरेन चेम्जाेङ : रेडगार्डदेखि गणतान्त्रिक आन्दोलनको नेतृत्वसम्म

  • सुजन तिमल्सिना 

इलाम । धिरेन चेम्जाेङकाे नाम लिने बित्तिकै इलामको राजनीति, सामाजिक, संचार, खेलकुद क्षेत्र र व्यवस्था परिवर्तनको आन्दोलनसँग जोडिन्छ । २०२० साल कात्तिक १२ मा जन्मिएका चेम्जाेङ इलामको बामपन्थि आन्दोलनसँग जोडिएको छ ।
महेन्द्र रत्न बहुमुखि क्याम्पस स्थापना भएसँगै इलाम नगरपालिका क्षेत्र क्याम्पस पढ्न आउने विद्यार्थीको बाक्लो उपस्थिति हुन्थ्यो । त्यहि क्याम्पसदेखि केहि मुनिको घरमा झापाबाट इलाम क्याम्पस अध्ययन गर्न आउने विद्यार्थीको डेरा पनि थियो । झापा आन्दोलनमा प्रभावित भएका विद्यार्थीको बास र त्यही घरमा हुर्किदैँ गरेको गुच्चा खेल्दै घुम्ने केटो व्यवस्था परिवर्तनको आन्दोलनमा लाग्यो ।
राजनीतिक यात्रा
इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीको बाक्लो उपस्थिति हुन्थ्यो । झापाबाट इलाम अध्ययन गर्न आउने विद्यार्थीसँग आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओको रातो किताब र लेख रचना चेम्जाेङले अध्ययन गर्न थाले । शिक्षकहरुको तालिम पनि इलाममा हुने गथ्र्यो । चेम्जाेङको पुरानो घरमा मुनि दोकान पनि थियो ।
धिरेन चेम्जाेङकाे घरमा इलाममा तालिम लिन आउने शिक्षकको पनि बास हुन्थ्यो । झापा आन्दोलनबाट प्रभावित भएर बिद्रोहको मानसिकता लिएर इलाम अध्ययन गर्न आउने विद्यार्थी र तालिममा आएका शिक्षकले विद्यालय जाँदै गरेको बालक चेम्जोङ बर्जुवा शिक्षा पढ्नु हुँदैन भन्दै माओको रातो किताब थमाए । उनी भन्छन्–‘आदर्श माध्यमिक विद्यालय अध्ययन गर्दै आएको मलाई माओको रातो किताब अध्ययन गर्न दिएसँगै बामपन्थि आन्दोलनसँग प्रभावित भएँ ।’ झापाको गौरादहबाट इलाम तालिम लिन आएका शिक्षकहरुले बुर्जुवा शिक्षा नपढ्न भन्दै हातमा थमाएको रातो किताबतिर ध्यान गयो ।
पञ्चायती शासनको बेला प्रशासनको दमन पनि निक्कै थियो । उनी भन्छन्–‘माओको रातो किताबको अध्ययनसँगै म जानी नजानी बामपन्थि आन्दोलनमा होमिए ।’ ‘रेडगार्ड (बालसैनिक) को रुपमा म बामपन्थि आन्दोलनको पूर्णकालिन कार्यकर्ता भइसकेको रहेछु–चेम्जाेङ भन्छन्–‘कक्षा ८ मा अध्ययन गर्दै आएको मेरो काम सरकारी जासुसीहरु आए नआएको जानकारी दिने हुन्थ्यो ।’
जिल्लाको सदरमुकाममा घर, त्यसमा पनि बामपन्थि आन्दोलनको कार्यकर्ता भएर जासुसीको काम गर्न थालेको सहज प्रशासनलाई अनुमान लगाउन गाह्रो भएन ।´ उनी भन्छन्–‘घरमा पार्टीका नेता\कार्यकर्ता आउने क्रम बढ्न थाल्यो, मेरो काम गुच्चा खेल्ने, गोल खेल्ने निउँ बनाएर पुलिस र सरकारी जासुसी आए नआएको सुचना संकलनको काम हुन्थ्यो ।’ इलाममा बामपन्थि आन्दोलनप्रति जन उभार नै थियो रत्नकुमार बान्तवाको नेतृत्वमा गाउँ गाउँमा सेल कमिटी गठन तिब्र रुपमा थियो ।’
प्रशासनको धरपकड
बामपन्थि आन्दोलनमा सहभागि भएको भन्दै कक्षा ९ मा अध्ययन गर्दा देखिनै प्रशासनको धरपकड शुरु भयो । कक्षा आठ अध्ययनबाट शुरु भएको बामपन्थि आन्दोलनप्रतिको आस्था माथि धरपकड शुरु भएपछि झनै बिद्रोहि बनियो । उनी भन्छन्–‘कक्षा ८ र ९ मा अध्ययन गर्दादेखि नै प्रशासनले अराष्ट्रिय तत्व भन्दै पक्राउ गर्ने अनी केटाकेटी भन्दै छोड्ने क्रम चलिरह्यो ।’ मैले माध्यमिक तह अध्ययन गर्दा नै बामपन्थि आन्दोलनका अगुवा रत्न कुमार बान्तवाको हत्या भयो । २०३५ साल चैत्र २७ गते रत्नकुमारको हत्या भएपछि प्रशासनको दमन झनै बढ्यो । उस बेला आदर्श माबिको विद्यार्थी कमिटीको सदस्य थिएँ । ‘रत्नकुमार हत्या भएपछि प्रहरीको दमन झनै बढ्यो, दमनका बिच नै मैले २०३६ मा एसएलसी परिक्षा दिएँ–चेम्जाेङ भन्छन्–‘ रत्नकुमार हत्या भएपछि पार्टी कमिटी नै तितरवितर भयो ।’
प्रशासनको दमन बढेपछि मैलेपनि एसएलसीको परिक्षा दिएसँगै पूर्णरुपमा भुमिगत भएँ । ‘रत्नकुमारको हत्यापछि प्रशासनको मनोबल पनि बढ्यो होला त्यसपछि त प्रशासनको दमन यति बढ्यो की पार्टीको पुरै कमिटी क्षतविक्षत भयो–उनी भन्छन्–‘पार्टीको पुरै संगठन क्षति विक्षत हुँदा हामी विद्यार्थीलाई आन्दोलन अघि बढाउने चुनौती थप्यो ।’
भुमिगतमा बुबा भेट्दा
भुमिगत भएपछि घर परिवारसँग भेट्ने कुरै भएन । त्यसमा पनि प्रशासनको निगरानीमा सहजै मेरो घर पर्यो । प्रकाउ पुर्जी घरमा टाँसेकै थियो । सायद २०३९ सालको कुरा होला । धेरै विद्यार्थी नेताहरु जेलमा र प्रहरीको हिरासतमा थिए । तेस्रो तहका विद्यार्थी नेतृत्वले बामपन्थि आन्दोलनमा जागरण ल्याउनु पर्ने कठिन जिम्मेवारी हामीमा थियो ।
गाउँमा सेल्टर बस्ने जनताका घरमा खान त पाइन्थ्यो, लुगा माग्न सक्ने अवस्था थिएन, जनताले दिन सक्ने कुरै भएन । त्यतिकैमा मेरो लगाएको पाइन्ट फाट्यो । उपाय केहि भएन । फाटेको लगाएर हिड्ने अवस्था पनि भएन । गाउँमा फाटेको पाइन्ट सिलाउने ठाउँ भेट्न कठिन । हिड्डाहिड्ँदै बिग्रिएको छाता बाटामा भेटियो र त्यहि छाताको कपडा च्यातेर फाटेको पाइण्ट टाल्ने काम गरियो ।
फाटेको पाइण्ट टालेपछि बुबालाई चिठि लेखियो । पाइण्ट किन्ने २ सय रुपैयाँ पठाइदिनु । बुबाले पैसा पनि दिने बचन दिएर र मुख हेर्न मन छ भन्ने चिठि पठाउनु भयो । र चिठि पाएको १५ दिन पछि भेट्ने योजना बनाइयो । त्यो पनि गाउँ फर्क अभियानका रामप्रसाद पोखरेलको घरमा । रामप्रसाद पोखरेलको घरमा अखिलमा आवद्ध गोविन्द बुडाथोकी लगायतका साथिहरु डेरा लिएर बस्ने गरेका थिए ।
सोहि घरमा भेट्ने भनेर चिठि पठाइयो अनि मासु खान मन लागेकाले सुगुरको मासु ल्याएर पकाउनु भनियो । रामप्रसाद पोखरेल गाउँ फर्क अभियानका सचिव थिए । पोखरेल अञ्चल्याधिश हुने योजनामा थिए । साथिहरु सहित पोखरेलको घरमा त आइयो, आफुलाई बुबा भेट्नुपर्ने र ज्यान पनि बचाउनुपर्ने । साथिहरु गोविन्द बुडाथोकीको कोठामा लागे म भने रामप्रसाद पोखरेल बस्ने कोठामै पुँगे ।
ढोका ढक ढक गरे, पोखरेलले लालटिनको बत्ती बालेर हेर अनि चिन्ने बित्तिकै ढोका बन्द गर्न लागे । मैले जबरजस्ति ढोका खोलेर भित्र छिरे । पोखरेललाई मैले भने बुबालाई ल्याउन सहयोग गर्नुपर्यो । नभन्दै लालटिन बालेर उनी मेरो बुबा लिन गए र ल्याए । बुबासँग भेट भयो । तर बुबा एउटा खाटमा म अर्को खाटमा । आमनेसामने बस्यौँ । बुबाको अनुहारमा छोरो मर्छ भन्ने चिन्ता प्रष्ट देखिन्थ्यो । राज्यको चर्को दमन, तँ–लाई पुलिसले कहाँ मार्ने हो टुङ्गो छैन, बरु म आफै मार्छु र जेल जान्छु भनेर बुबा आक्रोशित हुनुभयो ।
पोखरेलको घरको कोठा तिर लठ्ठी खोज्न शुरु भयो, बुबाको । बाबु छोराको भेट भावनात्मक हुँदै आक्रोशित भयो । आक्रोशित बाबुलाई अनेक भनेर सम्झायौँ र २ सय लिएर हामी हिँड्यौँ ।
प्रहरी हिरासतका कष्टपूर्ण दिन
२०३६ सालको एसएलसी दिएपछि पूर्णकालिन कार्यकर्ता भएका थिए चेम्जाेङ। भुमिगत भएपछि प्रशासनको दैनिक जस्तो घरमा खानतलासी हुन थाल्यो । प्रशासनले घरमा ७० दिनको पूर्जी टाँसेको मिति सकिने बित्तिकै अर्को ७० दिनको पूर्जी घरमा पुनः टाँसिने क्रम जारी रह्रयो । उनी भन्छन्–‘घरमा आएर बसेको भनि दैनिक बुइकलसम्म प्रहरीको खानतलासी हुन्थ्यो । त्यसबेला प्रहरी आएर घर खानतलासी गरेपछि मात्रै बुबा आमा सुत्ने गरेको उनी सुनाउँछन् । उनी भन्छन्–‘प्रहरी कतिखेर आउँछ भने बुबा टुकी बालेर बस्नुपर्ने बाध्यताले थियो ।’ त्यतिकैमा म प्रहरीको पक्राउ परे । उनी भन्छन्–‘म ४ पटकसम्म पक्राउँ पर्दै छुट्ने क्रम चल्यो ।’ चौथो पटक पक्राउ परेपछि हामीले प्रहरी हिरासतको बसाइ कष्टपूर्ण भयो । त्यो निकै पिडादायिक भयो ।
छवि खनाल, हिरा थापा र म एकै पटक पक्राउ पर्यौ । त्यतिबेला इलामको प्रमुख जिल्ला अधिकारी घननाथ ओझा थिए । हामी प्रहरी हिरासतको सानो कोठामा थियौँ । त्यसबेला प्रहरी हिरासतको सुरक्षा असइको नेतृत्वमा हुन्थ्यो । हिरासत घरको सुरक्षा जिम्बा असइ श्री प्रसाद लिम्बुको थियो । सानो ठाउँमा कोचाकोच भएर बसको थियौँ, त्यतिकैमा छवि खनाललाई पाखाला चल्यो । हिरासतमा बस्नेलाई बिहान र बेलुकी मात्रै शौचालय लाने लैजाने हुन्थ्यो ।
बेलुकी शौचालय गएर हिरासतमा बसेका थियौँ, छवि खनाललाई पखाला चल्यो,उनी भन्छन्–‘ गार्डलाई चर्पी लैजानु भनेर भन्यौँ, हुदैन भन्थ्यो, धेरै कराएपछि उल्टै गार्डले रडको बिनेड बनाएर रोप्न थाल्यो ।’ सायद हिरासतको गार्ड रक्सिले मातेको थियो होला ।’ रडको बिनेटले कोठाभित्र रोप्न थालेपछि हामी ज्यान मर्यो भनेर करायौँ उनी भन्छन्–‘त्यपछि हिरासत सुरक्षाका असइ श्रीप्रसाद सुब्बा आएर गार्डलाई हप्काए अनी शौचालय पु¥याए ।’
माफि नमाग्दा
२०४० साल तिर हुनुपर्छ हामी हिरासतमा मै थियौँ । म चोथौ पटक प्रहरीको पक्राउमा परेको थिँए । हामीलाई हिरासतका सुरक्षा प्रमुख असइ श्रीप्रसाद सुब्बाले धेरै पटक माफि गर छुट, सामान्य जीवनयापन गर्नुपर्छ भनिरहे । तर हामी मानेनौँ । माफि माग्छन् की भनेर प्रमुख जिल्ला अधिकारी घननाथ ओझाले २२ दिनसम्म हिरासतमा राख्न आदेश दिएका रैछन् । उनी भन्छन्– ‘हिरासतको २२ औँ दिनमा बयान गरियो, प्रमुख जिल्ला अधिकारीले गोली ठोक्छु भन्ने त स्वभाविक थियो ।’ राती ९ बजेसम्म बयान लिँदा पनि हामीले माफि मागेनौँ ।
त्यतिकैमा सिडियो घननाथ ओझा रोए । कारण रैछ उनको छोरो पनि अखिलको कार्यकर्ता भएर बामपन्थि आन्दोलनमा सहभागि रहेछन् । त्यही कारणले गृह मन्त्रालयबाट उनीलाई आवा गरि छोराको गतिविधिबारे सचेत गराउँदै पत्र काटिएको रहेछ । सिडिओको रुवाइको वास्था नगरि हामीले माफि मागेनौँ र राती ९ बजे इलाम कारागार चलान भयौँ । चेम्जाेङ कारागारको ४ महिना पछि छुटे ।
आश्यर्चजनक जागिर यात्रा
२०४१ सालमा जेलबाट छुटेपछि चेम्जाेङ पुनः पार्टीको सम्पर्कमा पुगे । पार्टीमा सम्पर्कमा पुगेका चेम्जाेङले इलाम क्याम्पसमा जागिरमा प्रवेश गर्दैछु भन्ने थाहा थिएन । मलाई पार्टीकै पहलमा जागिरमा लगाइएको रहेछ । मलाई क्याम्पस प्रमुख राजेन्द्र सुवेदीले नियुक्ति पत्र दिँदा छक्क परे । उनी भन्छन्–‘ जेलबाट छुटेपछि पार्टीको नेतृत्वलाई प्रहरीले मार्छ भन्ने लागेछ त्यही भएर पार्टीकै पहलमा जागिरमा लगाएको रहेछ ।’ पार्टीलाई क्याम्पसमा कर्मचारी नियुक्ति गरेपछि गतिविधि गर्न पनि सहज बनोस् भन्ने मुख्य उदेश्य थियो । जागिरमा रहेर पनि पार्टीको काम निरन्तर गरिरहे, चेम्जाेङ भन्छन्–‘जागिरको कारणले मैले पार्टीको माथिल्लो तहमा पुग्न चै पाइन ।’
मदन भण्डारीको त्यो कार्यक्रम
२०३५ सालमा हत्या भएका रत्न कुमार सालिक इलामको ठुलो टुडिखेल नजिक निर्माणको काम शुरु भयो । युवाको पहलमा निर्माण भएको शालिक अनावरणमा मदन भण्डारीबाटै गर्ने तयारी योजना थियो । २०४६ सालमा मदन भण्डारीबाट रत्नको सालिक अनावरण गर्ने कार्यक्रमको उद्घोषण गर्ने अवसर जुर्यो । त्यसबेला कर्मचारीलाई पार्टीको कार्यक्रम संचालन गर्ने अनुमति थिएन । उनी भन्छन्–‘ मलाई जागिर भन्दा पनि पार्टीको कार्यक्रम प्रमुख लाग्यो उसबेला ।’
२०४६ मा आन्दोलनको मोर्चा
२०४१ सालबाटै इलाम क्याम्पसमा जागिर खाएपनि पार्टीको हरेक कार्यक्रम छुटाउँदैन थे चेम्जाेङ। पार्टी गतिविधि र प्रजातन्त्रप्रति आन्दोलनको २०४६ सालको आन्दोलन चर्कियो । यो आन्दोलनमा उनको काम पर्चा पम्प्लेट बनाउने र बजारमा छर्ने काम हुन्थ्यो । आन्दोलनमा उनले विद्यार्थीहरुलाई परिचालन गर्ने काम गरे । क्याम्पसमा विद्यार्थीसँग निरन्तर आन्दोलनको योजना बनाउने काम  गरे । उनी भन्छन्– ‘फुलिस्केपमा रातभर पर्चा लेखेर बजार भरी टास्ने काम हुन्थ्यो ।’ २०४६ को आन्दोलनमा पर्चा छर्ने, पुत्ला जलाउने र कालो झण्डा गाड्ने काम दिनैपिच्छे हुन्थ्यो ।
पत्रकारितामा प्रवेश
जागिरे जीवन र राजनीतिको यात्रा सँगसँगै थियो । भुमिगत कालदेखिनै पार्टीका पर्चा र पम्प्लेट छर्ने टास्ने काम गर्दै आएकै थिँए । पार्टीका कामहरुलाई जनता माझ पु¥याउने माध्यमको खोजि गर्ने क्रममा पत्रकारीता माध्यम बन्ने लागेर पत्रकारिता रोज्न पुँगे । उनी भन्छन्–‘हाम्रो सूरुवाती चरण मिसन पत्रकारिताबाटै शुरु भएको हो ।’ २०४६ पछि साप्ताहिक विमर्श पढ्ने गरेको थिए । ‘पत्रकारिता ठुलो शक्ति रहेछ भन्ने लाग्यो–उनी भन्छन्–‘राज्यले पनि पत्रकारहरुलाई पक्राउ गरेपनि यातना दिन नसक्ने भएकाले मेरो आकर्षण पत्रकारितामा पर्यो ।’ मैले दृष्टि साप्ताहिकबाट पत्रकारिता यात्रा शुरु गरे । उनी भन्छन्–‘पत्रकारलाई उबेला मान सम्मान राम्रो थियो ।’
मेरो पहिलाे समाचार हत्याको छापिएको थियो । दृष्टिमा काम गर्दै आएपछि जिल्लामै पत्रीका संचालन गर्ने योजना बन्यो । म कार्यकारी सम्पादक भएको, डम्बर पहाडी सम्पादक र व्यवस्थापक नरेन्द्र भट्टराई भएर प्रतिज्ञा साप्ताहिक संचालन गर्यौ । पत्रिकामा पहिले पार्टी पत्रकारिता मात्रै हुन्थ्यो, पार्टीका समाचार मात्रै छापिन्थे–उनी सम्झन्छन् ।
दृष्टि पार्टीको मुखपत्र थियो । दृष्टिका कार्यकारी सम्पादक किशोर श्रेष्ठले जनआस्था साप्ताहिक संचालन गर्ने योजना बनाए । जनआस्था साप्ताहिक स्थापना गर्ने मध्ये एक म पनि हो । उनी भन्छन्–‘जनआस्थामा लेखिएको सिडिओले गाई खायो भन्ने समाचारको अहिले पनि चर्चा हुन्छ ।’
सुत्रधार सुरुवातको योजना
ओम शान्तिले भारतको ‘माउण्ट आबु’ मा हरेक वर्ष अन्तराष्ट्रिय मिडिया सम्मेलन गथ्र्यो । त्यो सम्मेलनमा हामी पनि सहभागि भएका थियौँ । त्यसमा इलामका अग्रज पत्रकार धर्म गौतम पनि सहभागि थिए । सम्मेलनमा फर्किएपछि मनमा फर्केर व्यवसायीक पत्रकारिता गर्छु भन्ने लाग्यो । त्यकिकैमा धर्म गौतमले सोधे–‘धिरेन के गर्ने योजना छ ।’ मैले भने–‘व्यवसायीक पत्रकारिता गर्ने योजना बनाएको छु ।’ हामी भारतको भ्रमण सकेर फर्किदै थियौँ–‘ट्रेनमा योजना बन्यो, फर्केर एक महिनापछि पत्रिका निकाल्ने ।’ हामीले १५ दिन पछि नै पत्रिका निकाल्न सफल भयौँ । उनी भन्छन्–‘ पत्रिका त निकाल्न शुरु गर्यौ, इलाममा प्रेस थिएन र बिहिबारको पत्रिका नै मंगलबार सकेर फ्लपी बोकेर बिर्तामोड जानुपथ्र्यो ।’ अनि शुरु भए पत्रकारिता भित्रको संघर्ष ।
‘मेची राजमार्गमा कमै मात्रै सवारीसाधन संचालन हुने, अहिलेको जस्तो प्रविधि थिएन–उनी भन्छन्–‘इलामबाट फ्लपी बोकेर गयो झापा पुगेपछि नचल्ने, तीन पटक लग्यो तीन पटकै नचल्ने ।’ प्रविधि नहुँदा बिहिबारको पत्रिका कुनै हप्ता त, आइतबार मात्रै बजारमा पुग्थ्यो । ‘सुत्रधार साप्ताहिक शुरुवात गरेपनि सुचना विभागमा नाम जुधेपछि, पत्रिका नाममा श्री थपियो । ‘अहिले इलामका पत्रकारहरु मध्ये धेरै सुत्रधार श्री साप्ताहिकका उत्पादन हुन्,–उनी भन्छन्–‘प्रविधिको अभाव र आर्थिक संकटसँगै देशको व्यवस्थाले गर्दा पत्रिकालाई निरन्तरता दिन सकिएन ।’
पत्रकार महासंघको नेतृत्व
२०४६ सालको राजनीतिक परिवर्तन पछि व्यवसायीक पत्रिकारीताको बिकास भयो । काठमाडौँमा दैनिक पत्रिकाहरु संचालन हुन थाले । त्यतिकैमा नेपाल पत्रकार महासंघको स्थापना भइ संगठित हुने क्रम शुरु भयो । इलाममा नेपाल पत्रकार महासंघको शाखा गठन भयो ।
इलाममा पत्रकारहरुको संख्या नपुग्ने भएपछि पाँचथर र इलामका पत्रकारहरु मिलेर नेपाल पत्रकार महासंघको शाखा घोषणा भयो । अग्रज पत्रकार धर्म गौतमको नेतृत्वमा नेपाल पत्रकार महासंघको शाखा गठन हुँदा चेम्जाेङ संस्थापक मध्येका एक हुन् । त्यसपछि उनी दुइ पटक शाखा अध्यक्ष भए । जिल्ला शाखाका सभापति भएपछि उनी नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य भइ नेपाल पत्रकार महासंघ मार्फत व्यवसायिक पत्रकारिता विकासमा लागे ।
जन आन्दोलनका अगुवा
पत्रकारितामा क्रियासिल हुँदै गर्दा २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन शुरु भयो । राजाको प्रत्यक्ष शासनमा टेलिफोन बन्द, इमेल इन्टरनेट बन्द, एफ एम रेडियोमा सेन्सरसिप भएपछि पत्रकारिता क्षेत्र पूर्ण रुपमा ठप्प हुने नै भयो । तर नेपाल पत्रकार महासंघले राजाको कदमको शुरु देखिनै बिरोध गर्यो । राजाको प्रत्यक्ष शासन शुरु भएपछि राजनितिक दलहरुका गतिविधि शुन्य थिए ।
आन्दोलनको शुरुका दिनमा इलाममा राजनीतिक दलको गतिविधि शुन्य  भएको अवस्थामा आन्दोलनको नेतृत्व पत्रकारको थियो । आन्दोलनको नेतृत्वमा पूर्व अध्यक्ष धिरेन चेम्जाेङ, धर्म गौतम र जिल्ला सभापति सोम सुसेलीले गरेका थिए । दैनिक जसो पत्रकारहरु एप्रोन लागाएर, कहिले नाङ्लो ठटाउएर बिरोध गर्ने त, कहिले कुचोले बढार्ने र जनआन्दोलनलाई बल पु¥याउने गतिविधि हुन्थ्यो ।
दोस्रो आन्दोलनमा कस्तो नारा लगाउने देखि फरक फरक ठाउँमा बास बस्दै आन्दोलनलाई सघाउने काम हुन्थ्यो । उनी भन्छन्–‘आन्दोलनलाई सघाउ पु¥याउन हामी मिलेर लोकतन्त्र साप्ताहिक पनि संचालन शुरु गर्यौ ।’ पत्रिका राम्रो चलेको थियो, आन्दोलनमा दमन बढ्दै गएपछि पत्रिकालाई निरन्तरता दिन सकेनौँ । दोस्रो जनआन्दोलनका बेला चेम्जाेङ भुमिगत हुनुपर्ने कारण थियो उनले बोक्ने करलेक्स फोन ।
‘करलेक्स फोन खोल्ने वित्तिकै आर्मी र पुलिसका गफहरु पनि सुनिने भएकाले आर्मीबाट क्याम्पमा स्पष्टिकरण दिन आउनु भन्यो– चेम्जाेङ भन्छन्–‘आर्मीले तत्कालिन इलामको आर्मी क्याम्पको दोस्रो नम्बरको गेटमा आउनु भन्ने वारेन्ट नै जारी गर्यो ।’ त्यसपछि त घरमा बस्ने अवस्था नै भएन ।
जनआन्दोलनकै क्रममा उनी पक्राउ परे । आन्दोलन सफल भएपछि मात्रै चेम्जाेङ घर फर्किए ।
संघीयता बारेको बुझाइ
जनयुद्ध र जनआन्दोलनबाट उपलब्धिको रुपमा रहेको नेपालको संविधान र संघीयता नेपालका लागि नयाँ मोडल हो । नेपालको संघीयताको मोडल साकारात्मक छ,–चेम्जाेङ भन्छन्–‘सत्ता र शक्ति काठमाडौँमा हुने जनताका माग पुरा गर्न काठमाडौँमा नै पुग्नुपर्ने बाध्यता अहिले हटेको छ ।’ अहिले प्रतिपक्ष बिहिन स्थानीय सरकार र मझौला खालका आयोजना निर्माण गर्ने प्रदेश सरकारप्रति जनताको सकारात्मक धारण बढ्दै छ । उनी भन्छन्–‘सानो देशमा केन्द्र सरकारका अधिकार काठमाडौँबाट बिकेन्द्रित भएपछि अहिले गाउँगाउँमा बिकासको लहर छ ।’ यो व्यवस्था राम्रोसँग उपयोग गरिए र आवधिक निर्वाचन नियमित भए हाम्रो देशले १० वर्षमा नै कोल्टे फेर्छ ।
नगर प्रमुखमा दाबी
भुमिगत जिवन, जागिरे जिवन, पत्रकारिता र खेलकुद क्षेत्रमा अगुवा रहेका धिरेन चेम्जाेङ अहिले नेकपा एमाले इलाम नगरपालिकाको इञ्चार्ज हुन् । उनले पहिलाे स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको दाबी गरेका थिए । अहिले पनि उनी नगर प्रमुखको दाबी गरिरहेका छन् । उनी भन्छन्–‘मलाई पार्टीले टिकट दिएमा जित पनि सुनिश्चित छ ।’
लाेकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment