इलामकाे समालबुङमा सशस्त्र प्रहरीको बीओपी भवनको उद्घाटन


मङ्गलबारे, २३ चैत्रः नेपाल–भारत सीमा क्षेत्र इलामकाे समालबुङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन उद्घाटन गरिएको छ । सूर्योदय नगरपालिका–५ समालबुुङमा निर्माण गरिएको बीओपी भवनको उद्घाटन गरिएको हो । एक वर्षअघि स्थापना गरिएको बीओपीमा भवन नहुँदा समस्या हुँदै आएको थियो ।
नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति कमल गिरीले उद्घाटन गर्नुभएको हो । सूर्योदय–५ को समालबुङमा बीओपी स्थापनाका लागि स्थानीयवासी तारादेवी खत्री, मनोजकुमार खत्री, विष्णुकुमार खत्री र टेकबहादुर खत्रीले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।
सोही जमिनमा भवन निर्माणपछि बस्न सहजसमेत भएको छ । सेवा प्रदान गर्नसमेत सहज हुने बाहिनीपति गिरीले बताउनुभयो । नेपाल–भारत सीमामा विभिन्न गतिविधि हुने यी क्षेत्रमा सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले एक वर्षअघि बीओपी स्थापना गरिएको थियो ।


सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गण श्री अन्तु गुल्म इलामका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाका अनुसार रोङको मेची किनारदेखि सन्दकपुर डाँडासम्म ५२ दशमलव ५ किलोमिटरको १५ स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने योजना रहेको छ । हाल सात वटा बीओपी स्थापना भइसकेका छन् भने अब नयाँ आठ स्थानका लागि प्रस्ताव गरिसकिएको उहाँले बताउनुभयो ।
त्यस्तै केही दिनअघि नेपाल–भारत सीमा क्षेत्र सन्दकपुर गाउँपालिका–५ जौबारीमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन उद्घाटन गरिएको छ ।
दुवै स्थानका बीओपीको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले उद्घाटन गर्नुभएको हो । सो अवसरमा नायब महानिरीक्षक गिरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले कुनै कन्जुस्याईं नगर्ने बताउनुभयो । उहाँले सीमा क्षेत्रमा बीओपी स्थापना भएपछि सीमा सुरक्षा मजबुत बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
समालबुङ र जौबारीमा सशस्त्र प्रहरीको ब्यारेक भवन निर्माण गरिएको हो । यसअघि ती क्षेत्रमा सशस्त्र प्रहरी अस्थायी संरचनामा बस्दै आएको थियो । दुवै स्थानमा करिब रु ९५ लाखको लाखमा भवन निर्माण गरिएको हो ।
त्यस्तै रोङ गाउँपालिकाको सलकपुरमा पनि सशस्त्र प्रहरीको आफ्नै भवन निर्माण भइसकेको छ । अन्य सीमा क्षेत्रमा पनि चाँडै भवन निर्माण गरिने लक्ष्य लिइएको छ ।
सन्दकपुरको जौबारीमा भने गाउँपालिकाले संयोजन गरेर जग्गा उपलब्ध गराएको हो । सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राईले सशस्त्र प्रहरी सीमा क्षेत्रमा बस्न थालेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ज्यादती कम भएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment