झापाबाट प्रमुख पदमा १५ महिला उम्मेदवार

१४ बैशाख २०७९, बुधबार

झापा । आसान्न स्थानीय तह निर्वाचनका लागि झापामा १५ जना महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तासँग उनीहरू उत्साहपूर्वक जनताको घरदैलोमा भोट माग्न थालिसकेका छन् ।
जिल्लाका १५ पालिकामध्ये कमल गाउँपालिकाबाहेक सबैमा महिलाको प्रमुख पदमा उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा १३० जनाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गराउनेमा नेकपा (एमाले)बाट दमक नगरपालिकामा गीताकुमार अधिकारी, विर्तामोडबाट पवित्रा महतरा, बुद्धशान्ति गाउँपालिकाबाट मीरा भूर्तेल र कचनकवल गाउँपालिकामा दुर्गादेवी नेपाल छन् । नेपालबाहेक तीनै जनाले यसअघि सम्बन्धित पालिकाका उपप्रमुख पदमा रहेर जिम्मेवारी सम्हालिसकेका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराउनेमा अर्जुनधारा नगरपालिकाबाट रञ्जिता कार्की र गौरीगञ्ज गाउँपालिकाबाट फूलमति राजवंशी रहेका छन् । रञ्जिताले पहिलोपटक निर्वाचनमा भाग लिएका हुन् भने राजवंशी विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि सोही पदमा उम्मेदवारी दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराजा श्रेष्ठसँग पराजित भएका थिए ।
यसैगरी, नेकपा (माओवादी केन्द्र)बाट गौरीगञ्जमै अध्यक्ष पदका लागि मेनुका राजवंशीले उम्मेदवारी दर्ता गराएकी छन् । सत्तारुढ गठबन्धन दलहरूबीच अधिकांश पालिकामा सहमति नहुँदा आ–आफ्ना दलबाट उम्मेदवारी दर्ता गराएका छन् । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)बाटै अर्जुनधारामा नगरपालिकामा रमा खवास र शिवतसाक्षीबाट कोपिला न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लामा अर्जुनधारामा राप्रपाबाट सूर्यकुमारी खतिवडा, गौरादहमा स्वतन्त्रबाट राधिका खनाल, कनकाई नगरपालिकामा मौलिक जरोकिलो पार्टीबाट टीका उप्रेती मेचीनगरबाट हीरा बास्तोला र झापा गाउँपालिकामा मङ्गोल नेशनल अर्गनाइसेजन पार्टीबाट दुर्गादेवी तामाङले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment