पाँचथरमा आजदेखि चौँरी महोत्सव सुरु हुँदै


फिदिम । विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ ।


उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।
फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजना हुने उक्त महोत्सवमा चौँरी, चौँरीजन्य सामग्री तथा उच्च पहाडमा पाइने वस्तुको प्रदर्शनी तथा याक गोल्डकप आयोजना गरिने महोत्सव मूल आयोजक समितिका सचिव सुनिल वान्तवाले जानकारी दिनुभयो ।
विगतमा एकदिने महोत्सव आयोजना गरिँदै आएको थियो । फालेलुङ गाउँपालिकाको सहयोगमा फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चौँरीपालन तथा संरक्षण संस्थाले महोत्सव आयोजना गरेका हुन् ।
तीन हजार ५६० मिटरको उचाइमा रहेको नेपाल–भारत सीमावर्ती क्षेत्रमा महोत्सव आयोजना गरिँदै छ । यस वर्ष महोत्सवमा करिब पाँच सय चौँरीलाई एकसाथ प्रदर्शनमा सहभागी गराइने भएको छ ।
चौँरीपालनमा आधारित संस्कृति लोप हुँदै गएको र त्यसको संवद्र्धन गर्दै उच्च पहाडी क्षेत्रमा पर्यटक भित्र्याउन मद्दत गर्न, चौँरीजन्य सामग्रीको बजार र मूल्य सुनिश्चितताका लागि सहयोग गर्न, जैविक विविधताको संरक्षण गर्दै वातावरण संरक्षणमा जोड दिन, रैथाने परम्परा, कला संस्कृतिको संवद्र्धन गर्न महोत्सवबाट सहयोग पु¥याउने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका उपाध्यक्ष शिल्प साम्पाङले बताउनुभयो ।
स्थानीय उत्पादनको प्रदर्शनी, भेडाको ऊनबाट बनेका सामग्रीको प्रदर्शनी र बिक्री, घोडचढी, याक चढी, गोठबास (गोठस्टे) मा बसोबासको प्रबन्ध जस्ता महोत्सवका आकर्षण हुन ।
महोत्वसका अवसरमा उत्कृष्ट चौरीपालक किसानलाई सम्मान गरिने छ । यस वर्षदेखि याक गोल्डकप सञ्चालन गरिनेछ । गोल्डकपमा चौँरीपालक किसान सहभागी हुनेछन् ।
महोत्सवका सहभागीले नेपाल–भारत क्षेत्रबाट नेपाल र भारतका विभिन्न भू–भाग तथा नेपाल, भारत र भूटानका हिमालको दृश्यावलोकन गर्न सक्नेछन् ।
चौँरीको चरन क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौँरीको सङ्ख्या घट्दै गएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment