जिरीमा एमालेको चुनावी प्रचार सामग्रीसहित १९ जना शंकास्पद युवा पक्राउ, तीन वटा गाडी तोडफोड

२८ बैशाख २०७९, बुधबार


दोलखा । दोलखाको जिरी नगरपालिकामा शंकास्पद १९ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय जिरीले गौरीशंकर गाउँपालिका घर भएका जंग बहादुर गुरुङ (जेवी) को नेतृत्वमा रहेका शंकास्पद युवाहरुलाई लिंकन बजार क्षेत्रबाट पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय जिरीबाट खटिएका प्रहरी निरीक्षक बी.बी.बस्नेतको टोली र सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । जेवी गौरीशंकर गाउँपालिका वडा नं. ६ का एमाले वडाअध्यक्ष उम्मेदवार भुवन गुरुङका भाइ हुन् ।
भ्यान, बोलेरो, स्कारपियो लगायतका ५ वटा सवारी साधनमा जिरी भित्रेका युवाहरु शंकास्पद लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आफूहरुले सोधखोज गर्दा उनीहरुले परिचय अस्पष्ट दिएको र अपशब्द प्रयोग गरेको स्थानीयले जनाएका छन् ।
युवाहरू पाँच वटा गाडीमा आएका थिए । तीन वटा गाडी र १९ जना युवा पक्राउ परेपनि पनि दुई वटामा केही व्यक्तिहरू फरार भएका छन् ।
उपस्थित स्थानीयको भिडमाथि एउटा बोलेरो कुदाउन खाजेपछि प्रहरीले फायरिङ गरेर नियन्त्रणमा लिएको थियो । प्रहरीले सात राउन्ड हवाई फायरिङ गरेको थियो ।
त्यसपछि आक्रोशित भिडले युवाहरुको तीन वटा गाडीमा तोडफोड गरेका छन् । स्थानीयले उनीहरुको गाडीमा तोडफोड गरेपछि केहीबेर तनावग्रस्त भएको थियो ।
उनीहरुले चढेको गाडीमा नेकपा एमालेको चुनावी प्रचार पर्चा समेत फेला परेको छ । उनीहरुमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दोलखा प्रवेशमा कडाइ गरेको पनि जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment