झापामा प्रत्येक महिना १० भन्दा बढी बलात्कृत भएको तथ्याङ्क, ४ देखि ६० वर्षीया वृद्धासमेत पीडित

१८ जेष्ठ २०७९, बुधबार



झापा । विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । यो तथ्याङ्क मासिक रुपमा हेर्दा महिनामा १० भन्दा बढी बलात्कृत भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८\७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्राउ परिसकेका छन् ।
सोही अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन् । बाल यौन दुराचारका १७ र जबर्जस्ती करणी उद्योगका १० अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।
बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासमेत छन् । पछिल्लो समय बाल यौन दुराचारका घटना बढेका छन् । अधिकांश बलात्कारका घटनामा प्रायः परिवार, नातागोता, शिक्षक र छरछिमेकी अभियुक्त पाइएको पाठकले बताउनुभयो ।
“अधिकांश घटना नजिकका आफन्तबाट भएका देखिन्छन्”, उहाँले भन्नुभयो । यस्ता आपराधिक क्रियाकलापमा पढेलेखेका र समाजमा पहिचान बनाएका व्यक्तिको समेत संलग्नता पाइएको छ ।
बलात्कारका घटनाका २० अभियुक्त अझै फरार छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment