झापाको बाहुनडाँगीमा हात्ती आतंकः डरैडरमा सीमाका बासिन्दा

 ६ असार २०७९, सोमबार 

झापा। केही दिनदेखि नेपाल–भारत सीमा क्षेत्र झापाको बाहुनडाँगीका बासिन्दालाई भारततर्फबाट हुल बाँधेर आउने हात्तीको त्रास छ ।
बुद्धशान्ति गाउँपालिका वडा नम्बर २का स्थानीय बासिन्दा विजय दाहालको घरमा केही दिनअघि तीनवटा हात्ती आए । हात्तीले घरको पर्खाल मात्रै भत्काएनन् भण्डारण गरेर राखिएको धान समेत खाइदिए । त्यही दिन झापा गाउँपालिकाका अन्य तीनवटा घर पनि हात्तीले भत्काइ दिए ।
स्थानीयमा त्रास
यसरी दिनदहाडै वा साँझमा हात्ती गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा कसरी अन्नवाली जोगाउने र आफूहरू पनि सुरक्षित हुने भन्ने त्रासमा छन् । विगतमा त्यसरी गाउँ पस्ने हात्तीलाई मानिसहरूले मिलेर भगाउन खोज्दा हात्तीले आक्रमण गर्ने गरेका थुप्रै घटना भएका छन् ।
केही सर्वसाधारणको त ज्यानसमेत गएको छ । २०३४ सालदेखि हालसम्म बाहुनडाँगीमा मात्र हात्तीको आक्रमणबाट १७ जनाको ज्यान गएको वडाध्यक्ष अर्जुन कार्की बताउँछन् ।
त्यस्ता घटना भएपछि हात्तीलाई छेक्न विद्युतीय तारबार लगाइयो । तर, ती तारबारले काम गर्न छोडेपछि अहिले फेरि विगतमा जस्तै त्रासमा स्थानीय बासिन्दा छन् । पछिल्ला दिनमा सीमा क्षेत्रमा हात्ती दिन नबिराइ आउने गरेको स्थानीयबासिन्दा हरि उप्रेती बताउँछन् । उनी भन्छन्– दिउँसै पनि एक÷दुईवटा आउँछन् । साँझदेखि त हुल बाँधेरै आउन शुरु हुन्छ । उनका अनुसार अरुबेला भन्दा जेठ असार महिनामा हुल बाँधेर आउने हात्तीहरू नेपाल पस्न खोज्छन् ।
सोही क्षेत्रमा बसोबास गर्ने मेचीनगर नगरपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार साँझदेखि करिब डेढ÷दुई सयको सङ्ख्यामा हात्ती नेपाल आउन थालेका छन् । उनी भन्छन्– विद्युतीय तारबार नाघेर वा भत्काएर हात्ती मानव वस्तीमा पस्न थालेका छन् । तारबार लगाउनुभन्दा अगाडिको स्थितिमा पुगिसक्यो ।
तारबारले काम गर्न छाडे
करिब ८ वर्षअघि इलामको जिर्मलेस्थित दूधे टोलबाट बाहुनडाँगी हुँदै झापाको नकलबन्दा भेट्ने गरी मेची नदीको नेपाल पट्टिको किनारमा तारबार लगाइएको थियो । हात्तीले मानवबस्ती पसेर दुःख दिएपछि त्यतिबेला विश्व बैंकको आर्थिक सहयोगमा १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार लगाइएको हो । एक करोड ५० लाख रुपैयाँको लागतमा बनेको उक्त तारबारले काम गर्न छोडेको स्थानीयबासिन्दाको भनाइ छ ।
रेखदेख भरपर्दो नभएका कारण तारबारले काम गर्न छोडेको गुनासो गरिरहँदा मेचीनगर–४का वडाध्यक्ष कार्की मर्मतका लागि सामान नपाइएको बताउँछन् । उनका अनुसार सामान दक्षिण भारतमा मात्र पाइने भएकाले समयमा मर्मत हुन नसक्दा तारबारले काम गर्न नसकेको हो ।
डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्के भने स्थानीयवासिन्दाको लापरवाहीका कारण तारबारमा कहिलेकाहीँ करेन्ट नहुने गरेको बताउँछन् । उनले भने– कहिले ब्याट्री चोरी हुने, कहिले मानिस वारपार गर्दा करेन्टको तार निकालिदिने गरेकाले पनि तारबारले काम नगरेको हो ।
नेपालमा कहा–कहा छ तारबार ?
हात्ती आउने विशेषगरी छिमेकी मुलुक भारतबाटै हो । नेपालका पनि केही स्थानमा हात्ती छन् । चितवन, पर्सा, बर्दियालगायत स्थानमा हात्ती बस्ने गरेका छन् ।
हात्ती हिँड्ने बाटोमा मानव बस्ती बसेपछि हात्तीको आक्रमणबाट मानिसको ज्यान जाने भएकाले केही स्थानमा विद्युतीय तारबार लगाइएको छ । जङ्गलमा बस्ने जनावरलाई जङ्गलमै राखेर मानव बस्तीमा पस्न नदिन सरकारले विशेषगरी तीन स्थानमा विद्युतीय तारबार लगाएको छ ।
चितवन, झापा तथा बर्दियामा हात्ती छेक्न भन्दै विद्युतीय तारबार लगाइएका छन् । तर, ती तारबार नाघेर वा भत्काएर हात्ती हिँड्न थालेका हात्तीसम्बन्धी डा. नरेन्द्रमान प्रधान बताउँछन् ।
उनी भन्छन्– तारबार लगाइएको स्थानमा केही समय हात्ती रोकिए । उनीहरूका लागि त्यो नयाँ संरचना भयो। तर त्यो संरचनालाई कसरी भत्काउन सकिन्छ भन्ने कुरा हात्तीले सोच्न थालिहाल्छ । अन्ततः त्यो संरचना भत्काएरै छाड्छ । उनका अनुसार त्यस्ता तारबार रुख ढालेर भए पनि हात्तीले भत्काएका उदाहरण छन् । अन्य क्षेत्रभन्दा झापाको बाहुनडाँगी नै हात्तीको समूह नेपाल प्रवेश गर्ने मुख्य नाका भएको प्रधान बताउँछन् ।
मानव बस्ती जोगाउन समाधान के ?
जङ्गली जनावरलाई एक ठाउँमा छेकबार गर्ने काम ‘मुर्खतापूर्ण’ हुने वन्यजन्तु क्षेत्रमा काम गर्नेहरू बताउँछन् । जति छेक्न खोज्यो त्यति नै ती जनावर आक्रामक बन्ने उनीहरूको बुझाइ छ । अहिलेसम्म सरकारले हात्ती छेक्न भन्दै जति पैसा खर्च गरे पनि त्यो उपायले केही समयका लागि मात्र काम गरेको वन मन्त्रायलयका पदाधिकारीको स्वीकारोक्ति छ ।
मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेका अनुसार हात्ती छेक्ने कामभन्दा पनि अब हात्ती र मान्छे कसरी सँगै बस्ने भन्ने कुराको चेतना सर्वसाधारणमा दिनुपर्छ। काफ्ले भन्छन्– अहिलेसम्म गरिएका काम अस्थायी समाधान मात्र हुन् । तारबार लगाएर हात्ती छेक्न खोज्नु स्थायी समाधान होइन । पर्यावरणीय काम केही गरेनौं । यसको समाधान त पर्यावरणको क्षेत्रमा काम गरेर मात्र हुन्छ ।
पर्यावरणमा हात्ती पनि बाँच्नुपर्छ भन्ने चेतना सर्वसाधारणलाई दिनुपर्ने उनको भनाइ छ । भौतिक पूर्वाधार निर्माणमा अब खर्च गर्न नहुने उनको बुझाइ छ । हात्तीसम्बन्धी विज्ञ प्रधान पनि मान्छे र हात्तीसँगै बस्ने उपायको खोजी गरिनुपर्ने वीवीसीले उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment