खेल मैदानको भोगाधिकार अब नगरपालिकालाई

 २२ असार २०७९, बुधबार मा प्रकाशित

संघीय सरकारको ‘एक स्थानीय तह, एक रंगशाला’ कार्यक्रम अन्र्तगत हाल निर्माणाधीन झापाको अर्जुनधारा–७मा रहेको अर्जुनधारा खेलमैदानको भोगाधिकार अर्जुनधारा नगरपालिकालाई दिन प्रक्रिया अगाडि बढाइने भएको छ ।
चालु आर्थिक वर्ष ०७८÷०७९मा निर्माण सम्पन्न भएको कम्पाउण्ड वालको आय–व्यय विवरण सार्वजनिक गर्न मंगलबार आयोजित भेलामा मन्तव्य राख्ने सबै सहभागीहरुले उक्त कार्यक्रम सफल बनाउन नगरपालिकालाई भोगाधिकार दिनुपर्ने सुझाव आएपछि आयोजक समाज उद्धार कल्याण संघले सो प्रक्रिया अगाडि बढाउने भएको हो ।
कम्पाउण्ड वाल निर्माण उपभोक्ता समिति एवम् संघका अध्यक्ष धर्मानन्द गुरागाईंले नगरपालिकालाई भोगाधिकार दिँदा संस्थाको उद्देश्य अनुसार रंगशाला निर्माणको कार्य सहजरुपमा सम्पन्न हुन्छ भने आफूले चाँडै संस्थामा आवश्यक छलफल गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमका सहभागी संघका सल्लाहकार एवम् नेपाली काँग्रेस प्रदेश नं.१का सभापति उद्धव थापाले जमिनको स्वामित्व संस्थामै रहने गरी नगरपालिकालाई भोगाधिकार दिई गुरुयोजना तयार गरी कार्य गर्ने हो भने रंगशाला निर्माणको कार्यले चाँडै पूर्णता पाउने बताए । नगरपालिकालाई भोगाधिकार नदिई संस्था आफै अगाडि बढ्दा आवश्यक बजेट अभावमा रंगशालाको योजना विफल हुने उनले दावी गरे ।
त्यसैगरी अर्का सल्लाहकार एवम् मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख कमल गुरागाईंले खेलमैदानको हितमा कार्य हुने गरी नगरपालिकालाई भोगाधिकार दिँदा रंगशाला बन्छ भने भोगाधिकार दिनुपर्ने सुझाएका छन् ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा–७ वडा समितिका वडाध्यक्ष गोविन्द खतिवडाले संस्थाको साधारणसभाबाट जमिनको स्वामित्व संस्थामा रहने गरी नगरपालिकालाई भोगाधिकार दिने निर्णय अनुमोदन गराउन सुझाव दिएका थिए ।
संघका अध्यक्ष गुरागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा निवर्तमान वडाध्यक्ष नवराम ढुंगाना “नविन”, संघका सल्लाहकार भीमचन्द्र भट्टराई, अर्जुनधारा नगरपालिकाका तत्कालिन् रोजगार संयोजक केशव ढुङ्गेललगायतले आफ्नो धारणा राखेका थिए ।
यता नगरपालिकाका इन्जिनियर निरज अधिकारीले संस्थाबाट नगरपालिकालाई भोगाधिकार आउनु सकारात्मक कार्य हुने प्रतिक्रिया दिए । नगरपालिकालाई भोगाधिकार आएपछि रंगशालाको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार गरी संघ र प्रदेश सरकारसम्म नगरपालिका पुग्ने तथा डीपीआर स्वीकृत भई स्रोत सुनिश्चित भएमा एकमुष्ट बहुवर्षीय ठेक्का प्रणालीमा गएर कार्य सम्पन्न गर्ने सोच नगरपालिकाको रहेको उनले जानकारी दिए ।
हालसम्म एक करोड १७ लाख बढीको निर्माण कार्य सम्पन्न :
संस्थाको दुई विघा र ऐलानी तीन विघा आठ कठ्ठासहित जम्मा पाँच विघा आठ कठ्ठा जमिनमा हालसम्म एक करोड १७ लाख १८ हजार रुपैयाँ(श्रमदान बाहेक) बराबरको पूर्वाधार निर्माणको कार्य सम्पन्न भएको छ ।
अघिल्लो आर्थिक वर्ष ०७६/०७७मा युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख र अर्जुनधारा नगरपालिकाबाट १५ लाख गरी जम्मा ६५ लाख रुपैयाँ, गत आर्थिक वर्ष ०७७/०७८मा युवा तथा खेलकुद मन्त्रालयबाट २५ लाख र अर्जुनधारा नगरपालिकाबाट १० लाख रुपैयाँ गरी जम्मा ३५ लाख रुपैयाँ र चालु आर्थिक वर्ष ०७८/०७९मा युवा तथा खेलकुद मन्त्रालयबाट आठ लाख र अर्जुनधारा नगरपालिकाबाट नौ लाख १८ हजार गरी जम्मा १७ लाख १८ हजार रुपैयाँ विनियोजन भएको थियो ।
उक्त बजेटबाट ४५७ मिटर कम्पाउण्ड वाल निर्माण, ३६ बाई २२को एउटा भवन, खेलमैदान भित्रको सडक स्थानान्तरणलगायतका कार्यहरु सम्पन्न भएको निर्माण उपभोक्ता समितिका सचिव एवम् संस्थाका महासचिव मेदनीप्रसाद ढुङ्गेलले जानकारी दिए ।
आगामी आर्थिक वर्ष ०७९/०८०को लागि पनि प्रदेश सरकारबाट १० लाख रुपैयाँ विनियोजन भएको सचिव ढुङ्गेलले जानकारी दिए ।
सार्वजनिक सुनुवाई सम्पन्न :
चालु आर्थिक वर्षमा सम्पन्न भएको कम्पाउण्ड वाल निर्माणको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।
समितिका अध्यक्ष गुरागाईंको अध्यक्षतामा सचिव ढुङ्गेलले २० लाख २१ हजार नौ सय २० रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरेका थिए ।
गत वैशाख २२ गते सम्झौता भई यही असार १९ गते सम्पन्न भएको उक्त कार्यक्रम अन्र्तगत एक सय २२ मिटर कम्पाउण्ड वाल निर्माण गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment