असार २३, इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित इटहरीको मुख्य चौकमा उश्रृङ्खल युवाहरुबीच खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) खगेन्द्रकुमार खड्काका अनुसार घाइतेमध्ये एकको टाउकोमा चोट लागेको छ ।
मुख्य चौकको नजिकै रहेको व्यावसायिक भवन सेन्ट्रल प्लाजाअगाडि भएको खुकुरी हानाहानमा संलग्न चारमध्ये दुई जनालाई पक्राउ गरिएको र फरार रहेका दुई जनाको खोजी जारी रहेको डीएसपी खड्काको भनाइ छ । घटनास्थलबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद भएको बताउँदै प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाइएको जनाएको छ । घटनाको कारण यकिन भइनसकेको प्रहरीको भनाइ छ ।
0 comments:
Post a Comment