सुवास नेम्वाङलाई इलाममा कसले दिन सक्छ टक्कर?

  • खिलानाथ ढकाल


इलाम क्षेत्र नम्बर २ मा यसपालिको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ सर्वसम्मत सिफारिस भएका छन्। उनी यो क्षेत्रमा एक्लै सिफारिसमा परेको हुँदा उनको उम्मेदवारी निश्चित हो।

उनले २०५६ सालयता इलामबाट निर्वाचन जित्दै आएका छन्। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष नेम्वाङ २३ वर्षपछि पनि पुनस् यहीँ चुनाव उठ्दैछन्।

मंसिर ४ गते तय भएको निर्वाचनमा उनलाई टक्कर दिने विपक्षी नेता को हुन्छन् भन्ने चासो छ। एमालेविरूद्ध कांग्रेसले गठबन्धन गरेका कारण नेम्वाङलाई चुनाव जित्न मुस्किल पर्ने आँकलन गरिएको छ।

विगतदेखिका निर्वाचनलाई हेर्ने हो भने नेम्वाङलाई टक्कर दिने पार्टी नेपाली कांग्रेस हो। अहिले नेपाली कांग्रेस पाँच वटा राजनीतिक दलसँग गठबन्धन गरेर चुनाव लड्दैछ।

इलाममा दुई वटा निर्वाचन क्षेत्र छन्। पहिलो निर्वाचन क्षेत्र नेकपा एकीकृत समाजवादी पार्टीको भागमा परेको छ। त्यहाँ समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार हुने पक्कापक्की छ।

क्षेत्र नम्बर २ कांग्रेसको भागमा परेको छ। इलाम क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसबाट सात जना नेताहरू सिफारिसमा परेका छन्। जसमध्ये भेषराज आचार्य पहिलो नम्बरमा छन्।

नेपाली कांग्रेस इलामका नेताहरू आचार्य नै नेम्वाङसँग मैदानमा आउने बलियो उम्मेदवार देख्छन्।

यसका लागि २०७० सालको दोस्रो संविधानसभा र त्यसपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनलाई फर्केर हेर्नुपर्ने हुन्छ।

नेता वसन्त थाम्सुहाङका अनुसार २०७० सालमा आचार्य नेम्वाङसँग आमने सामने भएका थिए। त्यसबेला आचार्य नेम्वाङसँग २ हजार २ मतले हारे।

२०७४ सालको निर्वाचनमा आचार्य चुनावी मैदानमा आएनन्। जिल्ला सभापति केशव थापा नेम्वाङसँग उठे।

उनी नेम्वाङसँग ९ हजार ६५४ मतले हारे। थापा प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेता हुन्।

क्षेत्रीय कार्यसमितिले सिफारिस गरेका सातमध्ये थापाको नाम तेस्रो नम्बरमा छ।

दोस्रो नम्बरमा डम्बरबहादुर खड्का, चौथोमा बेनुपराज प्रसाईं, पाँचौंमा सुजाता परियार, छैटौंमा नगेन्द्रकुमार कुमाल र सातौंमा रमेश लिङ्देन छन्।

प्रभावशाली नेता शेखर कोइराला समूहनिकट रहेका आचार्य आफू नै नेम्वाङसँग प्रतिस्पर्धा गर्नसक्ने बलियो उम्मेदवार ठान्छन्।

‘पार्टीले टिकट फाइनल गरेको छैन, तर पार्टीमा सानो सानो समितिसँग भिजेको, एमालेसहित सबैजसो पार्टीबाट भोट तान्न सक्ने खुबी म सँग छ,’ उनले भने।

उनी अहिले टिकटका लागि कसरत गरिरहेका छन्। आचार्यले २०७० सालको निर्वाचनको परिणामले नै आफूलाई नेम्वाङको प्रतिस्पर्धी देखाइदिएको बताए।

‘२०७४ सालमा एमाले र माओवादीको गठबन्धन थियो, कांग्रेसको बलियो प्रभाव हुँदाहुँदै पनि हाम्रो उम्मेदवारको मत कम आयो,’ उनले भने, ‘यसपालि नेम्वाङलाई टक्कर दिने बलियो मै हुन्छु।’

पहिलो नम्बरमा सिफारिस र प्रभाव राम्रो रहेको आधारबाट आफ्नो टिकट सुनिश्चित हुने दाबी उनी गर्छन्। यसपालि क्षेत्र नम्बर २ मा कांग्रेस एक्लै बलियो रहेको दाबी उनको छ। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनले नै कांग्रेसको प्रभाव बलियो रहेको पुष्टि भएको उनी बताउँछन्। ‘यो निर्वाचन क्षेत्रमा जति पनि पालिका छन्, त्यहाँको सबै गन्दा कांग्रेस ४०० मतले अगाडि छ,’ आचार्यले भने। अर्को, यसपालि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसमेतको साथ रहेकाले कांग्रेसले जित्ने उनले बताए।

क्षेत्र नम्बर २ अन्तर्गत ६ वटा पालिका छन्। इलाम नगरपालिका १० नम्बर वडाबाहेक सबै, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ३ नम्बर वडाबाहेक पर्छन्।

पार्टीले टिकट दिए नेम्वाङलाई पराजित गर्ने आँट बोकेका आचार्य को हुन् त ? हामीले उनैलाई सोध्यौं। आचार्य इलाम साबिक सोयाक गाविसमा जन्मिएका हुन्। 

पञ्चायतको दबदबा थियो। ५८ वर्षीय आचार्य २०३३ सालबाट नेविसंघमा आवद्ध भएका थिए। त्यसबेला खुला राजनीति प्रतिबन्ध थियो। उनी पञ्चायतविरोधी मोर्चामा भर्खर भर्खर सक्रिय बन्दै गएको नेविसंघमा राजनीति गर्न थालेका थिए।

२०३६ सालमा पञ्चायत कि बहुदल भन्ने राजा वीरेन्द्रले जनमतसंग्रह गराए। बहुदल हार्‍यो। पञ्चायती व्यवस्थाको निरन्तर कायमै रह्यो। आचार्य २०३७ साल वैशाखमा नेविसंघ इलामको सभापतिमा चुनाव लडेका थिए। उनले हारे।

जनमतसंग्रहको बेला उनी कांग्रेसको युथ परिचालन समितिको संयोजक बनेर काम गरेका थिए। २०४२ सालमा उनी जिल्ला कार्यसमिति सदस्य, २०४८ सालमा महाधिवेशन प्रतिनिधि, २०५६ सालमा क्षेत्रीय सभापति, आठौं र नवौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, १० औं महाधिवेशनमा क्षेत्रीय सभापति, १४ औं महाधिवेशनमा प्रतिनिधि र महासमिति सदस्य छन्।

आचार्यले क्षेत्र नम्बर २ का जनता एमालेसँग असन्तुष्ट रहेका कारण कांग्रेसले जित्ने दाबी गर्छन्। ‘२३ वर्षदेखि सुवासजीले चुनाव जितिरहनुभएको छ, तर उहाँ चुनावका बेलाबाहेक कहिल्यै जनताको बीचमा जान भ्याउनुहुन्न,’ उनी भन्छन्, ‘उहाँ चुनावका बेला साना(साना समूह परिचालन गरेर चलखेल गरी चुनाव जित्दै आउनुभएको छ।’

नेम्वाङ इलामको स्थानीयबासी पनि धेरै पछि बनेको दाबी आचार्यको छ।

‘उहाँ पाँचथरबाट बसाइँ सरेर यहाँ आउनुभएको हो, म यहीँ जन्मेहुर्केर राजनीति गरेको रैथाने नेता हुँ,’ उनले भने, ‘उहाँ चुनाव जितेपछि जनतामा आउनुहुन्न, म सधैं जनताको घर घरमा पुग्छु।’ यसपालि इलामेली जनताले पुरानो अनुहार फेर्ने आचार्यको दाबी छ।

क्षेत्र नम्बर २ मा कांग्रेसले समानुपातिकतर्फ वसन्त थाम्सुहाङ, हरिप्रसाद खनाल, हिमालय कर्माचार्य र महिलामा अम्बिका चौहानलाई सिफारिस गरेको छ।

समानुपातिकतर्फ नेकपा एमालेका गणेशप्रसाद बरालको नाम सिफारिस भएको छ। यसैगरी, प्रदेशसभा निर्वाचन ‘क’ प्रत्यक्षतर्फ कांग्रेसमा पूर्णप्रसाद गौतम, राजेन्द्र शर्मा, गोविन्द गिरि, निरोज खड्गी, राजेन्द्र बाँस्तोला र प्रदीप अर्यालको नाम सिफारिस भएको छ।

‘ख’ मा लक्ष्मण पाण्डे, यामकुमार बुढाथोकी, कमल कार्की, डम्बरबहादुर लिम्बू र रामकुमार श्रेष्ठको नाम सिफारिस भएको छ। एमालेले क्षेत्र २ ‘क’ र ख’ मा टुंगो लगाइसकेको छैन।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment