इलाममा अकबरे खुर्सानी र छुर्पीको गुणस्तर महासंघको चासो


इलाम, २७ भाद्रः नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को आयोजना तथा इलाम उद्योग वाणिज्य संघ, सूर्योदय उद्योग वाणिज्य संघक र नेपाल कृषि बजार विकास कार्यक्रम सहजको सहकार्य,खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौको उपस्थितिमा  अकबरे खुर्सानी र छुर्पी उत्पादक र प्रशोधनकर्ता विच गुणस्तर विषयमा सूर्योदय नगरपालिका, फिक्कल र इलाममा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

विभाग महानिर्देशक डा. मटिना जोशी वैद्यले छुर्पी र अकबरे खुर्सानी गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्नु भएको थियो । छलफल कार्यक्रममा नवरत्न डेरी उद्योग तथा पशुपालन केन्द्रका अध्यक्ष धनपति दुलालले दुग्ध जन्य उत्पादनको गुणस्तरमा ध्यान दिएर उत्पादन गरिरहेको कुरा बताउनु भयो । 

हाल छुर्पीमा  ढुसीले समस्या पारेको तथा गुणस्तर प्रमाणीकरणमा विभागबाट समयमा उद्योगहरुको अनुगमन नहुने तथा पटक पटक उत्पादनका नमुना लिएर विराटनगर जाने प्रक्रियालाई सहज बनाई दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग महानिर्देशक लाई अनुरोध गर्नु भयो । फालेलुङ चौरी कृषक समुहका टिका नेपालले चौरीको छुर्पीमा ढुसीले समस्या पारेको, छुर्पीको गुणस्तर कायम गर्न तालिमको आवश्यक रहेको कुरा वताउनु भयो । इलामेली एग्रीकल्चर प्रा.ली संचालक कौशीला राईले छुर्पी, तथा नौनी घ्यू को गुणस्तर कायम गर्न गरिएको प्रयास र  देखिएका समस्याबारे  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिकहरु समक्ष राख्नु भयो । 

पौरखी डेरी उद्योग देउमाई संचालक लिला काफले खत्रीले डेरीका उत्पादन गाँउ गाँउबाट संकलन गरेर बजार पठाउदा उपयुक्त प्याकेजिङ गर्न नसक्दा गुणस्तर कायम गर्न असर पुगेको कुरा वताउनु भयो । लक्की डेरी उद्योग बौधधामका संचालक तुलु तामाङले दुग्ध परिकारमा मिसावट बढेकाले अनुगमन गर्न अनुरोध गरे ।  

नमुना कलेक्सन अचार उद्योग संचालक कमला बास्कोटा रिजालले हाल अकबरे खुसार्नीको बजारीकरणमा समस्या रहेको बताउनु भयो हाल आफुसग पुरानो स्टक खुर्सानी रहेकाले कृषकबाट खरीद गर्न नसक्ने अवस्थामा रहेको भारतबाट आयात गरिएको अकबरे खुर्सानीले नेपाली अकबरेको बजार समस्यामा पारेको बताउनु भयो । बाँस्कोटाले प्राविधिक ज्ञानको अभावमा अकबरेको उत्पादनलाई विविधिकरण गर्न नसकिएको कुरा बताउनु भयो । नामसालिङका अकबरे खुर्सानी कृषक रमेश चन्द्र सुवेदीले खुसार्नीमा रोगको समस्या देखिएको समयमै पहिचान गरि निदान गर्न सके गुणस्तर कायम हुन सक्ने कुरा बताउनु भयो । छलफलको क्रममा उठेका विषय लाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अधिकृत भीम प्रसाद पुलामी सम्बोधन गर्नु भएको थियो । 

खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय महानिर्देशक डा. मटिना जोशी वैद्यले डेरी उद्योगहरुको सरसफाईमा ध्यान दिन सुझाव दिदै स्वदेशमा बिक्री वितरण गर्ने देखि विदेश निर्यात गर्ने सामाग्री गुणस्तर हुनु पर्ने र विभागबाट सम्पादन हुने कार्यलाई सरलीकृत बनाउदै जाने बताउनु भयो । 

इलाम उद्योग वाणिज्य संघ कार्य समिति सदस्य श्री विष्टले अकबरे, छुर्पी र ध्युमा व्यवसायीहरु विच अवस्थ्य प्रतिस्पर्धाले बर्षेनी बजार गुम्दै गएको बताउनु भयो राँके क्षेत्रबाट चाउचाउ कम्पनीहरुले गतबर्ष उल्लेख्य मात्रामा माग गरेको अकबरे खुर्सानीको गुणस्तर कायम गर्न नसक्दा यो बर्ष करोडौको व्यापार गुमेको वताउनु भयो भारतीय क्षेत्रबाट आउने अकबरे खुर्सानी मिसावट गरेर बेच्नाले रैथाने खुर्सानी ओझेलमा परेको बताउनु भयो । ग्रिन सिटी ललीपप इलामकी संचालक दीपा गुरुङले आयात गरिएका डेरी चकलेट,क्याटवरी महीनौ सम्म खान योग्य हुने हाम्रा ललीपप लगायतका उत्पादनहरु किन नहुने भनि प्रश्न गर्नु भयो । 

इलाम उद्योग वाणिज्य संघका महासचिव हेमन्त गौतम र सूर्योदयन उद्योग वाणिज्य संघका महासचिव तोया भट्टराईले  छुर्पी र अकबरे खुसार्नीका व्यवसायिहरुले भोग्नु परेको समस्यालाई सम्बन्धित निकायमा पुगोस भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । इलाम र सूर्योदय नगरपालिकामा सम्पन्न भएको कार्यक्रमलाई उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालु र सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले अध्यक्षता गर्नु भएको थियो । इलाम र सूर्योदय नगरपालिका क्षेत्रका  एक दर्जन डेरी तथा अकवरे खुर्सानी उद्योगको अनुगमन गरिएको उत्त कार्यक्रममा पाँचथर र इलामका छुर्पी र अकबरे खुर्सानीका उत्पादन प्रशोधन तथा वितरण कर्ताहरुको सहभागिता रहेको थियो ।          


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment