समाज सुधारक महागुरु फाल्गुनन्दको १३८औँ जयन्ती मनाइँदै

२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौं । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ ।
समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।
किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो । किरात समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उनको योगदानको कदर गर्दै किराती समुदायको बसोवास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोवास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।
राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेका छन् ।
किरातीहरुलाई अहिंसा र विश्वबान्धुत्वको महान् ज्ञान प्रदान गर्नुहुने महागुरु फाल्गुनन्दले विसं १९८८ साल वैशाख २५ गते दश लिम्बु र १७ थुमका वरिष्ठ व्यक्तिहरुलाई पाँचथरको लेबे्रकुटी भन्ने स्थानमा भेला गराएर दश बुँदे ‘सत्य हाङ्मा मुचुल्का’मा सहीछाप गराउनु भएको थियो । त्यही ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’लाई फाल्गुनन्दको मुख्य सन्देशको रुपमा लिइने गरिएको छ ।
सोही धर्म मुचुल्कामा मदिरा, बली प्रथालगायतलाई निषेध गर्ने र किरातीहरुलाई अति तडकभडकयुक्त बिहे संस्कारबाट जोगाउने लगायतका सामाजिक सुधारका नयाँ नीतिहरु समावेश गरिएका छन् ।
उनले नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर लैङ्गिक समानताको वकालत गरेका थिए । समाज सुधारक र मुन्धुमका संरक्षणकर्ता फाल्गुनन्दको जन्म अति गरीव परिवारमा आमा हंशमति र बुवा जगनबाज लिम्बुको कोखबाट साहिला सन्तानको रुपमा भएको थियो । उनी आठ वर्षकै उमेरमा ज्ञानी र ध्यानी भएका थिए ।
न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उनी बेलायती फौजमा फाल्गुनन्दको नामबाट भर्ती भएका थिए । बेलायती सेनामा केही वर्ष काम गरेका फाल्गुनन्दले मारकाट र लडाइँ झगडा नराम्रा कुरा हुन् भन्ने सोचेर जागीरबाट राजीनामा दिई धार्मिक सुधार अभियान चलाए ।
यस क्रममा उनी भारत र भुटानसम्म पुगेको बताइन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment