पाँच वर्ष पुरानो युएसबंगलाकै नियती पोखरामा दोहोरियो, एयर ट्राफिक कन्ट्रोलरदेखि यति एयरमाथि प्रश्नै प्रश्न


काठमाडौं । २०७४ फागुन २८ गते अपरान्ह बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला एयरलाइन्सको जहाजले काठमाडौंस्थित धावनमार्गमै गम्भिर दुर्घटनामा पर्यो । ०२ मा टच डाउन गर्नुपर्ने जहाज २० धावनमार्ग खोज्दै कहिले भक्तपुर त कहिले काठमाडौंमा फन्को मारी रह्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर अलिकति मात्रै ध्यान दिएको भए युएस बंगलाको उक्त जहाज सजिलै अवतरण गराउन सकिन्थ्यो । अन्ततः फागुन २८ नेपालको हवाई इतिहासमा कालोदिन सावित बनेको थियो ।

फागुन २८ कै नियती हिजो पोखरामा दोहोरिएको छ । नजिकै दुई वटा सुविधा सम्पन्न धावनमार्ग, दुवै धावनमार्ग खाली तर काठमाडौंबाट पोखराको लागि उडेको यति एयर लाइन्सको एटिआर ७२ जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त बन्न पुगेको छ । हिजोको दुर्घटनाले गम्भिर रुपमा एयर ट्राफिक कन्ट्रोलर, नागरिक उड्डयन प्राधिकरण (क्यान), क्यालिब्रेशन फ्लाईटको गुणस्तरियता र यति एयरलाइन्सको प्रशिक्षण दिने र लिने विधिमाथि प्रश्न चिन्ह उठेको छ ।

क) एयर ट्राफिक कन्ट्रोलरमाथि उठेको प्रश्न ?
हिजो विहान १०ः५७ बजे नै यति एयरलाइन्सको ९एन–एएनसी जहाज पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । पोखरा आउँदै गरेको जहाज पोखरा उपत्यका प्रवेश गरिसकेपछि अफ रुटमा उडिरहेको थियो । धावनमार्ग ३० मा अवतरण गर्नुपर्ने जहाजका क्याप्टेन कमल केसीले धावनमार्ग १२ बाट अवतरण गर्ने अनुमति मागेका थिए । अफ रुट हुँदै धावनमार्ग १२ का लागि जाँदै गरेको जहाजलाई एयर ट्राफिक कन्ट्रोलरको वेवास्ताका कारण हिजोको असाधारण क्षति पुगेको स्पष्ट हुन आएको छ । यद्यपि विस्तृत तथ्य स्वतन्त्र छानविनको क्रममा मात्रै आउनेछ ।

सामान्यतया, जहाज अवतरणको क्रममा हरेक कुरा मनिटरिङ गर्नुपर्ने एयर ट्राफिक कन्ट्रोलरले रन वे नै परिवर्तन गर्दा खासै चासो राखेको देखिदैन । जसका कारण यो दुर्घटनामा एयर ट्राफिक कन्ट्रोलरले धेरै प्रश्नको जवाफ दिनुपर्नेछ ।

१) अफ रुटमा उड्दा पाइलटलाई सचेत किन गराइएन ?
२) रन वे नै परिवर्तन गर्दा कारण सोधेर पुनः ३० मै फर्काउन किन चासो दिएनन ?
३) नयाँ तर्फको रन वे मा जाँदा अपनाउनु पर्ने विधिहरुका बारेमा चासो राखिएन ?
४) सर्ट टर्न गर्न खोजेको विषयमा एयर ट्राफिकले किन चासो राखेनन् ?
५) न्यूनतम्् एप्रोचमा नपुगी बीचैबाट जहाज रन वे तर्फ आउदै गर्दा किन चासो दिएनन ?
६) अवतरण गर्न लागेको जहाजको न्यूनतम् गति कति हुनुपर्ने सो भए नभएको किन हेरेनन् ?

ख) जहाजको प्राविधिक विषयमाथिको प्रश्न
आइतबार दोस्रो टिपको लागि काठमाडौंबाट पोखरा जाँदै गरेको यति एयरलाइन्सको ९एन–एएनसी कल साइनको जहाजमा प्राविधिक समस्या थियो कि भन्ने प्रश्न पनि उठाएको छ । सो जहाजले पोखरा जाने क्रममा तनहुँ माथिको आकाशमा पुगेपछि ट्रान्सपोन्डरबाट सूचना आउन छोडेको फ्लाइटराडारको तथ्याङ्कमा देखिएको छ । साथै समय समयमा जहाजको उचाई ७२ फिट र ९९ हजार फिटसम्म पुगेको देखाइएको छ । जुुन गतल सूचना ट्रान्सपोन्डरबाट प्रवाह भइरहेको थियो । यद्यपि अन्य सूचांकहरु समेत हुने हुँदा यो विषय खास महत्वपूर्ण भने होइन ।

ग) नागरिक उड्डयन प्राधिकरणको नियमनमाथि प्रश्न
आइतबार पोखराका लागि जहाज उडाइरहेका क्याप्टेन कमल केसीले प्रशिक्षार्थी पाइटल अञ्जु खतिवडालाई जहाज अवतरण गर्न सिकाइरहेको तथ्य बाहिर आएको छ । यदि त्यसो हो भने नेपाली आकाशलाई खेलौना बनाउने हालको शैलीलाई क्यानले प्रभावकारी नियमन गर्न नसकेको देखिएको छ । २५ सेप्टेम्वर २०११ मा ललितपुरको कोटडाँडामा बुद्ध एयरको माउन्टेन फ्लाइटको क्रममा काठमाडौंस्थित विमानस्थलमा फर्कने क्रममा दुर्घटनाग्रस्त भएको थियो । उतिबेला पनि क्याप्टेन जनबुद्ध ताम्रकारले अर्की क्याप्टेन पद्मा अधिकारीलाई जहाजको कमाण्डिङ सिकाउँदै गर्दा यस्तै सर्ट टर्निङमा पखेटा रुखमा ठोक्किएर दुुर्घटनाग्रस्त हुन पुगेको थियो ।

नेपालमा पटक पाइलटले को पाइलटलाई प्रशिक्षण दिँदा दुर्घटना धेरे हुने गरेको छ । आगामी दिनमा यात्रु बाहक जहाहमा पाइलटलाई प्रशिक्षण दिन नपाइने स्पष्ट र कडा कानुनी व्यवस्था गर्न क्यान पटक पटक चुक्दै आएको छ । क्यानमाथि उठेका प्रश्नहरु

१) युएस बंगला एयरको दुर्घटनामा एयर ट्राफिकको त्रुटी देखिएपछि नेपालको एयर ट्राफिकको क्षमता बृद्धिमा किन ध्यान दिइएन ?
२) ककपिटभित्र पाइलट र को पाइलटको लागि लागू हुने कडा नियम किन बनाइएन ?
३) कुनै पनि उडान र अवतरण परिक्षण गर्नुअघि क्यानलाई अनिवार्य रुपमा जानकारी हुनुपर्ने र कडा नियमन हुनुपर्ने व्यवस्था किन लागू गरिएन ?
४) यात्रु बाहक जहाजमा पाइलटलाई प्रशिक्षण दिँदा हुने जनधनको क्षतिबारे क्यान सधैं मौन किन रहँदै आयो ?

घ) यति एयर लाइन्समाथि उठेको प्रश्न
यति एयर लाइन्स लगातार र श्रृंखलाबद्ध दुर्घटना हुने हवाई कम्पनीको रुपमा परिचय बनाउँदै गएको छ । जुन उसको स्थायित्वको लागि समेत आगामी दिनमा समस्या पर्न सक्नेछ । दक्ष, अनुशासित र गाइडलाइन पूर्ण रुपमा फलो गर्ने पाइलट, गुणस्तरीय जहाज र समय तालिकामा यति एयर लाइन्सले सधैं सम्झौता गर्दै आएको छ । जुन उसको लागि समेत भविष्यमा गम्भिर समस्या बन्न सक्नेछ ।

घटना विवरण अनुसार जहाजका क्याप्टेन केसीले प्रशिक्षार्थी पाइलट अञ्जु खतिवडालाई प्रशिक्षार्थीको रुपमा अन्तिम उडान गर्दै थिए । जम्मा उनले नेपालमा १०० घण्टा मात्रै उडान भरेको देखिएको छ । पाइलट हुनको लागि १५०० घण्टा उडान अवधी हुनै पर्ने व्यवस्था छ । तर, प्रशिक्षार्थी पाइलटलाई चाँडो चाँडो सिकाएर चाँडै जहाज सुम्पने यति एयर लाइन्सको नीति समस्यारहित भनेर भन्न मिल्ने अवस्था छैन ।

१) जहाजले फाल्ने तथ्याङ्क गलत हुँदा हुँदै जहाज थप परिक्षण नगरी उडायो ?
२) पाइलट प्रशिक्षणको क्रममा यति एयरलाइन्सले धेरै क्षति व्यहोरेको विगतको तथ्याङ्क हुँदा हुँदै किन त्यसलाई सुधार गरिएन ?
३) हिजो नै विहानको पहिलो उडान भन्दा फरक रुटमा जहाज उड्दा उड्दै किन सम्पर्क गरेर विस्तृत विवरण लिन चाहेन ?

घ) क्यालिब्रेशन फ्लाईटमाथि उठेको प्रश्न
हिजो दुर्घटनाग्रस्त बनेको यति एयर लाइन्सको जहाज अवतरण गर्न नयाँ विमानस्थल प्रयोग भएको थियो । नयाँ विमानस्थलको क्यालिब्रेशन फ्लाईट गर्ने कम्पनी माथि गम्भिर प्रश्न चिन्ह उठेको छ । एरो थाई विमानले १५ दिन लगाएर कराडौं खर्च गरेर गरिएको क्यालिब्रेशन फ्लाईटमाथि प्रश्न चिन्ह उठेको हो । सोही कम्पनीले गौतमबुद्ध विमानस्थलको समेत क्यालिब्रेशन फ्लाईट गरेकोले अब उता समेत शंकाको दृष्टिले हेर्नुपर्ने भएको छ ।

नेपालका केही दलाल र माफियाहरुले सेटिङमा करोडौं रुपैयाँ कमिशन लिई थाईल्याण्डको गुणस्तरहिन कम्पनीमार्फत क्यालिब्रेशन फ्लाईट गराइएको तथ्य हिजो भएको दुर्घटनाले स्पष्ट पारेको छ । विमानस्थलमा अवतरणको क्रममा कति गतिमा कति मात्रामा घुमाउन पाइन्छ भन्ने कुराको निर्धारण क्यालिब्रेशन फ्लाईटकै क्रममा निर्धारण गरिएको हुन्छ । त्यसैले हिजो यतिको जहाज अफ रुटमा उडान भर्नु तथा सर्ट टर्निङमा आउँदा हुनुपर्ने न्यूनतम स्पीड समेत नहुनुमा क्यालिब्रेशन फ्लाईटले उक्त समस्या ट्रेस आउट गर्र्न नसक्नु भन्ने देखिएको छ ।

-मुख्य तस्विर आज प्रकाशित कान्तिपुरबाट साभार गरिएको हो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment