विद्यार्थी कुट्ने प्रधानाध्यापक पक्राउ

१० माघ २०७९, मंगलवार


तनहुँ । यहाँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले शर्तपालन नगरेको भन्दै प्रअ थापाले उनीहरुरूलाई कुटपिट गरेका हुन् । उक्त होस्टलमा बसेर पढ्दै आउनु भएकी भीमाद नगरपालिका–४ बरण्डाँडा निवासी लिलामाया आलेलाई सजाय दिने क्रममा कुटपिट गर्दा घाइते हुनुभएको थियो ।
लठ्ठीले हान्दा चोट लागेर घाइते भएकी छात्राको बेलचौतारास्थित जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचारपश्चात घर फर्किएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामप्रसाद अर्यालले जानकारी दिनुभयो ।
आफ्नै छोराछोरी सम्झेर राम्रोसँग पढ्नु भन्ने हेतुले सामान्य कुटपिट गरेको प्रअ थापाको भनाइलाई उद्धृत गर्दै निरीक्षक अर्यालले बताउनुभयो । अन्य विद्यार्थी अवस्था सामान्य रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । होस्टेलमा बसेर अध्ययन गरेका विद्यार्थीको लिएको ‘टेस्ट’ परीक्षामा अधिकांश विद्यार्थीले सही उत्तर नलेखेपछि सजाय स्वरुप पिटेको स्वीकार प्रअ थापाले गर्नुभएको निरीक्षक अर्यालले जानकारी दिनुभयो ।
घाइते विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट निकाल्नुपर्ने माग गर्दै विद्यालय परिसरमा दबाब दिएका थिए । घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीमाथि पनि अभिभावकले मदिरा सेवन गरी अराजकता मच्चाउन खोजे पनि प्रहरीले संयमता अपनाइएको उहाँले बताउनुभयो ।
गणित विषयको परीक्षामा अधिकांश विद्यार्थीले राम्रो नतिजा नल्याएपछि एक हप्ता अघिको शर्त पूरा नगरेको भन्दै प्रअ थापाले पिटेको जानकारी पाएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख बाबुराम गैह्रेले जानकारी दिनुभयो । कुटपिट गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment