इलामको वायु प्रदूषणको अवस्था जोखिमपूर्ण


इलाम १८ माघ: विभिन्न कारणले हावा दूषित हुँनेगरेको कारण इलामको वायु प्रदुषण दैनिक बढिरहेको पाईएको छ । भारतीय सीमाक्षेत्र नजिकै हुनु, कृषिमा प्रयोग हुने रासायनिक विषादी, फोहोर डढाउन प्रयोग गरिने आगो र सवारी साधनलगायतका कारण वायु प्रदूषण हुनेगरेको हो ।
    इलाम उद्योग वाणिज्य संघस्थित अमेरिकी कर्नरमा राखिएको वायु प्रदूषण मापक यन्त्रले यहाँको वायु प्रदूषित भइरहेको देखाएको छ । करिब १० मिटर वरिपरिको मात्रै मापन गर्नसक्ने यो यन्त्रले इलामको वायु प्रदूषणको अवस्था जोखिमपूर्ण देखाएको क्लिन इनर्जी नेपालकी कार्यक्रम अधिकृत अञ्जु कोइरालाले जानकारी दिइन् । उनले विश्वका ९९ प्रतिशत मानिस वायु प्रदूषणको खतरामा रहेको विवरण प्रस्तुत गरिन् । निम्न आय भएको देशका करिब ७० लाख मानिसको हरेक वर्ष वायु प्रदूषणकै कारण मृत्यु हुनेगरेको तथ्यांक छ । ‘नेपाल विश्वमै वायु प्रदूषणमा भारतपछि दोस्रो स्थानमा देखिन्छ,’ उनले भनिन्, ‘मानिसले नचाहेर पनि वायु प्रदूषणको शिकार हुनुपर्ने भएकाले सबैको सहकार्यले मात्रै प्रदूषण नियन्त्रण गर्न सकिन्छ ।’ वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजारको मृत्यु भएको र यसमा ५ वर्षमुनिकाको संख्या १० प्रतिशत रहेको पनि कोइरालाले जानकारी दिइन् ।
    कृषिविज्ञ डा.योगेन्द्रमान श्रेष्ठले वायु प्रदूषणको दर बढिरहेपनि नियन्त्रण गर्ने क्रियाकलाप सञ्चालन हुन नसकेको बताए । ‘कुनै काम गर्न आर्थिक दायित्व कसले लिने भन्नै नै अन्योल हुँदोरहेछ,’ उनले भने, ‘यही कारणले वायु प्रदूषण नियन्त्रणमा तीनै तहका सरकारका कुनै योजना बन्न सकेका छैनन् ।’ उनले नेपालभित्र प्रदूषणको अवस्था ठूलो नभएपनि सीमा क्षेत्रका सहरले यहाँको वायु प्रदूषण गराउने गरेको बताए । ‘मेरो अध्ययनले चाहिँ नेपालले आफैं चाहिँ ठूलो वायु प्रदूषण गरेको छैन,’ उनले भने, ‘विराटनगर, वीरगन्ज र काठमाडौंमा बढी प्रदूषण छ । सीमाका बजारमा बढी छ ।’
    इलाम नगरपालिकाको वातावरण शाखा प्रमुख लुना खतिवडाले इलाम नगरले सरसफाइ र प्रदूषण नियन्त्रणको प्रयास गरेको बताइन् । उनले नगरले विपद व्यवस्थापन ऐन जारी गरेको, विपद् व्यवस्थापनका लागि आकस्मिक कोष व्यवस्था, पालिकास्तरीय र वडास्तरीय विपद् व्यवस्थापन समिति गठन भएको बताइन् । वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, संक्षिप्त वातावरणीय अध्ययन  तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि बनेको पनि उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment