झापाका जयनारायणले एक करोडको निजी लगानीमा बनाए ९ तले भ्यूटावर

२६ माघ २०७९, बिहीबार


झापा । विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण भएको छ ।
शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गरेको श्रीजय ड्रिमल्याण्ड पार्कमा रु एक करोड लगानीमा भ्यूटावर बनाएका हुन् ।
झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र पार्कले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय विजय बराल बताउँछन् ।
चार दशकअघि जिल्लाकै पहिलो कनकाई अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गरेको शिक्षासेवी ढुङ्गाना पछिल्लो समय पर्यटकीय पार्क निर्माणमा जुटेका हुन् ।
सो पार्कमा लिची, आँप, अम्बालगायतका विभिन्न प्रजातिका फलफूलका बोट हुर्किएका छन् । घुमफिरका लागि आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन् ।
ढुङ्गानाले विगत छ वर्षेदेखि पार्क निर्माण सुरु गरेका हुन् । “मलाई पार्कमा पर्यटकको घुइँचो लगाएर पैसा कमाउला भन्ने छैन”, उनले भने, “समाजलाई शिक्षा दिने र पर्यावरणलाई स्वच्छ बनाउने सोचले ग्रीन पार्कको परिकल्पना गरेको हुँ ।”
उनले पार्कभित्र निर्माण गरेको नौतले भ्यूटार एक सय नौ फिट अग्लो छ । जहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ । टावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी भइरहेको उनले बताए ।
पार्कको औपचारिक उद्घाटन हुन बाँकी छ । तर आन्तरिक पर्यटक भने घुम्न आउन थालिसकेको उनले बताए । पार्कमै सेमिनार र वनभोज कार्यक्रम गर्न सकिने स्थानको समेत व्यवस्था गरिएको छ । “आफूसँग भएको नगद र बैंकबाट ऋणस्वरुप लिएको करिब रु तीन करोड खर्च भइसक्यो”, उनले भने, “अझै कति खर्च हुन्छ, लेखाजोखा छैन ।”
सञ्चालक ढुङ्गानाले पार्कमा स्विमिङ पुल, रिसोर्ट, फुटसलसमेत बनाउने तयारी रहेको जानकारी दिनुभयो । पार्कमा प्रत्येक वर्ष ‘लिची फेस्टिबल’ गरिँदै आएको छ । लिचीको बोटमा आफूखुसी टिपेर ताजा फल खान फेस्टिबलमा टाढादेखि पर्यटक आउने गर्छन् ।
फेस्टिबलमा बच्चादेखि ज्येष्ठ नागरिकसम्मले रु १०० तिरेर आफैँ बोटमा टिपेर पेटभरि लिची खान पाइने व्यवस्था गरिएको हुन्छ ।
अमेरिकाको बोस्टनलगायतका स्थानमा घुम्न जाँदा त्यहाँ ‘एप्पल फेस्टिबल’मा सहभागी भएको अनुभवका आधारमा आफूले यस्तो प्रयास गत वर्षदेखि सुरु गरेको उहाँले बताउनुभयो । उनका अनुसार बगानमा यतिबेला बम्बई, मुजफ्फरपुर, कलकत्तिया, मेकिलन आदि जातका लिची छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments: