बदलियो समिकरण, धरमरमा प्रदेश सरकारहरु

१४ फाल्गुन २०७९, आईतवार


काठमाडौं । एमाले–माओवादी गठबन्धनबाट प्रधानमन्त्री भएका प्रचण्डले सत्ता समिकरण बदल्दै कांग्रेसलाई राष्ट्रपति बनाउने निर्णय गरेपछि पुनः सत्ता संकट चुलिएको छ ।
कांग्रेसलाई चक्मा दिँदै एमालेको काँध चढेर प्रधानमन्त्री भएका प्रचण्डले दुई महिनामै कोर्ष बदलेपछि केन्द्रदेखि प्रदेश सरकारहरु पनि जोखिममा छन् ।
लोकतन्त्र स्थापनापछि पनि सरकारले काम गर्न नसकेको भन्दै आलोचना हुँदै गर्दा २०७४ मा एमालेले स्थायी सरकारको राग अलाप्यो । स्थायी सरकारको नारा दिएर चुनावी मैदानमा उत्रिएको बाम गठबन्धनले झण्डै दुई तिहाइ मत हासिल गर्यो ।
चुनावपछि एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बन्यो । तर नेकपा धेरै समय टिक्क सकेन । राजनीतिक अस्थिरता उत्पन्न भयो । केन्द्रदेखि प्रदेशसम्म सत्ता फेरबदलको रस्साकस्सी चलिरह्यो ।
अहिले त्यही परिस्थिति पुनः दोहोरिएको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डले समिकरण बदल्दै कांग्रेसलाई राष्ट्रपति बनाउने निर्णय गरेपछि परिस्थिति उल्टिएको छ ।
जसका कारण प्रदेश सरकारहरु पनि ढल्ने अवस्थामा पुगेका छन् । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले नेतृत्वमा बनेको सरकार जोखिममा परेको छ ।
प्रदेश १ मा
नेकपा एमाले ४० सिट
नेपाली कांग्रेस २९ सिट
नेकपा माओवादी केन्द्र – १३ सिट
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) – ६ सिट
नेकपा (एकीकृत समाजवादी) – ४ सिट
र, जनता समाजवादी पार्टी (जसपा) – १ सिट रहेको छ ।
९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सिट आवश्यक पर्छ । माओवादी केन्द्रबाट सभामुख रहेकाले नयाँ समिकरण बन्दा न्यूनतम आवश्यक बहुमत पुग्दैन भने एमालेलाई राप्रपाले साथ दिँदा एमालेलाई पनि बहुमत पुग्ने देखिदैन ।
यता, एमालेकै मुख्यमन्त्री रहेको गण्डकी प्रदेशमा पनि केन्द्रको असर पर्ने निश्चित छ ।
गण्डकी प्रदेशमा
६० प्रदेशसभा सदस्य रहेको
नेपाली कांग्रेस – २७
नेकपा एमाले – २२
नेकपा माओवादी केन्द्र -७
राष्ट्रिय प्रजातन्त्र पार्टी – २
नेपाल समाजवादी पार्टी – १
र, स्वतन्त्र १ सिट रहेको छ । नयाँ समिकरणअनुसार सरकार गठन हुँदा कांग्रेस, माओवादी र बाबुराम भट्टराई नेतृत्वको नेसपाको ३५ सदस्य हुने भएकाले एमाले नेता खगराज अधिकारी नेतृत्वको वर्तमान सरकार ढाल्न काफी छ ।
एमाले नेतृत्वको लुम्बिनी प्रदेशमा पनि नयाँ समिकरणको प्रभाव पर्ने देखिएको छ ।
लुम्बिनी प्रदेशमा
नेकपा एमाले – २९
नेपाली कांग्रेस – २७
नेकपा माओवादी केन्द्र – ९
नागरिक उन्मुक्ति पार्टी – ४
राप्रपा – ४
जसपा – ३
लोसपा – ३
जनमत पार्टी – ३
स्वतन्त्र – ३
नेकपा एस – १
राष्ट्रिय जनमोर्चा -१ सिट रहेको छ ।
८७ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री छन् । नयाँ गठबन्धनको सिट संख्या जोड्दा ५१ सदस्य पुग्ने भएकाले पनि सरकार भत्किने सम्भावना छ ।
उता, एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार भने यसअघि नै विश्वासको मत लिन नसकेपछि भत्किएर ठूलो दलको हैसियतमा कांग्रेसको सरकार गठन भएको छ ।
कांग्रेस सरकारले पनि विश्वासको मत नपाउने अवस्था बनिरहेकाबेला नयाँ समिकरण कांग्रेसलाई राहत दिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment