इलामका कमलबहादुरकाे ७० वर्षको उमेरमा पनि सडककै भर


 ९ चैत्र २०७९, बिहीबार


  • भगीरथ भण्डारी,
इलाम । इलामको रोङ गाउँपालिका –३ चामेटारका ७० वर्षीय कमलबहादुर खवासको दैनिकी राजमार्गसँग जोडिएको छ । २०५२ सालदेखि नै राजमार्गमा साग बेच्दै आएका खवासको राजमार्ग सँगको सम्बन्ध नङ र मासुको झैँ बनेको छ ।
उनी सुत्न मात्र घर जान्छन् । दैनिक राजमार्गमा पर्यटक र ग्राहकको पर्खाइमा बसेका खवासको उमेर ७० वर्षको भयो । उमेरले डाँडो काटे पनि उनीमा जाँगर हराएको छैन । एक मुठाको पचास पैसा हुँदा देखि राजमार्गको छेउमा बसेका कमल अहिले पनि त्यही राजमार्गमा छन् । सधैँ एक घण्टाको बाटो धाएर व्यापार गर्न आउने खवास ७० वर्षको हुँदा पनि त्यो बाटो हिँड्न छोडेका छैनन् ।
रोङ गाउँपालिकाको पाथीभरा र त्यसैमा रहेको हाँसपोखरी छेउमा भेटिन्छन् –कमल खवास । उमेरले ७०, सेतै फुलेको कपाल, त्यसमाथि ढाका टोपी–यो उनको परिचय हो । चार ओटा बाँसका खम्बा, प्लास्टिकको छहारी, अगाडि टेबल । त्यसमा फर्सीका चाना, साग, टमाटर र अदुवा । उनको यो जाँगर तन्देरी झैँ देखिन्छ । बिहान सबेरै झोलामा ओखती र तरकारी बोकेर एक घण्टाको पैदल हिँड्दै राजमार्गतिर निस्कने खवास बेलुका पनि त्यही बाटो, त्यति नै समयमा बास बस्न घर पुग्छन् ।
झोलामा बोकेर लगेको आफ्नो सामान राजमार्गमा हिँड्ने यात्रुलाई बेचेर आफ्नो दैनिकी चलाइरहेका छन् –उनी । उनको व्यापार कुनै बजारमा होइन, राजमार्गमा यात्रा गर्ने यात्रुको प्रतीक्षामा हुने गरेको छ । व्यापार गरेर तरकारी बेचेका पनि होइनन्। आफ्नै बारीको अर्गानिक तरकारी बेच्न राजमार्गमा आउँछन् उनी । गाउँ–गाउँमा उत्पादन हुने तरकारी बजार नपुग्दा खेर गइरहेको छ, तर राजमार्गमा निकाल्ने हो भने बेच्न सकिँदो रहेछ भन्ने उदाहरण बनेका छन् खवास । तरकारी सँगै जडीबुटी समेत बेच्ने गरेका खवास दैनिक हजार पन्द्र सयसम्मको बिक्री हुने बताउँछन् । उनले तरकारी सँगै खनक्पा, सिलटिम्मुर जस्ता जडिबुटी पनि बेच्ने गरेका छन् । २०११ साल मंसीरमा जन्मिएका खवासले घरमा बाख्रा पालन र तरकारी खेती गर्ने गरेको बताउँछन् । तर काम गर्ने मान्छे नपाउँदा समस्या भएको उनको भनाइ छ ।
इलाम जिल्ला पर्यटनको हिसाबले चिनिए पनि यहाँको आम्दानीको मुख्य स्रोत कृषि नै हो । यहाँका अधिकांश मानिसको घर कृषिकर्मले चलेको छ । तर उत्पादन भएका सबै बस्तुले बजार पाउन सकेको छैन । सरकारले गाउबस्तीका उत्पादनलाई बजारसम्म ल्याउनु पर्ने खवास बताउँछन् । रोङका योगेश चाम्लिङ भन्छन् – कमल खवासले दैनिक गरेको मेहनत रोङ गाउँपालिकाका किसानहरूमा उदाहरण बनिएकोे छ । अहिलेको समयमा ७० वर्षमा यसरी काम गर्ने कमै मात्र हुने भन्दै उनले दैनिक हिडाइँले उनको स्वास्थ्य र आत्मबल बलियो बनेको बताए ।
यता रोङ गाउँपालिकाले पालिकाका कुनाकन्दरामा उत्पादन भएको कृषिजन्य वस्तुलाई बजार पु¥याउन योजना नै बनाएर लागेको जनाएको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो सुवासले रोङभरि उत्पादन गरेको कृषि उत्पादनलाई प्रवद्र्धन गर्दै पालिकाले स्टल बनाएर किसानका उत्पादनलाई सिधै उपभोक्तासँग पु¥याउने र उत्पादनको मूल्य किसानले सिधा पाउनु पर्छ भनेर योजना नै बनाएर काम गरिरहेको बताए ।
किसानको उत्पादन सिधै उपभोक्तामा पुग्ने वातावरण बनाउँदा किसान र उपभोक्ता दुवैलाई सहुलियत होस् भनेर गाउँपालिकाले योजना अघि बढाएको छ– स्याङ्वोले भने– राजमार्गको छेउमा स्टल बनाएर किसानका उत्पादन उपभोक्ता समक्ष पु¥याउन सकिन्छ भन्ने उदाहरणको पात्र समेत कमल खवास रहेको हुँदा यसलाई छिटो भन्दा छिटो योजना कार्यान्वयनको तयारीमा रहेका छौं । लामो समयदेखि राजमार्गमा बसेर तरकारी बेचिरहेका किसानलाई स्टल बनाएर व्यवस्थित गराउन सकियो र किसानलाई आफूँले उत्पादन गरेर बेच्नका लागि प्रेरित गर्ने हो भने यहाँको उत्पादन बजारमा पु¥याइरहनु नपर्ने स्याङ्वो बताउँछन् ।
रोङ गाउँपालिका मात्र होइन इलाममा मेची राजमार्गमा तरकारी बेचेर जीविका चलाउने किसान धेरै छन् । ती किसानले न कृषिमा अनुदान पाउँछन् न त व्यावसायिक खेती गर्ने तरिका नै । आफ्नो करेसामा आपंmैंले खाने गरी मेहनत गरेर उत्पादन गरेको तरकारी उभारेर दुई चार पैसा हुन्छ कि भन्ने आशामा राजमार्गमा निकाल्ने गर्दछन् । स्थानीय सरकारले त्यसरी खेती गर्ने किसानलाई वीऊविजन, तालिम र उत्पादन गरेका वस्तु बेच्नका लागि बजार बनाइदिने हो भने बिचौलियाले खाने कमिसन किसान र उपभोक्तामा सीमित रहन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment