झापाकाे काँकरभिट्टामा एशियन हाइवे अवरोध खडा गरी भन्सारको चेकजाँच

 २१ चैत्र २०७९, मंगलवार 


झापा । पूर्वी नाका काँकरभिट्टामा चेकजाँचलाई कडाई गरिएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टामा प्रमुखको रुपमा रामप्रसाद पाठक आए लगत्तै एशियन हाइवेमा चेकजाँचलाई कडाई गरेका हुन् ।
मुख्य राजमार्ग (एशियन हाइवे)मा अवरोध खडा गरी यात्रु शाखामा सवारीलाई प्रवेश गराएर चेकजाँच शरु गरेसंगै यात्रुहरुलाई समस्या भएको आवाज उठ्न थालेको छ । भारतबाट आउने यात्रुहरुलाई मुख्य एशियन हाइवेमा चेकजाँच नगरी उत्तरपट्टि यात्रु शाखामा प्रवेश गराई चेकजाँच गर्दा झञ्झटिलो भएको भन्दै उनीहरुले आवाज उठाएका हुन् ।


भारतबाट नेपाल प्रवेश गर्ने चारचक्के सवारी साधनलाई र नेपाल र भारतका सबै यात्रुहरुलाई उत्तरपट्टी भन्सार कार्यालयको हाताभित्र प्रवेश गराई त्यहाँ चेकजाँच शुरु गरेसंगै स्थानीयले मेची भन्सार कार्यालयले अनावश्यक रुपमा दुःख दिएको गुनासो गरेका छन् । अहिले चेकजाँचका नाममा मेची भन्सार कार्यालयले एशियन हाइवेको सट्टा देवकोटा पार्क निकाल्ने गरी यात्रु र सवारीलाई सञ्चालन गराइँदै आएको बताइएको छ ।
मुख्य राजमार्ग नाका बन्द गरी यात्रु शाखामा प्रवेश गराएर चेकजाँच गर्दा यात्रुहरुलाई समस्या भएको भन्दै जनप्रतिनिधिहरुले समेत त्यसप्रति चासो राखेका छन् । भन्सार प्रमुख पाठकको त्यस कार्यप्रति उनीहरुले आपत्ति जनाएका छन् ।
यसअघि हाइवेमै चेकजाँचको व्यवस्था रहेकोमा पाठकले नयाँ नियम लागू गरेको जनप्रतिनिधिको भनाइ छ । यात्रु शाखामा यात्रुहरुलाई प्रवेश गराई चेकजाँच गर्ने नयाँ नियम लागू गरिएपछि धेरै समय लाग्ने र घुमेर जानुपर्ने झञ्झट भएको स्थानीयको गुनासो छ । यात्रु शाखामा थालिएको चेकजाँचप्रति यात्रुहरुले आपत्ति जनाएको चेकजाँचमा खटिएका सुरक्षाकर्मीहरु नै बताउँछन् ।
यसअघि नेपालतर्फ मेची पुलमा सशस्त्र प्रहरीले चेक गरिसकेपछि भन्सार कार्यालय छेउ बाटोमा प्रहरीसहित भन्सार कर्मचारीहरुले चेकजाँच गर्ने गरेका थिए । अहिले तीनचक्के सवारीसाधनहरु हाइवेबाट सञ्चालन भइरहेका छन् ।
भन्सार प्रमुख पाठकले तीन चक्के सवारीसाधनलाई पनि हाइवेबाट चल्न नदिने भएका छन् । उनले दक्षिणपट्टिबाट तीन चक्के सवारीसाधन जाने गरी व्यवस्था मिलाउन थालेका छन् । आफूहरुको प्रमुख दायित्व नै राजश्व संकलन हो उनले भने – हामीले कसैलाई दुःख दिने नियतले यो काम गरेका छैनौं, यो हाम्रो कर्तव्य हो । यसमा कसैले आपत्ति जनाउनुपर्ने कुरै छैन ।
यात्रुहरुलाई दुःख दिने नियतले नभई राज्यको लागि राजश्व बढीभन्दा बढी संकलन गर्ने उद्देश्यले सो नियम बनाएको हो भन्सार प्रमुख पाठकले भने – अहिलेसम्म हामीलाई यो नियमले समस्या भयो भन्दै कोही आउनु भएको छैन । यो सबै अनावश्यक विषय मात्रै हो ।
यता प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आफूलाई समेत सो विषयमा गुनासो आएको र आफूले अनुगमन समेत गरेको बताएका छन् । उनले भन्सार विभागबाट केही निर्देशन आएर निर्देशन बमोजिमको कार्य गर्दा यात्रुलाई कठिनाई भए पनि भन्सारले गर्ने काममा आफूहरुले समन्वय मात्रै गर्ने बताएका छन् । एशियन हाइवे नै रोकिएको छैन प्रमुख जिल्ला अधिकारी पोखरेलले भने चेक जाँचमा चाँही कडाइ भएको चाँहि हो ।
यता मेची नगर प्रमुख गोपाल वुढाथोकीले हाइवे बन्द नगर्न र जनसाधारणलाई दुःख नदिन आफूले भन्सार प्रमुख पाठकलाई आग्रह गरिसकेको बताएका छन् । झापा क्षेत्र नं. १का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेकपा एमालेका नेता अग्नि खरेलले पनि भन्सार प्रमुख पाठकको त्यस कार्यप्रति आपत्ति जनाएका छन् ।
भारतबाट आएका यात्रु सवार गाडीलाई हाइवेमै चेकजाँच गर्नुपर्ने यदि कुनै आशंका भए या भन्सार गर्नुपर्ने सामान बोकेको भए मात्र यात्रु शाखामा प्रवेश गराउनुपर्ने सर्वसाधारणको माग छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment