एक महिनाको सेवा सुविधा कटाएर लम्पी रोगको खोप लगाउँदै इलाम नगरपालिकाका


इलाम, २६ बैशाखः  इलाम नगरपालिकाले जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा कटाएर गाईमा देखिएको पक्स समूहको काप्रीपक्स भाइरसबाट हुने लम्पी स्किन रोगका विरुद्ध खोप अभियान सुरु गरेको छ। दुग्ध उत्पादनका लागि कोशी प्रदेशकै अगुवा जिल्लाको रूपमा रहेको इलाममा लम्पी रोगका कारण गाईको मृत्यु बढेपछि इलाम नगरपालिकाले नगरका १२ वटै वडाका स्वास्थ्य पशुलाई लम्पी रोगविरुद्धको खोप अभियान सुरु गरेको नगर प्रमुख  केदार थापाले पत्रकार भेटघाटमा बताए।
इलाम नगरपालिकामा अहिलेसम्ममा २३ वटा गाई मरेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए। जोडनबाट झिकाएको लम्पी सिल्ड एन नामको खोप नगर क्षेत्रका १० हजार पशुमा दिनेअभियान सुरु गरेको दुलालले बताए। वैशाख २० गते मेयर केदार थापाको अध्यक्षतामा बसेको नगरपालिकाको आकस्मिक बैठकले मेयर, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसम्मको एक महिनाको सेवा सुविधा कटाएर खोप खरिद गर्ने निर्णय गरेको थियो।
प्रवक्ता दुलालले भने, ‘दुई चरणमा गरेर सबै गाईलाई खोप हान्न सुरु गरेका छौं, खोप अभियान चलाउन पर्याप्त बजेटको व्यवस्था गरेका छौं।’ दुलालका अनुसार नगरका १२ वडामा सरकारी र निजी पशु प्राविधिकलाई खटाएर अभियान सुरु गरिएको हो।
इलाम नगरपालिकाको गोदक, सोयाक, साङ्रुम्बा, बरबोटे, साखेजुङ, भज्याङ, तिल्नेकनीलगायत सबै वडामा रोगको प्रकोप देखिएको छ। 
साथै पत्रकार भेटघाटमा नगर प्रमुखले स्वास्थ्य पशुलाई लम्पी रोग लाग्न नदिनका लागि प्रयोग गरिएको लम्पी सिल्ड एन नामको खोप विश्वा खाद्य संगठन (एफएओ)बाट समेत प्रमाणित भएको बताए। उनले भने, ‘यो खोपका बारेमा लेखिएका रिपोर्टहरूले पनि यो प्रभावकारी हुने देखाएको छ।’
जिल्लाका ४ नगरपालिका र ६ वटा गाउँपालिकामा रोगको प्रकोप देखिएको जनाइएको छ। दुई महिनामा इलाममा २ सय गाई मरेका छन्। जिल्लाभर ७ हजार ९ सय ४० पशु संक्रमित छन्। झापामा ५० गाई मरेका छन् भने चार हजार ५८५ संक्रमित रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिइन्। उनले भनिन् ‘संक्रमण बढ्दै गएको छ, रोग नियन्त्रणका लागि निजी स्तरबाट पनि कृषकहरूले खोप लगाउन थालेको जानकारी प्राप्त भएको छ।’
यो रोग भैंसीमा भन्दा गाईमा बढी देखिन्छ। गर्मी मौसममा टोक्ने झिंगा, डाँख, लामखट्टे, किर्नाजस्ता किराहरूको संख्या बढी हुने तथा थप सक्रिय हुने सिनज बढेसँगै कोसी प्रदेशका १४ वटै जिल्लामा यो रोगको प्रकोप देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment