पाथीभरा जाने क्रममा झापाका लोकप्रसाद पराजुली बेपत्ता

 २३ बैशाख २०८०, शनिबार 


ताप्लेजुङ,  पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता हुनुभएको छ ।
पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता हुनुभएको हो ।
भरियालाई पिसाब गर्न जाने भनेर निस्किनुभएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उहाँको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो ।
“भरियालाई पिसाब गर्न भनेर निस्किनुभएको रहेछ, निकै समय बितिसक्दा पनि नफर्किएपछि भरियाले यताउति खोजी गर्दा भेटेनन्, त्यसपछि प्रहरीलाई खबर भएको र हिजो बिहानैदेखि प्रहरीको टोलीसहित उहाँका आफन्त र स्थानीयद्वारा खोजतलास भइरहेको छ, मानसिकरूपमा त्यति स्वस्थ नभएको परिवारले बताएका छन्”, प्रहरी प्रमुख लिम्बूले भन्नुभयो ।
झापाबाट यही वैशाख १९ गते श्रीमती, छोरा–बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीमा पुगेर होटलमा बास बस्नुभएको थियो ।
उहाँ हिँड्न नसक्ने भएपछि बिहान करिब ३ बजेपछि भरियामार्फत जानुभएको थियो भने अरु आफन्त हिँड्दै गएका प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment