कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


रौतहट । रौतहटमा कारको ठक्करबाट घाइते भएका एकजनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित पूर्व पश्चिम राजमार्गको मुनलाईट स्कुलअगाडि पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको कारले ठक्कर दिदाँ गम्भीर घाइते भएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ ठाडाटोल बस्ने ४७ वर्षीय शंकर थापा मगरको मंगलबार उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक विमला कठायतका अनुसार बागमति प्रदेश ०१–०२७ च ८१५६ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको ना ६४ प ३४२१ नम्बरको मोटरसाइकल र ना ४३ प ४२८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
उनका अनुसार ठक्करबाट घाइते भएका मोटरसाइकल चालकलाई स्थानीय चन्द्रपुर अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि वीरगन्जस्थित वयोधा अस्पताल लगिएकोमा मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । मृतक थापा मगरको शरीरको बाहिरी तथा भित्री अंगहरुमा चोट लागेको चन्द्रपुर ४ का वडाध्यक्ष रवि राना मगरले जानकारी दिए ।
त्यसैगरी स्कुटरमा सवार चन्द्रपुर ५ बस्ने नितेश कुमार गुप्ताको पनि देब्रे हात भाँचिनुको साथै ढाड, छाति, खुट्टालगायतमा चोट लागेको छ । उनको स्थानीय चन्द्रपुर अस्पतालमा उपचार पश्चात डिश्र्चाज गरिएको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेस मधेस प्रचारप्रसार प्रमुख समेत रहेका घाइते गुप्ताको अनुसार लापरवाहीपूर्व चलाएको कार निकै तिब्र अनियन्त्रित गतिमा आइरहेको कारले सुरुमा मोटरसाइकललाई ठक्कर दिएर उनी सवार स्कुटरलाई ठक्कर दिएको थियो । कार चालक सर्लाहीका रामबाबु रायलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिइ म्याद थप गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment