इलाम, २६ जेठः मोरङको उर्लाबारी-३ नयाँ मंगलबारेमा बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
विहिबार दिउँसो करिव ३ः१० बजे तिर पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व गइरहेको मे १ ख ३०७३ नम्वरको बसले विपरित दिशाबाट गइरहेको प्र-१-०१-०१३ प २९० नम्वरको स्कुटरलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
बसको ठक्करबाट झापाको कमल गाउँपालिकाको वडा नम्वर-२ बस्ने वर्ष ३४ का पवन सुवेदीको घटना स्थलमै मृत्यु भएको हो ।
मृतको शव पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर मंगलबारेमा राखिएको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक बबिन्द्र नेम्वाङले बताएका छन् ।
प्रहरीका अनुसार बसले स्कुटरलाई ठक्कर दिएको स्थानबाट मृतकको शरिर १ सय ३५ फिट पर उछिट्टिएको र मृतक सवार स्कुटरलाई बसले घिसारेर २ सय ९५ फुट पर पुर्याएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ भने प्रारम्भिक अनुसन्धानका क्रममा तिव्र गतिका कारण बसले स्कुटरलाई ठक्कर दिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
दुर्घटना पछि चालकले लापरवाही गरी तिव्र गतिमा सवारी चलाएकोका कारण उर्लाबारी-पथरी सडक खण्डमा दुर्घटना बढेको भन्दै स्थानियले ठक्कर दिने बसमा आगजनी गरेका छन् ।
आगजनीबाट बसमा क्षति पुगेको छ । बसको आगो उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाको दमकलले नियन्त्रणमा लिएका थिए ।
करिब १ किलोमिटरको अन्तरमा पर्ने पथरीशनिश्चरे ०२ को जयचोकमा १० दिनको अन्तरालमा यस्तै सवारी दुर्घटना भएको थियो । सो घटनामा पथरीशनिश्चरे-२ का ५० वर्षे यज्ञ थापालाई बसले ठक्कर दिँदा उनको पनि घटना स्थलमै मृत्यु भएको थियो ।
0 comments:
Post a Comment