युवा संघ बन्यो आक्रामक : दुर्गा प्रसाईँ घर फुटाउने धम्की, हस्पिटल घेराउ


झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेतको कार्यक्रममा भएको तोडफोडपछि पार्टीनिकट युवा संघका कार्यकर्ताहरू आक्रामक देखिएका छन् ।

उनीहरूले दुर्गा प्रसाईँको बीएण्डसी हस्पिटलअगाडि हिजो साँझ चर्का नाराबाजीसहित कोणसभा गरेका थिए भने भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका–६ कमेरोटारस्थित प्रसाईँको घर घेराउ गरेका छन् ।

साँझपख बीएण्डसी हस्पिटल अगाडि युवा संघका कार्यकर्ताहरूले कोणसभा गरेको प्रहरीले जनाएको छ । युवा संघका कार्यकर्ताहरू आक्रामक बन्दा अप्रिय घटना हुनसक्ने खतरा देखिएको छ । भक्तपुर जिल्ला कमिटीका केन्द्रीय सदस्य पुष्पराज श्रेष्ठको नेतृत्वमा करिब १०–१५ जनाको समूहले प्रसाईँको घर घेराउ गरेको हो ।

उनीहरूले प्रसाईँको घर फुटाउने धम्कीसमेत दिएको नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईँले जानकारी दिए । आफू झापा भएको बेला आफ्नो भक्तपुरको घर घेर्न पुगेका युवा संघका कार्यकर्ताले घर फुटाउने धम्की दिएको प्रसाईँले जानकारी दिए । ‘देशमा यतिसम्म अराजक भइरहेको छ । नागरिकको बाँच्न पाउने अधिकार पनि हनन भइरहेको छ । लोकतन्त्रमा कानुन नै यस्तै हुन्छ ?। कसैको घर फुटाउने धम्की दिनु कतिसम्मको हो ? ’ उनले प्रश्न गरे । कानुनभन्दा बाहिर गएर जे–पायो त्यही गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ ।

हिजो एमाले नेता बस्नेतको कार्यक्रममा दर्जनौँ सवारीसाधनमा तोडफोड भएको थियो । तोडफोडमा संलग्न बीएण्डसी हस्पिटलका क्यान्टिन सञ्चालक विक्रम लिम्बू पक्राउ परेका छन् । बस्नेतको कार्यक्रम बिथोल्न पहिचानवादीहरू र प्रसाईँका समर्थकहरू पुगेका थिए । उनीहरूले नै सो तोडफोड गरेको दाबी गरिएको छ । तर, घटनापछि एकले अर्कामाथि दोष थोपर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment