तिहारको छोटो बिदामा घुम्न जाने इलामका उत्कृट १२ गन्तव्यहरु

 

  • बिनय तिम्सीना
इलामः होचाथुम्का डाँडाकाँडाले भरिएको इलामको हरियाली नै इलामको पर्याय हो । बर्षाद कम हुँदै गएपछि खुलेको मौसममा यहाँका चियाबारीसहितको हराभरा डाँडाकाँडाले पर्यटक मन लोभ्याउछ । भौगोलिक बनोट, चिया, नगदेवालीले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृष्यावलोकन, तालतलैया र सिमसार क्षेत्रलगायतले आगन्तुकलाई आनन्दित बनाउने गरेको छ । 
जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, रामसार क्षेत्रमा सूचिकृत माईपोखरी, स्थानीयले संरक्षण गरेर डुङ्गा सञ्चालन र माछापालन गरेपछि रहरलाग्दो बनेको ढापपोखरी, धार्मिक महत्वको गजुरमुखी, सूर्योदय दृष्यावलकनका लागि प्रख्यात पूर्वी अन्तु, सिद्धिथुम्का, थुम्का थुम्कामा चियाबारीले मनोरम दृष्य भएको पानीटार, चियाबारीमा रमेको कन्याम, धार्मिक आस्थाको पाथिभरा, हराभरा सल्लाघारीबीचको करफोक इलामको पर्यटन केन्द्रका मूख्य गन्तव्य हुन् । त्यस्तै नेपालमै पहिलो इलामको चिया बगान, काठैकाठको संरचना भएको इलाम बजार, नारायणथान, माइथान, सिंहबाहिनी सेतीदेवी पनि पर्यटकीय रोजाईमा पर्छन । 
जैविक विविधताले सिंगो इलाम महत्वपूर्ण छ । स्थानीयवासीले पूर्वी नयाँबजार, थुम्के डाँडा, हाँगेथाम, चोयाटार, जौवारी, माबु, माईमझुवाको छिन्तापु, टोड्के झर्ना पश्चिमी माङमालुङ, माङसेवुङ, क्षेत्रलाई पर्यटन प्रवर्धन गर्न जोड दिइरहेका छन् । इलाममा रहेका केहि घुम्नै पर्ने ठाउँहरु यस्ता छन् ।
सन्दकपुरः
उत्तरी सीमावर्ती सन्दकपुर क्षेत्र पूर्वाञ्चलकै प्रमुख गन्तव्य मध्येको स्थल हो । सदरमुकामवाट सन्दकपुरको दुरी करिव ५० किलो मिटर छ । त्यहाँ नेपाल तर्फ व्यवस्थित होटल छन् । भारत तर्फ सरकारी आवास गृह पाइन्छ । तीनहजार छ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुरवाट सगरमाथा, कंचनजंघालगायत नेपाल, भारत र भूटानका थुप्रै हिमाललाई आँखामा कैद गर्न सकिन्छ । सूर्योदय दृष्यावलोकनका लागि पनि सन्दकपुर अब्बल स्थान हो । यो क्षेत्र र धार्मिक र जैविक विविधताले पनि महत्वपूर्ण छ । कन्काई माईको उद्गम स्थल सन्दकपुर क्षेत्रमा नेपालतर्फवाट सडक लगायत पर्यटकीय गतिविधि वढाउने पूर्वाधारको राम्रो व्यवस्था छैन । भारतीय पक्ष्ँले यहाँको भरपुर फाइदा लिएको छ । असोज कात्तिक देखि जेठ महिनासम्म नै सन्दकपुर पुग्ने पर्यटकको लर्को हुन्छ । पश्चिमा पर्यटक र भारतका विभिन्न क्षेत्रवाट यहाँ पुग्नेको लर्को लाग्ने गरेको हो । 
नेपालतर्फवाट सन्दकपुर घुमघामका लागि पर्यटक जाने क्रम बढ्दै गएको छ । चैत बैशाखमा डाँडै ढाक्ने गरि ढकमक्क फुलेको गुराँशले मन लोभ्याउछ । सदरमुकाम इलामवट माईपोखरी माइमझुवा हुदै गोरुवालेवाट सन्दकपुर पुग्न सकिन्छ । त्यस्तै माबुवाट कालपोखरी हुदै पनि सन्दकपुर पुगिन्छ । 
छिन्तापु
इलाम जिल्लाको उत्तरी गाउँपालिका सन्दकपुको रमणिय पर्यटकीय गन्तव्य छिन्तापु यतिवेला ढकमक्क गुँरास सँग रमेको छ । ३२ सय मिटरको उचाईमा रहेको छिन्तापुले महाभारत पर्वत श्रेणी र सिंगलिला पर्वत श्रेणीलाई छुट्याँउदछ । यो क्षेत्र लाली गुराँस, रेडपाण्डा, विभिन्न प्रजातीका पुतलीको अध्ययनका लागि महत्वपूर्ण मानिन्छ । इलाम र पाँचथरको बाटो भएर छिन्तापु पुग्न सकिन्छ ।
इलाम सदरमुकामबाट छिनतापु जानको लागि सन्दकपुर गाउँपालिकाको माइपोखरी माइमझुवा हुँदै जान सकिन्छ यो स्थान सम्म  पुग्नको लागि ३÷४ घण्टाको ट्रेकिङ गर्नु पर्ने हुँछ इलामको माईमझुवाको रातेखोलाबाट र बुधबारेबजारबाट गोरुआले हुँदै यो क्षेत्रसम्म पुग्न सकिन्छ । यो क्षेत्रमा जाँदा बाटो भरी फुलेका लाली गुराँस, चाँप, चिमाल र विभिन बनस्पतीको मनोरम दृष्यले बाटो काटेको पत्तै भई कतीवेला चुचुरोमा पुगिन्न थाहानै पाईन्न । बाटोमा भेटीने पोखरीहरु झनै मनोरम छन् । यस क्षेत्रमा १२ वटा पोखरी छन् घुम्नको लागि रमणिय स्थान छ ८ प्रकारका गुराँस पाईन्छ ।
चुचुरोमा पुगे पछि कञ्चन्जङ्घा हिमाल नजिकै देखिन्छ र अन्य हिमालहरु पनि नजिकै देखिन्छन । यहाँबाट प्रदेश नं. १ का सवै भूभाग देख्न सकिन्छ, त्यस्तै मौसम खुलेको समयमा भारत, भूटान, वङगलादेश, र चिनका भूभागहरुको दृष्य अवलोकन गर्न सकिन्छ ।
माईपोखरीः
इलाम सदरमुकाम देखि १३ किलो मिटर उत्तरमा रामसार क्षेत्रमा सूचिकृत माइपोखरी अवस्थित छ । माइपोखरीमा रैथाने गलैचे, झ्याउ, रुख भ्यागुतो, ठकठके जस्ता दुर्लभ जन्तु र वनस्पति पाइन्छन् भने तीन सय वढी चराका प्रजाती पाइने विज्ञहरु वताउछन् । दुई हजार एक सय २१ मिटरको उचाईमा रहेको माईपोखरीमा दुई हेक्टर जलासय सहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिएको छ । माईपोखरीमा होटलहरु खुलेका छन् । एक किलो मिटर टाढाको देउराली बजारमा पुगेर पनि होटलमा बस्न सकिन्छ । मेची राजमार्गको विव्ल्याँटेवाट ९ किलोमिटर दुरी मध्ये ३ किलोमिटर सडक कालोपत्रे भएको छ । बाँकी सडक अझै पनि स्तरउन्नती हुन नसकेकाले पर्यटकको चाप अपेक्षाकृत हुन सकेको छैन । तर मौसममा सुधार आएपछि खाल्डाखुल्डी पुरेर हिउँद याममा भने सहज बनाउने गरिएको छ । यहाँ पुजापाठसहित घुमघामका लागि आउनेहरुका कारण दैनिक भिडभाड हुन्छ । तिहारपछिको ठुली एकादशीमा यहाँ स्वतस्फूर्त मेला लाग्ने गरेको छ ।  
अन्तुः
पूर्वी अन्तु र समालवुङका बासिन्दाले पटक÷पटक महोत्सव आयोजना गरेर अन्तुलाई पर्यटकीय गन्तव्यकोरुपमा चिनाई सकेका छन् । सूर्योदय हेर्न मूलुककै उत्कृष्टस्थान मानिएको अन्तुमा भौतिक पूर्वाधार विकास देखि पर्यटकको राशोबासो मिलाउन सम्म स्थानीय बासी खट्ने गरेका छन् । लोपन्मूख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, हराभरा चियाबारी, अतिथी सत्कार जस्ता कारणले पनि अन्तुको पर्यटन लोभलाग्दो गरि मौलाएको छ । सातहजार छ सय ३७ फुट उचाईमा रहेको अन्तु पुग्न मेची राजमार्गको फिक्कलवाट १३ किलो मिटर सडक पार गर्नु पर्छ । सडक कालोपत्रे भएकाले अन्तु पुग्न सहज छ । असोजको पहिलो सातादेखि यहाँ भिडभाड बढ्छ । सडकको अवस्था सुधार र अन्तुपोखरीमा डुङ्गा निरन्तर चल्ने हुँदा १२ महिनानै पर्यटकको उपस्थिती हुने स्थानीयले वताएका छन् । त्यहाँ बस्न र खान पेइङगेष्टको अबधारणा अपनाइएको छ ।   
कन्यामः
चियाको पर्याय बनेको कन्याम भनभोज स्थिलले चर्चित छ । असोजदेखि बैशाखसम्म दिनहु बनभोज समुह कन्याम आउने गरेका छन् । कन्याममा शनिवार मात्र दुईसय भन्दा धेरै गाडीमा बनभोज टोली आउने गर्छन् । मेचीराजमार्गले चिरेको कन्याम चिया बगान फिक्कल भन्दा १० किलो मिटर नजिक पर्छ । यहाँ पनि खानबस्नको लागि पेइङ गेष्टको व्यवस्था छ भने नजिकैको फिक्कल बजारमा होटल र लज पाइन्छ । कन्याम, नजिकैको हाँसपोखरी, कुँटीडाँडा, पाथिभरा मन्दिर, करफोक, फिक्कललगायत क्षेत्रमा तराईमा असाध्य गर्मी हुने भएकाले चिसोको आनन्द लिन पर्यटक आउने गरेका छन् । 
ढापपोखरीः
सामूदाय तहको अभ्यासबाट पर्यटकीय गन्तव्य बनेको सफल स्थान हो ढापपोखरी । सन्दकपुर गाउँपालिका ५ जमुनाका बासिन्दाले सिमसार क्षेत्रलाई पोखरीको रुप दिदै डुंगा सञ्चालनमा ल्याएका छन् । १ हजार ७ सय मिटरको उचाईमा रहेको यो पोखरीमा डुङ्गा सञ्चालन थालिएपछि आन्तरिक पर्यटकको ताँती लागेको छ । ५० रोपनी क्षेत्रफलमा फैलिएको पोखरीमा  माछापालन गर्दै फिसिङ गर्ने सुविधा दिने स्थानीयको योजना छ । सन्दकपुर रेडपाण्डा पाइने स्थान हाँगेथाम, चोयाटार, दोबाटे, जिल्लाकै अग्लो टोड्के झरना माइपोखरी, जौवारीलगायतका पर्यटकीय क्षेत्रमा आउने पर्यटकका लागि यो क्षेत्र ट्रान्जिट पोइन्ट बन्नेछ । 
सिद्धिथुम्काः
पश्चिमी सिद्धिथुम्काबासी पनि पर्यटन विकासमा लागेका छन् । सदरमुकाम इलाम बजारवाट २० किलो मिटर पश्चिममा अवस्थित सिद्धिथुम्का डाँडा सूर्योदय र सूर्यास्त तथा हिमश्रिङखला तराईका फाँटलगायतको दृष्यावलोकन गर्न अब्बल छ । ऐतिहासिक खान्द्रुङ गुफा, पञ्चमी बजार, अजम्बरी डाँडा पनि पर्यटकीय महत्वका छन् । यहाँ खानबस्न पेइङ गेष्टलाई आधार मानिएको छ । आठ किलो मिटर टाढाको मंगलवारे बजारमा होटल लजको व्यवस्था छ ।  
माङसेवुङः
किराँत धर्मस्थस्लकारुपमा परिचित माङसेवुङ धार्मिक पर्यटन क्षेत्रकोरुपमा विकास हुँदै गएको छ । धार्मिक भावना बोकेर नै यो क्षेत्रमा पुग्नेहरुको कमि हुँदैन । धर्मगुरु आत्मनन्द लिङदेनको बासस्थान रहेको यो क्षेत्रमा गुरुको जन्मोत्सवको अवसरमा महोत्सव नै संचालन हुने गरेको छ । झापाको दमकवाट करिव २० किलोमिटर उत्तरमा रहेको यो क्षेत्र पुग्न सडकको दुरवास्थाले भने निक्कै कठिन हुन्छ । दमकवाट रतुवाखोला तिरैतिर सडक निर्माणाधिन छ । झापाको विर्तामोडवाट दानाबारी, महमाई हुँदै पनि माङसेवुङ पुग्न सकिन्छ । माइखोलामा पुल निर्माण भइनसकेकाले बर्खायाममा भने सवारीका साधन सञ्चालन हुदैनन् । 
पानीटारः
देउमाई नगरपालिकामा पर्ने पनिटार जानको लागि इलाम सदमुकामबाट मेची राजमार्गको १७ किलोमिटर यात्रा गरेर नेपालटार मंगलबारे सडक हुँदै गाग्रेभञ्ज्याङ सम्मको ११ किलोमीटर बाटोबो यात्र गरेर २ किलोमिटर कच्ची सडक पार गरे पछि एउटा स्वर्गको टुक्रा झैँ लाग्ने सुन्दर ठाउँ पुगिन्छ । इलामको देउमाई नगरपालिकामा पर्ने पानीटार थुम्का थुम्का डाँडामा हरियाली चिया बगनले जो कोहीको पनि मनै लोभ्याउने गरेको छ । पानीटार चियाबारीको थुम्कोहरुमा वसेर इलाम, झापा, मोरङ सुन्सरी र पाँचथरको अवलोकन गर्दै  भारतको दार्जिलीङ, पश्चिम वंगालको अवलोकन गर्न सकिन्छ । त्यस्तै नजिकै रहेकाे झ्याउपाेखरी, अलिमाथि रहेकाे गुफाथुम्की बुधकारेबजार देवीडाँडा लगायतका पर्यटकिय स्थलहरू घुम्न सकिन्छ ।
गजुरमुखीः
पश्चिमी गजुरमुखी धाम धार्मिक आस्थाका कारण महत्वपूर्ण मानिन्छ । सदरमुकामवाट ५० किलोमिटर दुरीमा यो स्थान रहेको छ । मेची राजमार्गको नेपालटारवाट मंगलवारे हुदै गजुरमुखी पुग्न सकिन्छ । मंगलवारेसम्म कालोपत्रे र त्यसउताको सडक ग्राभेल गरिएकाले त्यहाँ पुग्न सहज छ । मनोकांक्षा पुरा हुने विश्वासमा श्रद्धालुको भिड लाग्ने गजुरमुखी धामआशपास होटल खुलेकाले खानबस्नको चिन्ता लिनु पर्दैन । स्थानीयवासीको घर र मंगलवारे बजारका होटल यहाँका बासस्थान हुन् ।
पाटेनागी

पछिल्लो समय पाटेनागी डाँडा पर्यटकीय गन्तव्यको रोजाइमा पर्ने एक पर्यटकीय स्थल बनेको छ । चाँदीझैं टल्किएका हिमाल सूर्योदयको पहिलो झुल्को देखिने पाटेनागी डाँडा इलाम नगरपालि ३, पुवामझुवा र पाँचथरको सिमानामा पर्दछ । शान्त वातावरणले पाटेनागी डाँडा पुगेका मानिसहरु प्रफुल्लित हुने गरेका छन् । तीन हजार मिटरको उचाईमा रहेको यस क्षेत्रबाट चाँदीझैं टल्किएका हिमालको आनन्दसँगै सूर्योदय र सूर्योस्तको मज्जा लिन सकिन्छ । यहाँबाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाँबाट सूर्योदय र साविक पूर्वाञ्चलका धेरै भूभाग नियाल्न सकिन्छ ।
यस ठाउँमा पुग्नको लागि पदमार्गबाट पनि पुग्न सकिन्छ । यस क्षेत्रमा विभिन्न प्रकारका पाहा, जंगली जनावार, फूल र जडिबुटीसमेत पाइने गरेको छ । पाटेनागी आसपास कुहिभिर, नागढुङ्गालगायत रमणीय ठाउँ छन् । मेची हाइवे नखुल्दासम्म पाँचथर र ताप्लेजुङ जाने बाटो यहीबाट रहेको इतिहास छ ।
यो क्षेत्रमा ठूलो चौर ९नागी० रहेकोले यस स्थानको नाम पाटेनागी रहेको हो । यस क्षेत्रमा घना गुराँसे जंगल रहेकाले चैत वैशाखको समयमा राताम्ये हुने गरेको छ । पुवामझुवाको पाटेनागीदेखि गोर्खेको मानेभञ्ज्याङसम्म गुराँसको जंगल छ । फरक(फरक रंगमा फुलेका गुराँसले जता हेर्‍यो उतै राताम्ये देखिएपछि त्यहाँ पुग्नेहरू दंग पर्छन् । नयाँ प्रजातिको पाहा पाटेनागी नजिकैको गंगटेपानीमा छ ।
यस ठाउँमा विश्वमै दुर्लभ मानिएका रेडपाण्डा ९हाब्रे०, थार, ध्वाँसे चितुवा, सालक, चरीबाघ, राजपंखी, कालो भालु, ओत, अजिङ्गर, व्वाँसो लगायतका वन्यजन्तु, मुनाल, काँडेभ्याकुर, गिद्ध, चिल, उल्लु, द्ध पिउरा, हुचिल, सिमकुखुरा, कालिज, लामपुच्छ्रे, कल्चौंडे, काकाकुल, श्वेनबाज, न्याउली, राज धनेश, वनचाहा, भुँडीफोर गरुड लगायतका चराचुरुङ्गीहरु, धेरै प्रजातीका पुतली र किराहरु, पानीगोहोरो, पाहा लगायतका उभयचरहरु, विभिन्न प्रजातीका लाँली गुराँस, चाप, चिमाल, लौठ सल्ला, साल सिसौ, सुनाखरी, गलैंचे झ्याउ लगायतका वनस्पतिहरु, चिराइतो, पाँचऔले, विष, विख्मा, पदमचाल, पाखनवेत, जटामसी, ठूलो ओखती, सर्पगन्धा, खनक्पा, वनमुला, चिङफिङ लगायतका सयौं प्रजातीका जडिबुटीहरु पाइन्छन् ।
भालुढुङ्गाः
इलाम सदरमुकाम इलामबजार नजिकै रहेको भालुढुङ्गा पनि अहिले महत्वपूर्ण पर्यटकिय स्थलको रुपमा लिइन्छ । इलाम बजारबाट नजिकै रहेको र चियाबारीको मनोरम दृष्य अवलोकन गर्दै भालुढुङ्गा पुग्न सकिन्छ । खान वस्नको लागि होमस्टे पनि सञ्चालन भएको भालुढुङ्गा जादा पर्यटकहरु दृष्यअवलोकन गर्न पनि सक्ने छन् । भालुढुङ्गा क्षेत्रमा अहिले पिक्नीक स्पोट पनि छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment