इलाम, ५ मंसिरः इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय अन्ततः स्थापनामै सिमित बनेको छ । तीनवर्ष अघि पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालयबाट अहिले सम्म केही पनि काम हुन सकेको छैन ।
भारत हुँदै आउने तेस्रो मुलकका पर्यटकलाई नेपाल प्रवेशको सहज ढोका मानिएको पशुपतिनगरमा नेपालतर्फमात्रै अध्यागमन कार्यालय स्थापना हुँदा यहाँ केही काम नभएको हो । यहाँको अध्यागमनको काम सुचारु गराउन भारततर्फ पनि अध्यागमन कार्यालय स्थापना हुन जरुरी पर्छ ।
अहिले कर्मचारी हाँजिर गरेरमात्र बसेका छन् । यहाँका अधिकृत काँकडभिट्टामै बस्छन् । यहाँ कामनै हुँदैन भने काम बिहीन कर्मचारी किन राख्नु, बरु कार्यालयनै बन्द गरिदिए हुन्छ ।’ स्थानीय मिलन क्षेत्रीले भने ‘भारततर्फ पनि क्वारेन्टाइन राख्ने हाम्रो संघीय सरकार र भारतको केन्द्रीय सरकार बीचनै सम्वाद सहकार्य हुनुपर्ने रहेछ । त्यो कहिले पनि हुन सकेको हामीले बुझेनौं । यसको अर्थ संघीय सरकारले पनि चासो नदिएको बुझ्नु पर्छ ।’
विषेश गरि पूर्वी पहाडमा उत्पादित कृषि उपजहरुको निर्यातका लागि पशुपतिनगर नाका झापाको काँकडभिट्टा भन्दा धेरै सहज मानिन्छ । किसानहरुका लागि पनि ढुवानी खर्च काम लाग्ने हुँदा कृषि उत्पादनको मुल्य राम्रो हुने अवस्था रहेको सूर्योदय नगरपालिका स्थित उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई बताउँछन् । ‘यदि यो नाकामा दुवै देशमा अध्यागमन कार्यालय हुने हो भने त्यसको प्रत्यक्ष फाइदा पूर्वी पहाडका किसानलाई समेत हुन्छ । ‘पूर्वी पहाडको आर्थिक उन्नति हुनसक्ने थियो ।’ राईले भन्नुभयो ‘वैध नाका बनाउन सक्नु हो भने यहाँबाट देशका लागि राजश्व संकलनको राम्रो स्थान पशुपतिनगर बन्न सक्छ ।’ इलाम, पाँचथर र ताप्लेजुङबाट दैनिक सयौैं गाडी अलैंची, अदुवा, चिया, कुच्चो, टमाटर जस्ता कृषि उत्पादन काँकडभिट्टा नाका भएर निकासी हुनेगरेको छ । भारतको दार्जिलिङ, सिक्किम घुमेर फर्कने तेस्रो मुलुकका पर्यटकहरुलाई पनि नेपाल प्रवेश गर्न काँकडभिट्टा नाका भएरै प्रवेश गर्नुपर्ने बाध्यता छ । पर्यटक बाहेक पशुपतिनगर नाकाहुँदै दैनिक उपभोग्य खाद्यान्नका सामग्रीमात्र भारतबाट आयात गर्न सजिलो छ, बाँकी पेट्रोलियम पदार्थ, कृषि बालीका लागि मल, बीउ जस्ता वस्तुहरूले भने नेपाल आउन पशुपतिनगरबाट प्रवेश पाउँदैनन् । नेपालमा उत्पादन भएका अदुवा, चिया, कुच्चो, जडीबुटी, आलु, तरकारी जस्ता वस्तुहरू भारत निर्यात गर्न पनि पहाडी जिल्लाबाट झापाको काँकडभिट्टा नाकानै पु¥याउनु पर्नै बाध्यता छ । ‘अध्यागमन भएपछि यी सबै वस्तुमा आयात र निर्यातमा सहज हुन्छ भन्ने हामीले बुझेका थियौं तर ती सबै कुराहरु अहिले सपना जस्तै भएका छन् ।’ राईले भने ।
त्यसो त भारततर्फ अध्यागमन कार्यालय राख्न पश्चिम बंगालका मुख्य मन्त्रीले खास चासो नराखेको जानकारहरु बताउँछन् । भारतको केन्दीय सरकार र पश्चिम बंगाल सरकार बीचको आपसी टकरावले गर्दा पनि यहाँ अध्यागमन कार्यालय भारतले राख्न नसकेको पशुपतिनगर स्थित भारततर्फ फाटकका स्थानीयको बुझाइ छ ।
यता सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले भारतीय राजदूत सँग अध्यागमन राख्ने विषयमा पटक–पटक कुरा भएको बताए । ‘भारतीय राजदूत सँग भारततर्फ अध्यागमन राख्ने विषयमा पटक–पटक कुरा भएको छ । तर, पश्चिम बंगाल सरकारको स्वीकृत नभइ केन्द्र सरकारले त्यहाँ अध्यागमन राख्न नमिल्ने जस्तो बुझिन्छ । अब संघीय सरकारले यो विषयमा कुटनीतिक पहलनै गर्न जरुरी छ ।’ नगरप्रमुख राईले भने ‘पूर्वी पहाडका लागि कृषि, पर्यटन, उद्योगधन्दा सबै क्षेत्रका लागि भारततर्फ क्वारेन्टाइन राख्न लगाएर पशुपतिनगर नाका खुल्ला गरिनु आवश्यक छ ।’
नेपालतर्फ भने तात्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेललगायतले कार्यालय उद्घाटन गरेका थिए । उद्घाटनका क्रममै मन्त्री थापा र महानिर्देशक पौडेलले भारततर्फ पनि अध्यागमन स्थापना गराउन परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको बताएका थिए । तर, कार्यालय स्थापनाको तीनवर्ष बितिसक्दा पनि भारततर्फ भने अध्यागमन कार्यालय स्थापना गराउने विषयमा नेपाल सरकारले केन्द्रीय स्तरमै प्रयास नगर्दा अध्यागमन कार्यालय व्यर्थ भएको स्थानीयको गुनासो छ ।
सन्दकपुर अनलाइनबाट साभार
0 comments:
Post a Comment