बिब्ल्याँटे माइपोखरी सडक कालोपत्रे :सडक बनिनसकी कालाेपत्रे सडक कच्ची जस्तै भयाे

  • भगीरथ भण्डारी,

इलाम, २१ कार्तिकः  २०७५ सालमा कालोपत्रे हुँदै गर्दा इलाम नगरपालिका ५ का मनोज लम्सालले यति छिटो यो सडक भत्किन्न छ भन्ने सोचेका थिएनन् । सडक निर्माण हुन थालेको लामो समय पछि कालो पत्रे हुने भन्ने खबरले खुसी भए पनि उनको कालोपत्रेको खुसी पाँच वर्षमा चिन्तामा परिणत भयो । 
इलाम नगरपालिका ५ बिब्ल्याँटा देखी माइपोखरी जाने सडक कालोपत्रे टुङ्गामा नपुगी पाँच वर्ष अघि बनेको सडक जता ततै भत्किएपछि सडकको अवस्था पुरानै हुने भन्दै चिन्तित देखिन्छन् । उनी भञ्जन निर्माणको समयमा गुणस्तरीय काम नभएकै कारण यति छिटो सडक भत्किएको हो । यो बाटोको कालोपत्रे चाँप गैरी सम्म पुग्दै गर्दा सडकको सुरुको ठाउँमा भने हिँड्न नसक्ने अवस्थामा आएको भन्दै सुरुको अवस्थामा काम हुँदा राम्रो काम नभएकै कारण अहिले यो बाटोको अवस्था यस्तो भएको बताउँछन् । 
इलाम नगरपालिका पाँचका सूर्य रिजाल अहिले ५१ वर्षका भए । 
उनले थाहा पाउँदा यो सडक मोटर बाटोका रूपमा थियो र गाडी कुद्ने गर्थे । २००७ सालमा खोलिएको उक्त बाटोको स्तर उन्नति गर्ने क्रममा किस्ता किस्तामा काम हुँदै आए पनि बनेको सडक भत्किन थाले पछि सडक पुरानै अवस्थामा पुग्ने चिन्तामा छन् । पर्यटकीय क्षेत्र रहेको माई पोखरी हुँदै सन्दकपुर सम्म जोड्ने बाटो अहिले सम्म माई पोखरी सम्म पनि नपुग्दै भएको कालो पत्रे पनि भत्किएर पुरानै अवस्थामा आउन लाग्दा बाटो बन्छ र यातायात सहज हुन्छ भन्ने लाग्न छोडिसकेको बताउँछन् । कालोपत्रे बाटो निर्माण माथि जाँदै छ तलतिर बिग्रँदै छ यस्तो अवस्थामा कसैको नजर नपुगेको हो कि भन्दै गुनासो पोख्छन् ।


इलाम नगरपालिका पाँचकै हरि सन्जेल आफ्नो घर अगाऊडीबाट कालोपत्रे सडक निर्माण हुँदै गर्दा जति खुसी थिए अहिले उनमा निराशा आउन थालेको छ । आफू सानो हुँदै देखी सडक निर्माण हुन्छ, कालो पत्रे हुन्छ भन्दा खुसी हुँदै आएका उनी बल्ल तल्ल भएको कालोपत्रे भत्किएर पुरानै अवस्थामा पुग्न लागेपछि उनमा यो सडकमा कालोपत्रे रहन्छ भन्ने आशा हराउन थालिसकेको छ । उनी कालोपत्रे भएको सडक सान खाल्डा खुल्डी हुँदै मर्मत नभएको कारण अहिले सडकको यो अवस्था आएको गुनासो गर्छन् । 
सडक निर्माण भएपछि कसले हेर्ने भन्ने टुङ्गो नहुँदा पनि यो सडकको अवस्था यस्तो हुन पुगेको हुँदा सडक निर्माण टेन्डर हाल्ने प्रविृतिका कारण निर्माण भएका सडक जोखिम अवस्थामा पुग्ने गरेको उनको भनाई छ ।र कालोपत्रे भएपश्चात् कि सडकले कि स्थानीय तहले मर्मतका काम सुरुमै गर्ने हो भने यतिधे्रै नबिग्रने भन्दै यो सडक गन्तव्यमा पुग्दा यस्तै अवस्था हो भने कालो पत्रे कहाँ थियो भनेर खोज्नुपर्ने अवस्था आउने बताउँछन् । 
लम्साल, रिजाल र सन्जेल  मात्रै होईनन यस क्षेत्रका धेरै जसो नागरिकले माई पोखरी कालो पत्रे नपुग्दै सुरुको कालोपत्रे कच्ची भइसक्ने बताउँदै आएका छन् । इलाम नगरपालिका ५ को बिब्ल्याँटै बजार नजिकैबाट मेची राजमार्ग देखी माई पोखरी सडक खण्ड प्रवेशको सुरुकै अवस्थाले सडक कस्तो छ भन्ने प्रस्ट देखाउँछ । 
लामो समय सम्म कच्ची सडकमा घण्टौँ यात्रा गरेका त्यस क्षेत्रका बासिन्दा अहिले पनि सडकको अवस्था देखेपछि अब पहिलेकै अवस्था आउन लामो समय नलाग्ने बताउँछन् । बिब्ल्याँटा बाट माई पोखरी जाने सडक माई पोखरी सम्म कालोपत्रे पुगेको छैन । वर्षे नि कालोपत्रे माथि जाँदै गरे पनि सडकको मुखको कालोपत्रे भने मेटिँदै जान थालेको छ । मेची कोरिडोरको रूपमा निर्माण हुने भनिएको केचना कञ्चनजङ्घा सडक पनि यही बाटो हुँदै निर्माण हुँदै छ । देखकै पर्यटकीय क्षेत्र सन्दकपुर पुग्ने छोटो बाटो पनि यही नै हो । 
तर सन्दकपुर पुग्न त कता हो कता माई पोखरी सम्म कालोपत्रे नपुग्दै भएको कालोपत्रे भत्किन थाले पछि यो सडक गन्तव्यमा पुग्छ भन्ने आस त्यस क्षेत्रका बासिन्दाको हराई सकेको छ । यता डिभिजन सडक कार्यालय इलामले उक्त सडकको धरौटी फिर्ता नभएको भन्दै बजेट नआएर मर्मत नभएको र यस वर्ष सडक मर्मत हुने बताएको छ । कालोपत्रे भएपछि ठाउँ ठाउँमा बर्सेनि सडकमा समस्या आइरहने भन्दै एक–एक वर्षमा सडक मर्मत हुन्छ र सडक जोगाउन मर्मत अनिवार्य रहेको भन्दै बिब्ल्याँटे देखी माई पोखरी सडक यस वर्ष मर्मत हुन कार्यालयका सूचना अधिकारी सञ्जय गौतम बताउँछन् । 
उक्त सडक खण्ड अन्तर्गत गत फागुन चैत्रमा चाँप गैरी आसपासमा भएको कालोपत्रे पनि गुणस्तरहीन कामका कारण निकै विवाद पछि निर्माण भयो । कालोपत्रे गर्ने तयारीमा रहेको उक्त सडक हातले कोट्ट्याउँदा उक्किन थाले पछि विवादमा आएर पुन काम गर्ने सहमति भए पनि पहिलेकै माथि कालोपत्रे हुँदा उक्त सडकको अवस्था पनि दयनीय रहेको छ । 
गत वर्ष मात्रै कालोपत्रे भएको चाँपगैरि क्षेत्र पाँच वर्ष सम्म थाम्छ कि थाम्दैन भन्नेमा स्थानीयलाई चिन्ता छ । ठेकेदारले सडकबाट भूत्तानी भएपछि व्याज सहित दिने सर्तमा स्थानीय सँगै  रिन मागेर कालोपत्रे गर्न थालेपछि काम गुणस्तरहीन बन्दा पनि रिन हराउँछ कि भन्ने डरले बोल्न नसकेका स्थानीय काम खासै राम्रो नभएको स्वीकार गर्छन् । 
उक्त खण्डको कालोपत्रे गुणस्तरहीन भएको भन्ने विरोध आएसँगै इलाम नगरपालिका र प्रमुख जिल्ला अधिकारी सहितको संयुक्त टोलीले डिभिजन सडक कार्यालयका कर्मचारी सहित गत चैत्रमा अनुगमन गरेर गुणस्तरीय काम गर्ने सहमति गरेको थियो ।  तर सहमति अनुसार काम नभएको कारण ठाउँ ठाउँमा यति बेलै बिच सडकको कालोपत्रेका गिटी उक्किन थालिसकेका छन् । 
कालोपत्रे भएको एक वर्ष नहुँदै ठाउँ ठाउँमा उक्किन थाल्नुले सडकको काम कस्तो भएको छ भन्ने प्रस्ट देखाउँछ । नागार्जुन कन्स्ट्रक्सन कम्पनीले तीन करोड २५ लाख ३४ हजार दुई सय चार रुपैयाँ ४८ पैसामा २०७७ सालमा ठेक्का पारेर काम थालेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment