चिसिँदै काठमाडौं, आजको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस


२७ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस पुगेको छ । यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो ।
आगामी दिनमा न्यूतम तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद सरोज पुडासैनीले आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको र यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम भएको जानकारी दिए । ‘केही दिनयता न्यूनतम तापक्रम घट्दै गइरहेको छ,’ मौसमविद पुडासैनीले भने, ‘तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना छ ।’
आज दिउँसो भने काठमाडौंको न्यूनतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान छ ।

आगामी दिनमा जाडो झन् बढ्ने सम्भावना रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
पूर्वी, मध्य र पश्चिम तराईमा हुस्सु कुहिरो
हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । तराई मधेशमा पनि मौसम सामान्यता सफा छ । पूर्वी, मध्य र पश्चिम तराईका केही स्थानमा आज बिहान हुस्सु–कुहिरो लागे पनि त्यो क्रमशः हट्दै गइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक÷दुई स्थानमा वर्षाको समेत सम्भावना रहेको मौसमविद पुडासैनीले बताए । काठमाडौं उपत्यकामा भने आज वर्षाको सम्भावना नरहेको उनले बताए ।
भोलि सफा हुनेछ मौसम
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको समेत सम्भावना छ । तर राति कुनै पनि ठाउँमा वर्षाको सम्भावना नरहेको मौसमविद पुडासैनीले बताए ।
उनका अनुसार आजको तुलनामा भोलि (बिहीबार) मौसम सफा हुनेछ । ‘आजभन्दा भोलि मौसम झन् सफा हुन्छ,’ उनले भने, ‘भोलि तराई, पहाड कतै पनि भोलि पानी पर्ने सम्भावना छैन ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment