इलाम । इलाममा शनिबारदेखि सञ्चालन हुने प्रथम इलाम गोल्डकपको तयारी पुरा भएको छ । शनिबारदेखि इलाम सदरमुकाममा सञ्चालन हुने अन्तरर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको हो । ठूलो टुँडीखेलमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेडहर्ष र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भिड्ने भएका छन् । प्रतियोगितामा एक विदेशीसहित आठ फुटबल टोलीको सहभागिता छ ।
नेपालका ‘ए’ डिभिजन क्बल न्युरो टिम एनआरटी काठमाडौंसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवाक्लब सर्लाही, आयोजक रेडहर्ष फुटबल क्लब इलाम र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतको सहभागिता छ ।
प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु समेत विभिन्न टिमबाट इलाममा खेल्नेछन् । राष्ट्रिय खेलाडी विमल घर्तीमगर, सिमान्त थापा र राजेश परियार पाँचथरबाट खेल्नेछन् । त्यस्तै, सन्तोष महत बुटवलबाट, हिसुब थपलिया, अभिषेक वराई, प्रशान्त लक्सम र देवेन्द्र तामाङ झापाबाट खेल्नेछन् । त्यसैगरी, दिपक कार्की इटहरीबाट, छिरङ गुरुङ र उत्सव राई आयोजक इलामबाट खेल्ने निश्चित भएको क्लबका उपाध्यक्ष नविन तामाङले बताए ।
प्रतियोगिताको फाइनल माघ १३ गते शनिबार हुनेछ । विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे योल्मूले जानकारी दिए । यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर र उदयीमान खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए ।
सदरमुकाममा विगत वर्षमा भ्याईभ्याली गोल्डकप आयोजना हुँदै आएकोमा ४ वर्षयता इलामेली दर्शकहरुले स्तरीय फुटबल प्रतियोगिताको मनोरञ्जन लिन पाएका छैनन् । आर्थिक र प्राविधिक कारण देखाउँदै माईभ्याली गोल्डकप सातौं संस्करण हुन सकेन । तर फुटबलको मजा दिन रेडहर्ष फुटबल ब्लकले प्रथम संस्करणको इलाम गोल्डकप आयोजना गरेको हो । प्रतियोगितामा दर्शकका लागि बाँसको अस्थायी पारापिट बनाईएको छ ।
0 comments:
Post a Comment