प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

२१ माघ २०८०, आईतवार 


दाङ।  घोराहीमा प्रहरी जवानले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।‘नेपालगन्जबाट श्रीमती आएकी छिन्’ भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए ।

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनी आफैंले स्वीकार गरेका छन् । श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए ।

नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए ।

उनले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको मल्लले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment