मिटरब्याजको आरोपमा झापाका ओली पक्राउ

२०८० फाल्गुन ३० गते , बुधबार


झापा । झापाको बिर्तामोडमा मिटरब्याजीका एक आरोपी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड नगरपालिका– ७ स्थित गरामनि निवासी दीर्घ भनिने पृथ्वी ओलीलाई पक्राउ गरेको हो ।


मिटरब्याज पीडितहरूले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएसँगै प्रहरीले पहिलो पटक मिटरब्याजी आरोपीलाई पक्राउ गरेको हो । पक्राउ गरिएका ओलीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी श्रोतले जनाएको छ । 

विप्लव नेतृत्वको (नेकपा) ले यस अघि अनुचित लेनदेन (मिटरव्याजी) ओलीसँग व्यवहार मिलाउन पटक– पटक तागेता गर्दै आएको थियो । तर, ओलीले अटेर गरी सर्वसाधारणलाई दुःख दिँदै आएको नेकपाका मेची ब्युरो इन्चार्ज सुमनसिंह ‘सी’ले बताए । 'ओलीलाई हामीले पटक–पटक सर्वसाधारणसँग व्यवहार मिलाउन भनेका थियौँ,' उनले भने, 'प्रशासन कार्यालयमा समेत सहमति गराउने प्रयास गर्‍यौँ तर उनले उल्टै धाकधम्की दिँदै सर्वसाधारणबाट चेक कटाएको हामीले पाएका थियौँ ।'

आरोपी ओलीलाई पक्राउ गरेको प्रति नेकपाले प्रहरीलाई धन्यवाद दिएको छ । एक विज्ञप्ति जारी गर्दै पार्टीका मेची ब्युरो इन्चार्ज सुमन सिले प्रहरीलाई धन्यवाद दिएका हुन् । प्रहरीले झापामा पनि मिटरब्याजीलाई पक्राउ गर्न सुरु गरेको बताउँदै उनले भने,' यो सुखद विषय हो अब अन्य मिटरब्याजीलाई समेत पक्राउ गर्दै कानुनी कठघरामा उभ्याउनु पर्छ ।'

झापामा झन्डै एक सयको हाराहारीमा मिटरब्याज पीडितका उजुरी प्रशासन कार्यालय झापामा परेको बताइएको छ । यसअघि नेकपाले बिर्तामोड ५ स्थित नवराज बिमलीको घर कब्जा गर्दै झन्डा गाडेको थियो । सर्वसाधारणको सम्पत्ति फिर्ता गर्न मिटरब्याजीलाई आग्रह गर्दै विमलीको घर कब्जा गरिएको घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment