इलाम २ उपनिर्वाचन: यही भुगाेल र समुदायकाे उम्मेदवार हुँ : थेगीम

 शुक्रबार, ३० चैत, २०८०


इलाम : आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनलाई केन्द्रित गरेर इलाम क्षेत्र नम्बर २ मा १९ उम्मेदवार चुनावी मैदानमा छन् । १२ दल र सात स्वतन्त्र उम्मेदवार अहिले प्रतिस्पर्धामा छन् र मतदातासँग मत मागिरहेका छन् । यसैमध्ये पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् डकेन्द्र थेगिमले । उनले आफू संयुक्त रूपमा पहिचान पक्षधरतर्फबाट उम्मेदवार बनेको दाबी गर्दै आएका छन् । थेगिमसँग इलाम–२ को उपनिर्वाचनसँग सम्बन्धित विषयमा गरिएको संक्षिप्त कुराकानी :
इलाम–२ मा तपाइँले पनि उम्मेदवारी दिनुभयो, कस्तो छ स्थिति ?
माङसेबुङ भव्य कार्यक्रम आयोजना गरिएको थियो । हामी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङदेखि किरात धर्म गुरु (आत्मनन्द लिङ्देन)को आशीर्वाद लिएर कार्यक्रम अघि बढाउँदैछौँ । हामी चुनावी कार्यक्रममा खटिइसकेका छौँ । चुनाव लागेको छ ।
डकेन्द्र थेगिम इलाम–२ को सांसद भएपछि जनता पाउने के हो ?
पहिलो कुरा त म इलाम–२ को पश्चिमी क्षेत्रको प्रतिनिधि म हुँ । यसअघि प्रतिनिधिहरू सबै इलाम नगरपालिका आसपास वा पूर्वी क्षेत्रका हुनुहुन्थ्यो । उहाँहरूले उताको विकास गर्नुभयो । यता हेर्न भ्याउनुभएन । यो क्षेत्र इलामको कर्णालीजस्तै हो । अहिलेसम्म यहाँ विकास भएको छैन । पश्चिमी क्षेत्रमा विकास भएकै छैन । म यही क्षेत्र, भूगोल र समुदायमा रहेको उम्मेदवार हुँ ।
यो भूगोलको आवश्यकता मलाई थाहा छ । विकासका पूर्वाधारदेखि सबै काममा म सचेत छु । अर्को कुरा, मुलुकमा अहिले पहिचानको मुद्दा छ । एक जातिको मात्र होइन, यहाँका आदिवासी, जनजाति, दलित, उत्पीडितदेखि सबै समुदायलाई सुरक्षित हुने साझा प्रतिनिधित्व डकेन्द्र थेगिमले गर्छ ।
म सबैको धर्म, क्षेत्र, लिंग, समुदाय, जातको साझा प्रतिनिधिको संयुक्त आवाज उठाउँछु । इतिहासलाई संरक्षण गर्दै शान्ति, अमनचयन र समृद्धितर्फ मुलुक अघि बढाउन म महत्त्वपूर्ण भूमिका निर्वाह गर्छु ।
तपाइँ किरात धर्म तथा साहित्य उत्थान संघको महत्त्वपूर्ण पदमा हुनुहुन्छ । राजीनामा नदिई चुनाव लड्नुभयो भनेर गुरु नजिककै व्यक्तिले आरोप लगाइरहेका छन् । खास कुरा के हो ?
म स्पष्ट गर्छु, अरू सामाजिक–धार्मिक संघसंस्थाको अध्यक्ष बन्ने प्रक्रिया अधिवेशनबाट हुन्छ भने हाम्रो किरात–धर्म तथा साहित्य उत्थान संघको विधानमा चाहिँ संघको अध्यक्ष गुरुज्यूबाट सोझै हुने व्यवस्था छ । त्यसले गर्दा मैले राजनीतिमा लाग्दा अरू कसैलाई कार्यवाहक दिएर जानुपर्ने हुन्छ । तथापि, यहाँ अहिले यो कुरा धेरै उठेको हुँदा मैले राजीनामा दिइसकेँ । भक्तजनको पनि इच्छा–आकांक्षालाई मारमा नपार्नका लागि राजीनामा दिएको हुँ ।
तपाइँको विषय गुरुनजिककै व्यक्तिले उठाइरहेका छन् । तपाइँ संस्थाको धर्म विपरीत जानुभयो भनेर भनिरहेका छन् । तपाइँ आफैँ चाहिँ गुरुबाट आशीर्वाद लिन्छु र गुरु नजिकको उम्मेदवार हुँ भन्नुहुन्छ, अलि कुरा बुझिएन नि ?
म गुरुज्यूबाट प्रत्यक्ष मनोनीत अध्यक्ष हुँ । गुरुसँग सबैभन्दा नजिकको संस्थागत हिसाबमा म हुँ । मेरो विरुद्धमा सामाजिक सञ्जालमा लाग्ने व्यक्तिले चाहिँ गुरुज्यूको विचार र मार्गदर्शनमाथि प्रहार गरेका हुन् । त्यो कुरा उनीहरूले बुझेका छैनन् ।
कदमकदममा गुरुको विचार बोकेको व्यक्ति हुँ । गुरुज्यूको निर्देशन, मार्गदर्शन अक्षरसः पालना गरिरहेको छु । जो माङसेबुङमा बसेर भक्तजनप्रति कटाक्ष गरिरहेका छन् उनीहरूले गुरुज्यूप्रति कटाक्ष गरेको मेरो बुझाइ छ । यसरी कटाक्ष गर्नेलाई पनि मैले सम्मान गर्नुपर्छ । मैले त्यही कारण संस्थाबाट राजीनामा दिएको हुँ ।
तपाइँले पहिचानको मुद्दा उठाउनुभयो । पहिचानकै मुद्दामा उठाएर धेरैले उम्मेदवारी दिएका छन् । तपाइँ सबै पहिचान पक्षधरको साझा उम्मेदवार भन्दै हुनुहुन्छ । यसरी अन्य उम्मेदवारले पनि पहिचानको मुद्दा उठाउँदा तपाइँ कसरी साझा उम्मेदवार बन्नुभयो ?
यो एकदमै हास्यास्पद छ । सुहाङ नेम्वाङ एमालेका उम्मेदवार हुन् । एमाले पहिचानवादी पार्टी हुँदै होइन । मुलुकमा सबैभन्दा पहिचानविरोधी पार्टी एमाले हो । लिम्बू कुलमा जन्मिँदैमा सुहाङलाई पहिचान पक्षधर भन्न सकिन्न । मिलन लिम्बूले पहिले स्वतन्त्र उम्मेदवारी दिन्छु भनेर घोषणा गरे । अनि पार्टीबाट उम्मेदवारी दिए । त्यसमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त पहिचान मात्र होइन, संघीयताविरोधी हो ।
मिलन पहिचान र संघीयताकै विरोधी भए अब । जनमतबाट उठाएका उम्मेदवार पनि पार्टीका उम्मेदवार हुन् । पार्टीबाट भएपछि साझा होइनन् । अन्य उम्मेदवारको के चर्चा गर्नु ? अहिलेसम्म सबै पक्षधरले समर्थन गरेको, पहिचानको आन्दोलनको संघर्ष गरिरहेको एक पात्र उम्मेदवार डकेन्द्र थेगिम हो ।
–हिमालप्रेसबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment