सुनसरीको ५ पालिकामा कर्फ्यू, राजमार्गमा सतर्कता

२०८० चैत २३ गते


२३ चैत, विराटनगर । दुई समुदायबीच विवाद बढेपछि सुनसरीका पाँच पालिकामा  जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले बताए ।
उनका अनुसार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा  अनिश्चितकालका लागि कर्फ्यू  आदेश जारी गरिएको हो ।
साथै स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्गमा पनि सतर्कता बढाएको छ ।  राजमार्गमा लामा दूरीका सवारी साधनलाई  निगरानीमा राखेर मात्रै आवतजावत गर्न दिइएको छ । हरिनगर गाउँपालिका-१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिट भएको विषयमा आज दुई समूहबीच झडप भएको थियो ।
दुई समूहबीचको  झडपले उग्ररुप लिएपछि अनिश्चितकालका लागि प्रशासनले पाँच पालिकामा कर्फ्यू आदेश जारी गरेको हो ।
भुटाहामा शुक्रबार भएको झडपमा परी चार जना घाइते भएका छन् । जसमा दुई जनालाई गोली लागेको छ । स्थीति नियन्त्रणका लागि प्रहरीले चार दर्जनभन्दा बढी अश्रुग्याँस र हवाई फायर गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि झडप स्थल हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडामा मात्रै निषेधाज्ञा जारी गरेको थियो । तर विवाद बढेपछि  कर्फ्यू  आदेश जारी गर्दै  सुरक्षा सतर्कता बढाएको छ ।
निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला जम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न र नगराउन प्रशानले जारी गरेको  कर्फ्यू  आदेशमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment