राेङ – १३ असार
पर्यटनकाे अपार सम्भावना बोकेको इलामको राेङ गाउँपालिकाले आफ्ना प्रमुख पर्यटकीय स्थलहरूलाई प्राकृतिक सौन्दर्यले सजाउने अभियान थालेको छ।
गाउँपालिकाको कृषि शाखाको समन्वयमा हाँसपोखरी, कुटिडाँडा, रमितेडाँडा, झण्डीडाँडा, किरात पार्क, हर्कटे, गाउँपालिकाको केन्द्र पुग्ने सडक लगायत स्थानहरूमा एन्जेलिया फूल र हुर्कंदै गरेकाे लालिगुराँसका करिब ४,००० (चार हजार) बिरुवा रोप्ने काम आजबाट औपचारिक रूपमा सुरु भएको हो।
गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्वोको नेतृत्वमा झण्डीडाँडाबाट सुरु गरिएको पुष्परोपण कार्यक्रममा स्थानीय टोलवासी, संघसंस्था र टोल विकास समितिहरूको उल्लेखनीय सहभागिता रहेको छ।
कृषि शाखाका प्राविधिक सन्तोष लाप्चाका अनुसार, “यो अभियानको प्रभाव दुई वर्षभित्र देखिनेछ। पर्यटक आकर्षण बढाउने र आर्थिक आम्दानीको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।”
राेङ–६ का सामाजिक अभियन्ता रन्जित साङपाङले भने, “फूल, बच्चा र संगीत मन नपर्ने कोही हुँदैन। डाँडाभरि ढकमक्क फुल्दा पर्यटक आफैं आकर्षित हुनेछन्। यसले स्थानीयलाई रोजगारी, आम्दानी र उत्साह तीनै दिन्छ।”
राेङ गाउँपालिका सुर्यदय, खेल, चिसो हावा, स्थानीय कला–संस्कृति, परिकार र प्राकृतिक दृश्यमार्फत वर्षभर पर्यटक भित्र्याउने योजनामा लागेको छ। साङपाङका अनुसार यस्तो पहललाई सफल बनाउन तीनवटै तहका सरकारको सहकार्य आवश्यक रहेको छ।
0 comments:
Post a Comment