साँझ ढल्दा अँध्यारोमा हराउँछ चिया गाउँ — साँखेजुङ

  • विनय तिम्सीना
इलाम, असार ३१


साँझ ढल्दै जान्छ, साँखेजुङ बिस्तारै अँध्यारोमा हराउँदै जान्छ। केवल आकाशको जून र टर्चको उज्यालोमा भर पर्दै गाउँ बाँच्ने प्रयास गर्छ। चिया सुगन्धले पहिचान बनाएको यो गाउँमा अब अन्धकार पनि एउटै परिचय बन्दै गएको छ।
विगत दुई महिनादेखि इलाम नगरपालिका–८ को तिल्केनी सबस्टेशनबाट वितरण हुने साँखेजुङ फिडरमा बेलुकाको समयमा नियमितरूपमा विद्युत् अवरोध हुँदै आएको छ। बेलुकी पर्दा सुरु हुने अँध्यारो रातभर रहन्छ—बिहानको पाँच बजेसम्म कहिल्यै नफर्किने जस्तो लाग्ने बिजुलीको प्रतिक्षा स्थानीयहरूका लागि दिनचर्या नै बनेको छ। समस्या यति गहिरिएको छ कि, अब घरायसी अप्ठ्यारो मात्र होइन, गाउँको समग्र अर्थतन्त्र नै प्रभावित हुन थालेको छ।
साँखेजुङ केवल एउटा बस्ती होइन, यो इलामकै चिया क्षेत्रको मुटु हो। यहाँका चिया कारखाना दैनिक सयौं केजी हरियो पातलाई प्रशोधन गर्छन्। चिया उत्पादनमा प्रयोग हुने मेसिनहरूले निर्बाध बिजुली चाहिन्छ—तर अहिले तिनको जीवन साँझसँगै थलिन थालेको छ। कारखाना बन्द हुँदा पात कुहिन थाल्छ, गुणस्तरमा असर पर्छ, र बजारमा प्रतिस्पर्धा गर्न मुस्किल हुन्छ। यति मात्र होइन, कतिपय साना उद्योगीहरू जनरेटरको भरमा काम चलाइरहेका छन्, जसको लागत चिया बेचेर नाफा गर्नुको सट्टा घाटा बेहाेर्ने अवस्था सिर्जना गरिरहेको छ।
स्थानीय व्यवसायी  भन्छन्, "हरेक दिन साँझ पाँच बजेपछि फ्याक्ट्रीको बत्ती निभ्छ। अब त हामी समयको होइन, बिजुली आउँछ कि आउँदैन भन्ने कुराको गणना गरेर काम गर्छौं।"
यो केवल एक जनाको गुनासो होइन—गाउँभरि फैलिएको आवाज हो। वेलुकी बालबच्चाहरू पढ्न सक्दैनन्, वृद्धवृद्धा अन्धकारमा नआत्तिएर बस्न सक्दैनन्, र व्यवसायीहरू उद्योग गुमाउने डरमा छन्। यसले साँखेजुङको समग्र जीवनशैलीमा नै अवरोध ल्याइरहेको छ।
विद्युत् प्राधिकरणतर्फबाट यकिन स्पष्टीकरण अझै आइसकेको छैन। तर, समस्या प्राविधिक हो वा संरचनागत—यसले लामो समयदेखि सुधार नपाएको संकेत गर्छ। फिडरको क्षमता, लाइन विस्तार, र सब–स्टेशनमा जनशक्तिको अभाव हुनसक्ने अनुमान गर्न सकिन्छ। तर स्थानीयले भने सिधै भनिरहेका छन्—"समस्या समाधान नगर्ने हो भने गाउँका चिया उद्योगहरू क्रमशः बन्द हुँदै जान्छन्।"
यतिबेला आवश्यकता छ—सरकार र नेपाल विद्युत् प्राधिकरणको तत्काल ध्यानाकर्षण। साँखेजुङको अँध्यारोले केवल बत्तीको उज्यालो मागिरहेको छैन, त्यससँगै बाँच्न पाउने अधिकार मागिरहेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment