इलाममा आर्थिक वर्ष २०८१/८२ मा १०२ जनाले आमाको नामबाट नागरिकता प्राप्त

इलाम, साउन १७

 — आर्थिक वर्ष २०८१/८२ मा इलाम जिल्लाका १०२ जनाले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे तथा पशुपतिनगरस्थित अध्यागमन तथा सीमा प्रशासन कार्यालयमार्फत ती नागरिकता वितरण गरिएका हुन्।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालका अनुसार, आमाको नामबाट नागरिकता पाउनेमध्ये सबैभन्दा धेरै ९७ जना पशुपतिनगर कार्यालयबाट, तीन जना जिल्ला प्रशासन कार्यालयबाट र दुई जना मङ्गलबारे कार्यालयबाट हुन्।
“बुबाको पहिचान नहुँदा विगतमा धेरै नेपाली नागरिक नागरिकता लिनबाट वञ्चित हुन्थे। अहिले भने आमाको नामबाट नागरिकता दिने व्यवस्थाले उनीहरूलाई सम्मानसहित नागरिकता दिने बाटो खुलेको छ,” प्रजिअ नेपालले जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा जानकारी दिनुभयो।
उहाँका अनुसार बुबाको नाम शैक्षिक प्रमाणपत्र वा जन्मदर्तामा उल्लेख नभएका सन्तानलाई — आमाको नागरिकता, वडाको सिफारिस र अन्य कागजपत्रका आधारमा — आमाको नामबाट नागरिकता दिन थालिएको हो।
तर उहाँले अझै केही कानुनी जटिलता बाँकी रहेको जनाउनुभयो। "बुबाको नाम शैक्षिक प्रमाणपत्रमा भए पनि सम्पर्कविहीन रहेका केशमा भने नागरिकता दिन नसकिएको छ," उहाँले स्पष्ट पार्नुभयो।
वंशजका आधारमा ६,४६१ जनालाई नागरिकता
यसै अवधिमा ६,४६१ जनाले वंशजका आधारमा, ४० जनाले वैवाहिक अंगीकृत, र ४ जनाले गैरआवासीय नेपाली (NRN) नागरिकता पाएका छन्। साथै, ६ जनाले नागरिकता परित्याग गरेका छन् भने २ जनाको नागरिकता रद्द गरिएको छ।
नाबालक प्रमाणपत्र र संशोधन
कार्यालयको तथ्याङ्कअनुसार:
  • १४२ जनालाई नाबालक प्रमाणपत्र जारी
  • ६,१३७ जनालाई संशोधनरहित र ४,३३२ जनालाई संशोधनसहित नागरिकताको प्रतिलिपि वितरण
राष्ट्रिय परिचयपत्र वितरण
गएको वर्षभरमा १५,२९९ जनाको विवरण संकलन गरिएकामा ७,२३९ जनालाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ। यसमा तीनवटै कार्यालयबाट निःशुल्क आवेदन फारम भर्न मिल्ने व्यवस्था गरिएको छ। 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment