इलाममा पूर्वाधारका तीन नमूना : करोडौं लगानी, शून्य उपयोग

  • विनय तिम्सिना

इलाम – इलाममा करोडौं खर्चेर बनेका पूर्वाधार प्रयोगमै नआउँदा लगानी व्यर्थ बनेको छ । नेपाल–भारत मैत्री शीत भण्डार, सेरा बसपार्क र फाल्गुनन्द सुकिलुम्वा विमानस्थल—यी तीनवटै संरचना अपेक्षित रूपमा सञ्चालनमा नआएपछि स्थानीय निराश बनेका छन् ।

१४ वर्षदेखि बन्द शीत भण्डार

इलाम नगरपालिका–९ सेरामा सन् २०११ (वि.सं. २०६८) मा करिब पाँच करोड ५० लाख रुपैयाँमा निर्माण गरिएको २० लाख किलो क्षमताको नेपाल–भारत मैत्री शीत भण्डार १४ वर्षदेखि प्रयोगविहीन छ ।
भारत सरकारले चार करोड ३९ लाख, नेपाल सरकारले ६७ लाख ५८ हजार र इलाम नगरपालिकाले ४३ लाख रुपैयाँ लगानी गरेर निर्माण गरेको भए पनि अहिलेको प्रविधिअनुसार डिजाइन नमिलेका कारण भण्डार चल्न सकेको छैन ।

सञ्चालनमा नआएको बसपार्क

शीत भण्डारकै छेउमा बनेको सेरा बसपार्क पनि सञ्चालनमा आएको छैन । नगरपालिकाले यातायात व्यवसायीसँग पटक–पटक छलफल गरे पनि प्रयोगमा ल्याउन नसक्दा करोडौं खर्चिएको संरचना वर्षौंदेखि सुनसान छ । अहिले पनि सवारी साधन सडकछेउमै अव्यवस्थित रूपमा पार्किङ गर्नुपर्ने बाध्यता छ ।

विमानस्थलमा उडान ४०% पनि भएन

करिब ५५ करोड रुपैयाँ लागतमा बनेको फाल्गुनन्द सुकिलुम्वा विमानस्थलमा नियमित उडान अझै स्थायी रूपमा सुरु हुन सकेको छैन । समय–समयमा परीक्षण र चार्टर्ड उडान भए पनि तालिकाबद्ध व्यावसायिक उडानमा तोकिएको संख्याको ४० प्रतिशत पनि पुरा हुन सकेको छैन ।
यसले इलामवासीलाई अझै विराटनगर वा भद्रपुर हवाई सेवामै निर्भर हुन बाध्य बनाएको छ भने पर्यटन सम्भावना पनि खुम्चिएको छ ।

लगानीको फजुल खर्च

शीत भण्डार, बसपार्क र विमानस्थल—तीनै संरचना प्रयोगमा नआउँदा किसानदेखि व्यवसायीसम्म सबै निराश बनेका छन् । उत्पादन सस्तोमा बेच्न बाध्य किसान, अव्यवस्थित यातायात, र अपुरो हवाई सुविधा—यी सबै कुराले स्थानीय आक्रोश बढाएको छ ।
स्थानीयवासी भन्छन्, “पूर्वाधार बनाउन मात्रै सकिन्छ तर सञ्चालन गर्ने संयन्त्र छैन । जबसम्म यस्ता संरचना प्रयोगमै आउँदैनन्, यो लगानी फजुल खर्च मात्र हो ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment