गौरादहमा सर्पदंशबाट ६३ वर्षीय पुरुषको मृत्यु, स्थानीयमा सतर्कता अपिल

 २५ साउन, झापा ।

झापाको गौरादह नगरपालिका–४ जोरघरेमा विषालु सर्पको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीय रणबहादुर तामाङ रहेका छन्।

इलाका प्रहरी कार्यालय दमकका अनुसार, शनिबार बिहान करिब १० बजे आफ्नै घरको भान्सा कोठाको सामान सार्ने क्रममा तामाङलाई सर्पले डसेको थियो। घाइते तामाङलाई तत्काल नेपाल रेडक्रस सोसाइटी दमकस्थित सर्पदंश उपचार केन्द्रमा लगेर प्राथमिक उपचार गरिएको थियो।

तर स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि उनलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्दा राति करिब ८ः३० बजे नै उनको मृत्यु भइसकेको पुष्टि भएको हो।

स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार, वर्षायाममा झापाको तराई क्षेत्रमा विषालु सर्पको सक्रियता बढ्ने भएकाले खेतबारी, झाडी वा घर वरपर सावधानी अपनाउनुपर्ने बताइएको छ।
हालसालै गौरादह नगरपालिका क्षेत्रका विभिन्न वडामा सर्पदंशका केही घटना दर्ता भएका छन्, जसमा अधिकांश पीडितलाई समयमै उपचार गरिँदा ज्यान जोगिएको छ।

यस घटनापछि स्थानीय बासिन्दा र वडा कार्यालयले सर्प देखिए तुरुन्त सम्बन्धित निकाय वा उपचार केन्द्रलाई खबर गर्न र रातमा टर्च वा बत्तीको प्रयोग नगरी बाहिर नहिँड्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment