झुम्का कारागारमा अज्ञात रोगबाट तीन कैदीको मृत्यु, १३ जना बिरामी

 मिति: भदौ १९, २०८२


सुनसरीको झुम्का कारागारमा अज्ञात रोगका कारण तीनजना कैदीबन्दीको मृत्यु भएको छ। मृतकहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने लक्षण देखिएको थियो। उपचारको क्रममा उनीहरूको निधन भएको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले जानकारी दिनुभयो।

बुधबार दिउँसो अचानक बेहोस भएका सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका थिए, तर त्यहाँ साँझै मृत्यु भएको हो। यादव जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै थिए।

यसअघि १५ भदौमा एक जना र १६ भदौमा अर्को कैदीको मृत्यु भइसकेको थियो। अहिले उच्च ज्वरोका कारण १३ जना कैदी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्।

कारागार प्रशासनका अनुसार, मृतकहरूमा रामदेव उराव (४८, गढी गाउँपालिका–६) कर्तव्य ज्यान मुद्दामा र सागर राई (२४, धरान) लागूऔषध मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका थिए।

कारागारमा बिरामीहरूको संख्या बढेपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले बुधबार रातिदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ। झुम्का कारागारमा हाल १७९५ कैदी रहेका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment