‘सुरक्षाप्रति प्रश्न उठ्दै’ — झापामा फेरि ६ जना बेपत्ता

२०८२ असोज १२, आइतबार । 

सांकेतिक तस्वीर

झापामा बेपत्ता हुने घटना नियन्त्रणमा नआउँदा सुरक्षाप्रति गम्भीर प्रश्न उठ्न थालेको छ । हिजो मात्रै एकैदिन ६ जना हराएको निवेदन प्रहरीमा दर्ता भएको छ ।

कनकाई–४ नवज्योति टोलका बबिन खड्काकी श्रीमती २० वर्षीया पुनम खड्का आफ्ना ३ वर्षका छोरा सत्यमलाई लिएर बिहान ८ बजे घरबाट निस्केकी थिइन् । आफन्त र छिमेकीले धेरै खोजतलास गरे पनि उनीहरूको कुनै अत्तोपत्तो छैन ।

त्यस्तै, बुद्धशान्ति–३ बुधबारेका १७ वर्षीय उज्ज्वल राई असोज ७ गतेदेखि सम्पर्कविहीन छन् । बिहान ६ः३० बजे घरबाट निस्किएका उनी हालसम्म फेला परेका छैनन् ।

मेचीनगर–१५ का सोम मुर्मुकी २० वर्षीया छोरी अन्जु मुर्मु पनि हिजो बिहान ९ः३० बजे घरबाट उर्लाबारी जाने भन्दै हिँडेकी थिइन् । मानसिक सन्तुलन ठिक नभएकी उनी अझैसम्म घर फर्किएकी छैनन् ।

शिवसताक्षी–३ पाराबारीकी ३० वर्षीया जिना मर्डी असोज ४ गतेदेखि बेपत्ता छिन् । आफन्तका अनुसार उनी अचानक घरबाट निस्केकी थिइन् ।

उता, कनकाई–५ तुलसीवारीमा बस्दै आएका १४ वर्षीय सुजन हेमरम पनि हिजो दिउँसो ४ः३० बजे घरबाट हिँडेका थिए । सुस्त मानसिकताका उनी अहिलेसम्म फिर्ता आएका छैनन् ।

एकैदिन ६ जना बेपत्ता भएपछि परिवारजनमा मात्र नभई स्थानीय बासिन्दामाझ समेत त्रास फैलिएको छ । घटनाहरू दोहोरिन थालेपछि सुरक्षाप्रति प्रश्न उठेको छ । प्रहरीका अनुसार सबै उजुरीमा हुलियासहित खोजतलास जारी छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment