इलाम / झापा — २०८२ कार्तिक १ गते, शनिबार
जेनजी आन्दोलनका क्रममा झापाको दमकस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको गोली भेटिएको छ भने सोही क्रममा प्रहरीको वर्दी र हतियार लुटपाटमा संलग्न दुई जना पक्राउ परेका छन्।
दमक नगरपालिका–८ लक्ष्मी मार्गका ३८ वर्षीय कृष्णप्रसाद पाठकले शुक्रबार बिहान करिब १०ः३० बजे बाटोमा बेवारिसे अवस्थामा एसएमजीको एक थान गोली फेला पारेका थिए। उनले फेला पारेको गोली इलाका प्रहरी कार्यालय दमकमा बुझाएका हुन्।
त्यस्तै, आन्दोलनकै क्रममा प्रहरीको पोसाक लुटेर लगाई प्रयोग गर्ने दमक–२ भाङबारीका ३३ वर्षीय रोशन साउदेन लिम्बूलाई प्रहरीले शुक्रबार दिउँसो ४ बजे दमक–६ थाना रोडबाट नियन्त्रणमा लिएको छ।
यस्तै, प्रहरीको हतियार लुट्ने घटनामा संलग्न इलाम चुलाचुली–३ पेल्टीमारीका १९ वर्षीय सुजन राईलाई पनि दमक–१ फाल्गुनन्द चोकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
हतियार लुट्ने अर्का एक व्यक्ति यसअघि नै पक्राउ परेका छन्। प्रहरी कार्यालयमा आक्रमण गरी हतियार लुट्ने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको दमक प्रहरीले जनाएको छ।

0 comments:
Post a Comment