इलामका पहिरोः विकासको बाढीमा डुबेको पहाड

  • विनय तिम्सीना 

इलाम, भारी वर्षासँगै इलामका पहाड फेरि बोलिरहेका छन्। पिंडीको छेउको आगनमा हरियो चिया सुकाउँदै गरेकी एक वृद्धा भन्छिन्,–“पहिले बर्खा आउँदा माटो सुगन्धित हुन्थ्यो, अहिले त बर्खा आउँदा पहाडमा पहरिोको डर लाग्छ।”
त्यो डर इलामकै मात्र होइन — त्यो सम्पूर्ण पहाडी जीवनको भय बनेको छ।
गत साता आएको तीव्र वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीले विनाशको रूप देखायो। ३८ जनाले ज्यान गुमाए, १ जना अझै बेपत्ता छन्, र सयौं परिवार विस्थापित भएका छन्। घाम लागे पनि, माटो अझै चिसो छ — किनभने त्यहाँ अझै पनि पीडा बगेको छ।
हाइड्रोपावर र पहाडको सन्तुलन
इलाम जसले “हरियो ऊर्जा” को केन्द्र बन्ने सपना देखेको थियो, अहिले ती सपना पहिरोले धम्क्याएको छ। माइखोला, पुवाखोला खोलादेखि देउमाईसम्म खोला, जोगमाइ खोलाका हाइड्रोपावर परियोजनाहरूले पहाडको मुटुमा ठूला घाउहरू बनाएका छन्।
ठूल्ठूला पाइपहरू र बिस्तारै खस्दै गरेका डाँडाहरूबीच अहिले पहाडले श्वास फेर्नै कठिनाइ महसुस गरिरहेको छ।
स्थानीयहरूले देखेका छन् —“जेठदेखि साउनसम्म रातदिन ढुंगा, माटो र सिमेन्टका ट्रक गुडिरहेका थिए। अहिले ती बाटोहरू नै पहिरोको बाटो बने।” यो संयोग होइन, सम्बन्ध हो —पर्वतीय भू–भागमा ठूला परियोजनाले दिएको तनाव, अनुगमन र योजना अभावले दिएको चोट हो।
विकासको अर्थ र वास्तविकता
विकास शब्द कति आकर्षक छ — सडक, बत्ती, रोजगारी, आधुनिकता। तर जब त्यो विकास सन्तुलनविहीन हुन्छ, त्यही विकास विनाश बन्छ। इलामको पछिल्लो अनुभव यही हो — ढलान नियन्त्रण नगरी सडक खन्ने, नदी नालामा बाँध उठाउने, पहाड फोरेर सुरुङ खन्ने र वन कटानको साइड–इफेक्ट अहिले हरेक गाउँमा देखिएको छ।
सात वर्षअघि निर्माण भएको एक सानो पुल अहिले हावामा झुण्डिएको छ।
त्यो पुलको मुनि कहिल्यै सुक्दैन खोलाको आवाज — मानौं प्रकृतिले भनिरहेकी छ, “तिमीले बिर्सियौ, म सम्झाइरहेकी छु।” यो मात्र हैन अहिलेकै वर्ष बनाएको पुलको समेत यहाँ अस्तित्व छैन । 
मानव र पहाडको सम्बन्ध
पहाडहरू केवल भौगोलिक संरचना होइनन्, तिनीहरू जीवन हुन्।
त्यो माटोमा बाल्यकालमा खेलेका  खेलका याद छन्, त्यो डाँडामा खेत र बारीको पसिना छ, र ती खोलामा तिनीहरूको इतिहास बगिरहेको छ।
तर अहिले त्यो इतिहास बिस्तारै मेटिँदै छ —मानवको असावधानीले, र राज्यको योजनाविहीन दृष्टिले। 
३८ जनाको मृत्यु एउटा संख्या होइन, एउटा चेतावनी हो। अझै बेपत्ता एक व्यक्ति केवल खोजीको प्रतीक्षा होइन, एउटा प्रश्न हो —“हामीले बनाएको विकास के साँचै जीवनका लागि हो ?”
आशाको किरण
तर आशा मरेको छैन। इलामका बचेका गाउँहरूमा मानिसहरू फेरि माटो सुकाउँदै छन्, बाटो सफा गर्दै छन्। कसैले भन्छ, “पहाड त हाम्रै हो, डराएर बाँच्न सकिँदैन।” त्यो आवाज नै भविष्य हो — यदि हामीले प्रकृतिसँगको सम्बन्ध पुनःस्थापना गर्न सकेँ, भोलिको इलाम फेरि हरियो बन्न सक्छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments: